उपभोक्ताको पहलमा यलम्वर कृषि नमूना मार्ग निर्माण « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

उपभोक्ताको पहलमा यलम्वर कृषि नमूना मार्ग निर्माण


यलम्वर टाइम्स
१५ फाल्गुन २०७४, मंगलवार ०६:२१

 

यलम्वर चोक । यलम्वर चोक आमडाँडाका जनता मिली करिब ८ सय मिटर बाटो निर्माण गरेका छन् । यलम्वर चोक कृषि मार्गको रुपमा नामाङ्कन भएपछि त्यहाँका स्थानीय आम जनता स्वतः फुर्त रकम निकाली बाटो निर्माण गर्ने कार्यमा जुटेका हुन् ।

अर्जुनधारा–९ मा पर्ने उक्त बाटो पञ्चायतकालमा गोरेटोको रुपमा रहेतापनि प्रजातन्त्रपछि सामान्य गाढागोरु हिड्ने बाटोको रुपमा रहेको थियो । जब २०७४/१०/४ गते स्थानीयको भेलाबाट यलम्वर चोक कृषि मार्ग नामाङ्कन गर्दै उक्त बाटो २५ फुट चौडाई गरी ८ सय मिटर निर्माण भएको मंगलबार सार्वजनिक गरेका थिए ।

अर्जुनधारा नगरपालिकाको ६० हजार अनुदान र स्थानीयहरुको बाँकी रकम गरी २ लाख ५० हजारमा उक्त बाटो निर्माण गरिएको हो । विकासका काममा सरकारी रकम ८० र उपभोक्ता रकम २० प्रतिशत निकाल्नु पर्ने प्रावधान रहेको छ । त्यसो गर्दा मात्र काम पुरा हुने मान्यता रहिआएकोमा यलम्वर चोकका जनताले १ लाख ९० हजार र सरकारी रकम ६० हजार गरी २ लाख ५० हजारमा काम सम्पन्न गरेका छन् ।

छोटो समयमै काम सम्पन्न गरेपछि बाटो निर्माण समितिले नवनिर्मित बाटो मै एक कार्यक्रमको आयोजना गरी रु. ५ सय दिनेदेखि ३ हजार ५ सयसम्म दिने सहयोगीहरुलाई सम्मान गर्दै हिसाब सार्वजनिक गरेका थिए । मंगलबार भएको कार्यक्रममा उपस्थित वक्ताहरुले अर्जुनधाराका ११ वटा वडा मध्ये वडा नं. ९ को यलम्वर चोक कृषि मार्ग निर्माण कार्य नमूना भएको बताए । कति ठाउँमा बजेट भएर पनि अपुरो हुने तर यलम्वर चोक कृषि मार्ग राज्यको थोरै लगानी उपभोक्ताका धेरै भएको कारण उक्त सडक निर्माण कार्यक्रम नमूना भएको बताए ।

कार्यक्रममा मोहन पौड्याली, कृष्णमाया कडुवाल, पुष्प तामाङ, नारायणी दाहाल, दिपीन राई लगायतले यस्ता खाले कार्यले हाम्रो नगर आफ्नै नगर बनाउन टेवा पुग्ने बताए ।

कार्यक्रममा समाजसेवी तथा किरात राई यायोक्खाका अध्यक्ष क्या. मानबहादुर राईले विकास भन्ने कुरा राष्ट्रको मुख मात्र ताकेर हुँदैन आफै पनि जुट्नु पर्दो रहेछ भन्ने यलम्वर चोक कृषि मार्ग निर्माण भएकोले दर्शाएको छ । अध्यक्ष राईले यलम्वर नामाकरण गरी बाटोको नाम राखिदिएकोमा बाटो निर्माण समितिलाई धन्यवाद दिएका थिए ।

हिसाब सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि वडा नं. ९ का अध्यक्ष पुष्प प्रसाईले थोरै रकमबाट आम उपभोक्ता एउटै मुटु भएर यति राम्रो काम निर्माण गरेकोमा धन्यवाद दिएका थिए । उनले आउने बजेट राम्ररी छुट्याएर कालोपत्रे निर्माणमा आफ्नो पहल रहने जनाए ।

यलम्वर चोक बाटो निर्माण समितिका अध्यक्ष नित्यानन्द बरालको सभापतित्वमा भएको कार्यक्रममा सचिव सिंहबहादुर राईले हिसाब सार्वजनिक गर्दै १५ हजार ७ सय रुपैयाँ बचत भएको समेत जनाए ।

उक्त बाटो निर्माण कार्य १४ गते सोमबार सम्पन्न भएको सदस्य नविन सञ्जेलले जानकारी दिए । भुपाल परियारको स्वागत रहेको कार्यक्रममा सञ्चालन दिलीप राईले गरेका थिए ।