साहित्यकार इन्द्रबहादुर राईको निधन « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

साहित्यकार इन्द्रबहादुर राईको निधन


यलम्वर टाइम्स
२३ फाल्गुन २०७४, बुधबार ०८:५८

झापा । मंगलवार राति भएको साहित्यकार इन्द्रबहादुर राईको निधनले नेपाली साहित्य जगत् मर्माहत भएको छ ।

९१ वर्षीय साहित्यकार राईको दार्जीलिङस्थित आफ्नै निवासमा निधन भएको परिवारनिकट स्रोतले जनाएको छ । उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए ।

भारतको दार्जीलिङमा जन्मेका इन्द्रबहादुर राई साहित्यमा विभिन्न प्रयोग र साहित्यमाथिको सैद्धान्तिक चिन्तनका लागि नेपालमा प्रसिद्ध छन्। सन् १९७७ मा भारतको साहित्य अकादेमीले नेपाली भाषामा योगदानका लागि वार्षिक पुरस्कार दिन शुरू गर्दा इन्द्रबहादुर राईले ‘नेपाली उपन्यासका आधारहरू’ पुस्तकका लागि त्यो पुरस्कार जितेका थिए ।

पश्चिमा समालोचनाका सिद्धान्तहरू प्रयोग गरेर नेपाली साहित्यको मूल्याङ्कन गरिएको ’नेपाली उपन्यासका आधारहरू’ नेपाली समालोचना क्षेत्रको कोसेढुङ्गा मानिन्छ ।

नेपाली भाषालाई भारतको संविधानमा राष्ट्रभाषाका रुपमा पहिचान दिलाउने चार दशक लामो भाषिक आन्दोलनमा उनको योगदान रहेको बताइन्छ। ’विपना कतिपय’ र ’आज रमिता छ’ जस्ता शुरूवाती कृतिबाट राईले नेपाली साहित्यमा नयाँ पाश्चात्य शैली र विचारधाराको प्रवेश गराएको मानिन्छ। उनले शुरूवात गरेका आयामेली आन्दोलन र लीलालेखनबाट पछिल्लो पुस्ताका लेखकहरू प्रभावित भएको बताउँछन् ।
कथा जस्तै जीवन
साहित्यमा बिताएको जीवन आफ्नै कृतिजस्तै लाग्ने उनले उल्लेख गरेका थिए। करिब एक वर्षअघि बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले भनेका थिए– ‘साहित्यकारका निम्ति जीवन के थोक हो, हामी बताउनै सक्दैनौँ ।’

त्यसलाई काममा लगाउँछौँ। तर पनि हामीले चाहेको जस्तो त्यो काममा लाग्दैन। केही केही काममा लाग्छ, त्यतिमै सन्तोक मान्नपर्छ जस्तो लाग्छ । जुन आफैँमा पनि हामीले लेखेमा भिन्दै कथा, भिन्दै उपन्यास हुन जानेछ । “त्यस्ता कथा लेख्ने लेखकहरूले भने कसैको पाइला नपछ्याइ आफ्नै बाटो पहिल्याउनुपर्नेमा उनको सधैँ जोड थियो ।

“हामी जहिले पनि आफ्नो बाटो खोजौँ। अरूको बाटो नसमातौँ,“ उनले भनेका थिए । मौलिक सिर्जनाले मात्रै साहित्य समृद्ध हुने विचार राख्दै उनी भन्छन,“साहित्यमा ठूला लेखकलाई पछ्याउन खोज्यौँ भने देखि हामी कहीँका रहँदैनौँ । हामी कसैको बाटो हिँड्नु हुँदैन । आफ्नै बाटो खोज्नुपर्छ । आफ्नै बाटो पहिल्याउन सकेनौँ भनेदेखि लेखक, कवि नभए पनि भयो ।“

जीवनको उत्तरार्द्धमा राइ विस्मृति लगायतका विभिन्न स्वास्थ्य समस्या र पत्नीको निधनको दुःखद परिस्थितिको सामना गरिरहेका थिए। तर उनी निराश भने देखिँदैनथे। “म अघिको लेखक फेरि बनूँला भन्नेमा छैन, तर म सन्तुष्ट छु,“उनले आफ्नो जीवनलाई आफ्नै शब्दमा यसरी मूल्याङ्कन गरेका थिए ।

“मेरा सबै कृति प्रकाशित छन् वा हुनेवाला छन्, र म एक प्रकारले खुशी व्यक्ति जाँदैछु । मर्नुभन्दा अघि सन्तुष्ट व्यक्ति पाउनु कठिन छ। म चाहिँ त्यो व्यक्ति हुँ, म सक्छु।“ राईको अन्त्येष्टि बिहीवार दार्जि्लिङमा गरिने परिवारनिकट स्रोतले जनाएको छ ।