नरेश र विकासको गोलबाट वडा नं. ७ लाई उपाधि « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

नरेश र विकासको गोलबाट वडा नं. ७ लाई उपाधि


यलम्वर टाइम्स
१८ फाल्गुन २०७४, शुक्रबार ०१:२४

अर्जुनधारा । अर्जुनधारा–७ मा आयोजित वडास्तरीय नकआउट फुटबल खेलको उपाधी यो वर्ष अर्जुनधारा–७ले चुमेको छ ।

बिहीबार अर्जुनधारा खेल मैदानमा सम्पन्न फाइनल खेलमा वडा नं. ७ का जर्सी नं. १२ का नरेश लिम्बू र जर्सी नं. ७ का विकास राईले १–१ गोल गरेपछि वडा कप ७ ले कब्जामा लिएको हो ।

बिजेता तथा उपबिजेतालाई ट्रफी, मेडल र रकम प्रदान गर्दै नगर प्रमुख हरिकुमार रानाले यस खेल मैदानको स्तर उन्नतिको लागि र नगरका खेलाडीहरुको भविष्यको लागि नगरपालिकाको ध्यान जाने बताए । बिजेताले ५१ हजार र उपविजेताले ३१ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

कार्यक्रममा खेलभरी उत्कृष्ट खेलाडी वडा नं. ६ का सन्तोष दनुवार, बढी गोल गर्ने वडा ३ का राजेश दाहाल, राईजीङ प्लेयर वडा नं. ८ का निखिल दाहाल, वेष्ट डिफेन्स वडा नं. ७ का अनिस कार्की र उत्कृष्ट गोल किपर वडा नं. ७ का अनिस दर्जी रहेका छन् ।

दर्जीलाई निर्मल काफ्लेले रु. एक हजार पाँच सय प्रदान गरेका थिए । समाज उद्दार कल्याण संघका अध्यक्ष धर्मानन्द गुरागाईंको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण भट्टराई र ३८ सेका संयोजक शेखर प्रधानले गरेका थिए ।

खेलको समापन कार्यक्रममा उत्कृष्ट खेलाडी देवेन्द्र दाहाल लगायतलाई सम्मान गरेका थिए । खेलभरी सहयोग गर्नुहुने महानुभावलाई प्रशंसा पत्र प्रदान गरेको चिरनसेन थापाले बताए ।

कार्यक्रममा वडा नं. ७ का अध्यक्ष नवराम ढुंगाना, १० का बलदेव गोम्देन, दिपेन्द्र ढकालको आतिथ्य रहेको थियो ।