वन पदाधिकारीले भ्रष्टाचार गरेपछि उपभोक्ताहरुद्वारा अख्तियारमा उजुरी « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

वन पदाधिकारीले भ्रष्टाचार गरेपछि उपभोक्ताहरुद्वारा अख्तियारमा उजुरी


यलम्वर टाइम्स
२३ फाल्गुन २०७४, बुधबार ०४:५६

[प्रकाश उप्रेती]

झापा । झापाको एक सामुदायिक वनका पदाधिकारीले व्यापक भ्रष्टचार गरेपछि उपभोक्ताले अख्तियारसमक्ष उजुरी हालेका छन् ।

पूर्वी नेपालको मेचीनगरको धाइजनमा पर्ने बाँसवारी सामुदायिक वन उपभोक्ता समुहले वनको गोलीया बिक्री र सिमसार क्षेत्रको विकास खर्चमा भ्रष्टचार गरेको थाहा पाएपछि उपभोक्ताले अख्तियारमा उजुरी हालेका हुन् ।

वन कार्यालयले एउटै सिम्वल नम्बरको नगदी बिल र अर्धकट्टीमा छुटाछुट्टै रकम अंकित गरेको पाएपछि आक्रोशित उपभोक्ताले गत फागुन ७ गते अख्तियारको कार्यालयमा पुगी १७०३ नम्बरमा उजुरी दर्ता गराएका हुन् ।

गत २०७० देखि २०७३ सालसम्म कार्यकाल सम्हालेका अध्यक्ष सचिवद्धय शिवाकोटीे र कडरियाले घोटला गरेको उपभोक्ताले ठम्याएका थिए ।

नाम नखुलाउने शर्तमा एक उपभोक्ताले भने, ‘वनको अघिल्लो कार्यकालको अध्यक्ष दुर्गा शिवाकोटी र ओमनाथ कडरिया सचिव रहेको कार्यसमितिले वनबाट निस्किएको लकडी उपभोक्तालाई बिक्री गर्दा बिक्री गरेको रकमनै गायव भयो, यस्तो बिषयलाई छोड्ने कुरै भएन ।’

समितिले वनको केही क्षेत्रफललाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने योजना अन्तर्गत रहेको विकास निर्माण कार्यक्रममा समेत घोटला गरेको उपभोक्ताको आरोप छ । पछिल्लो समयमा बाँसबारी सिमसार क्षेत्र परिचित नाम हो ।

उक्त सिमसार क्षेत्रको विकास गर्न बोर्ड र निर्मित घोडाको सालिक निर्माणमा खर्च बढी देखाएको पाइएको छ । श्रोतका अनुसार सो कार्यसमितिले ३५ देखि ४० लाखसम्म घोटला गरेको हुनसक्ने अनुमान गरेको छ ।

साथै समितिले वन ऐनको नियम उल्लङ्घन गर्दै आफ्नो कार्यकालमा गरिएको किर्ते कागजी रुपमा ढकछोप गर्न अन्तरिक र बाह्य खाता सञ्चालन गरेको खुलेको छ । आन्तरिक खातामा कार्यसमितिले गरेको सबै कामको अभिलेख राख्ने र वनले अनुगमन गर्दा बाह्य खाता मात्रै देखाउदै आएको श्रोतको दाबी छ ।

वनको अघिल्लो कार्यकालको अध्यक्ष दुर्गा शिवाकोटी र ओमनाथ कडरिया सचिव रहेको कार्यसमितिले वनबाट निस्किएको लकडी उपभोक्तालाई बिक्री गर्दा बिक्री गरेको रकममा घटाएर आम्दानी बाधेको पाइएको थियो ।

नगदी बिलमा किर्ते गरी उपभोक्तालाई गुम्राहमा पारेको समेत उपभोक्ताको गुनासो छ । वनमा हालसम्म क वर्गमा ४ सय ३२ वटा र ख वर्गमा ५० घरधुरी उपभोक्ता रहेका छन् ।