अर्जुनधारामा गहना बनाउने तालिम « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

अर्जुनधारामा गहना बनाउने तालिम


यलम्वर टाइम्स
८ चैत्र २०७४, बिहीबार १०:३०

अर्जुनधारा । ग्रामिण क्षेत्रका महिलाहरुलाई उद्यमशील बनाउँदै जीवनस्तरमा टेवा पुर्याउने उद्देश्यका साथ अर्जुनधारामा १० दिवसीय मोती तथा क्रिस्टलका गहना बनाउने तालिम सुरु भएको छ ।

विहीबार शनिश्चरे स्थित पाथीभराको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै नेपाल उद्यामशील महासंघकी केन्द्रीय अध्यक्ष देवीका बुढाथोकीले तालिममा सहभागि भएर घरमा त्यतिकै खेर गईरहेको समयलाई उत्पादनमा लगानुपर्ने बताइन् ।

प्रमुख अतिथि समेत रहेकी अध्यक्ष बुढाथोकीले जीवनमा सफल रहनका लागि निरन्तरता दिनु आवश्यक भएको बताइन् । उनले भनिन् –‘तालिम लिइसकेपछि त्यसलाई व्यवहारमा उतार्नुहोस्, त्यसले सफलता प्रदान गर्नेछ ।’

नेपाल उद्यमशील महिला संघ अर्जुनधाराकी अध्यक्ष सरु बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष गोपीचन्द्र गौतम, महिला नेतृ सरस्वति सिटौला, केन्द्रीय सदस्य पार्वताकुमारी, उद्यामशील महिला संघ जिल्ला अध्यक्ष पार्वता विमली, लोकनाथ पौडेल, सल्लाहकार चतुर्भुज काफ्ले, पुनम सुवेदी लगायतले गाउँवस्तीका महिलाहरुलाई उद्यमशील बनाउँदै उनीहरुको जीवनस्तर उकास्न संघले ल्याएको कार्यक्रम स्वागत योग्य रहेको बताए ।

कार्यक्रममा वडा नं. १० का वडाध्यक्ष बलदेव गोम्देन, महिला नेतृ कुसुम राई, मिश्रकुमारी राई, सल्लाहकार दिपीन राई, प्रेस क्लब अध्यक्ष कुमार भट्टराई, सुशिला सुवेदी लगायतको आतिथ्य रहेको थियो ।

नेपाल उद्यमशील महासंघ र नेपाल उद्यमशील महिला संघको संयुक्त आयोजनामा भएको कार्यक्रमको सञ्चालन संघकी सदस्य लीला राईले गरेकी थिइन् भने स्वागत तथा औचित्यमाथि प्रकाश वरिष्ठ उपाध्यक्ष देवीमाया पोखरेलले गरेकी थिइन् ।

महासंघकी कोषाध्यक्ष मातृका प्रसाई प्रशिक्षक रहेको तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको महासचिव कल्पना कडरियाले बताइन् ।