झापामै पहिलो पटक स्पोर्ट्स अवाड वितरण गरिने « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

झापामै पहिलो पटक स्पोर्ट्स अवाड वितरण गरिने


यलम्वर टाइम्स
२९ पुष २०७४, शनिबार ०६:०२

बिर्तामोड । आगामी माघ ७ गते पहिलो पटक झापा स्पोर्ट्स अवार्ड हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखाले झापाली खेलाडीको वर्षभरिको खेल प्रस्तुतिको आधारमा पिपुल्स च्वाइस अवार्ड सहित विभिन्न चार विधामा अवार्ड वितरण गर्न लागेको हो ।

नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखाले शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै अवार्डका लागि छनौट समिति समेत गठन गरेको जनाएको छ । मञ्चले वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, वर्ष उत्कृष्ट खेलाडी युवा र वर्ष उत्कृष्ट प्रशिक्षक विधामा अवार्ड वितरण गर्न लागेको हो ।

प्रत्येक विधामा मनोनयनमा परेका तीन जनाबाट उत्कृष्ट एकलाई कार्यक्रममा अवार्ड प्रदान गरिने छनौट समितिका संयोजक पर्वत पोर्तेलले जानकारी दिए । त्यस्तै, पिपुल्स च्वाइस अवार्ड भने झापा जिल्लाभित्रका विभिन्न खेलमा सक्रिय टिममध्ये दर्शकको भोटिङ्गको आधारमा उत्कृष्ट छनौट गरिने बताइएको छ । उत्कृष्टलाई नगद १५ हजार सहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

मोफसलका खेलाडीलाई व्यवसायिक रुप दिन अवार्ड वितरण सुरु गर्न लागिएको मञ्च झापाका अध्यक्ष रमेश समदर्शी राईले जानकारी दिए । उनले आगामी दिनमा टाइटल स्पोन्सर समेत खोजी गरी अवार्ड वितरणलाई निरन्तरता दिने बताए ।

अवार्डका लागि अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य पंकजविक्रम नेम्वाङ्गले भाई आशिषको स्मृतिमा पुरस्कार राशीका लागि नगद ६० हजार सहयोग गरेका छन् ।