बढ्दो आत्महत्या र घट्दो सकारात्मक सोच « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

बढ्दो आत्महत्या र घट्दो सकारात्मक सोच


यलम्वर टाइम्स
२१ चैत्र २०७४, बुधबार ०६:५६

नेपालमा वर्षेनी आत्महत्या गर्नेको संख्या दिनानुदिन बढ्दो संख्यामा छ । किशोरावस्थादेखि प्रौढअवस्था सम्मका मानिसहरुले आत्महत्या गरेको समाचार सुन्नमा आउने गरेको छ । विश्वको अवस्था हेर्ने हो भने विश्वमा हरेक ४० सेकेण्डमा एक जना मानिसले आत्महत्या गर्ने गरेको तथ्याङ्क विश्व स्वास्थ्य संगठनको २०१७ को प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदनको अनुसार १५(२९ उमेर समूहका मानिसहरुको मृत्युको दोस्रो कारण आत्महत्या हो । यसबाट प्रष्ट हुन्छ की युवाअवस्थामा आत्महत्या गर्नेको संख्या उच्च रहेको छ । विश्वमा आत्महत्याको संख्या दिनानुदिन बढ्नुको कारणहरु असफल प्रेम सम्बन्ध, यौनहिंसा, नकारात्मक भावनाबाट ग्रसित मानसिकता, जातिय भेदभाव, चरम गरिबी, जीवनमा असफलता, ऋण, निको नहुने रोग, मानसिक रोग, हिनताभाव, लागू पदार्थ दूव्र्यसन आदि प्रमुख रहेका छन् ।

            [होमनाथ भट्टराई]
जब केटाकेटीहरु किशोरावस्थामा प्रवेश गर्छन उनीहरुको शरीरमा नयाँ नयाँ परिवर्तनहरु देखापर्दछन् र उनीहरुमा यौवनको प्रवेशसँगै यौन चाहनाहरु सिर्जना हुन पुग्दछ । फलस्वरुप विपरित लिंगप्रति आकर्षित बनि प्रेम सम्बन्धहरु गास्न पुग्दछन् । यस अवस्थामा अपरिपक्ब निर्णयबाट गासिएका प्रेम सम्बन्ध मजबुत बन्दैनन् । यस्ता प्रेम सम्बन्ध स्वार्थले ग्रसित र क्षणिक हुन्छन् । किशोरावस्थामा गासिएका र गाढा भनिएको प्रेम सम्बन्ध केहि समय पश्चात फिक्का बन्दछ र फलस्वरुप प्रेम सम्बन्ध टुंगिन्छ । प्रेमलाई गम्भिररुपमा लिएका किशोरकिशोरहरुले यसलाई झेल्न सक्दैनन र आत्महत्याको बाटो रोज्दछन् । केही किशोरकिशोरीहरु एकतर्फि प्रेममा असफल बनी आत्महत्याको बाटो रोज्दछन् । नेपाली समाज चारजात ३६ वर्णको साझा फूलवारी हो । नेपाली समाजमा अनेकतामा एकता पाइन्छ भन्ने विश्वास गरिन्छ । यो एकता बाहिरीरुपमा सर्वस्वीकार्य छ । यसलाई संविधान, ऐन कानून एवं नीतिहरुद्वारा व्यवस्थीत गरिएको छ । फलस्वरुप सबै जातजातिहरुबीच मेलमिलापको अपेक्षा गरिन्छ । तर यो मेलमिलाप सबै समाजमा उही मात्रामा पाउन सकिन्न । बाहिरीरुपमा सबैजातजाति बिच मेलमिलाप रहे पनि जब अन्तरजातिय प्रेम सम्बन्धको कुरा आउछ तब केही समाजमा सामाजिक सद्भाव विथोलिन्छ । अनेकतामा एकताका मालाका मोतिहरु विखरिन्छन् । साझा फूलवारीमा साँढे पसे जस्तै लथालिङ्ग हुन्छ । फूलवारीका कलिला प्रेमसम्बन्धका मुनाहरुमा जातियभेदभाव एवं छुवाछुतका हसिया चल्न थाल्दछन् र फलस्वरुप सामाजमा लुकेको जातिय भेदभावको भित्री भाग पर्दापण हुन्छ । फलस्वरुप युवायुवतीहरु आत्महत्याजस्तो कठोर निर्णयमा पुग्दछन् ।

नकारात्मक सोच र असफलता विश्वको बढ्दो आत्महत्याको संख्याको प्रमुख कारणहरु हुन् । मानिसले जन्मलिनुभन्दा अगाडी देखि नै आमाको पेटमै आवश्यकताहरुले घेरेको हुन्छ । जब उ संसारमा पाइला टेकी अगाडी बढ्दै जान्छ तब उसका कदम कदमहरुमा आवश्यकताका जंजिरहरुले घेर्दै जान्छ । फलस्वरुप उ आवश्यकताहरु पुरा गर्दा गर्दै कोक्रोदेखि चिहानसम्मको यात्रा तय गर्छ । यो क्रममा उसले कहिले सफलता त कहिले असफलताको सामना गर्दछ । जब मानवीय महत्कांक्षा बढ्दै जान्छ तब उ अर्थशास्त्रको “असिमित आवश्यकताहरु(सीमित साधनहरुको” कसिमा कसिदै जान्छ । जब जब आवश्यकताहरु पुरा गर्न उ असमर्थ बन्छ तब तब उसमा नकारात्मक भावनाको विजारोपण हुन्छ । ‘मिथ अफ सिसिफस’ झै जीवनको ढुंगा निरन्तर गुडकाइरहन्छ । तर जब असफलताका पहाहरुले उसलाई थिच्दै जान्छ तब उसमा रहेको सकारात्मक उर्जा समाप्त हुँदै जान्छ र जीवन अन्धकारमय देख्न पुग्छ । फलस्वरुप आत्महत्या रोज्दछ ।

गरिबी विकासोन्मुख एवम् विकसशिल देशहरुको परिचय एवम् विशेषता हो । बढ्दो भ्रष्टाचार, आर्थिक भेदभाव एवम असमानता, श्रोतसाधनको असमान वितरण, दिगो आयश्रोतको अभाव जस्ता कारणहरुले गरिबीलाई मलजल गर्दछ । गरिबी एउटा यस्तो दुष्चक्र हो जुन तोड्न धेरै कठिन छ । गरिबीले गरिबहरु सकिन्छन् तर गरिबी आफै कहिले सकिदैन । यसले ऋणग्रस्तताको संख्या बढाउछ । संयुक्त राष्टू संघको अनुसार भारतमा सन् १९९७ देखि २००५ कोे विचमा हरेक ३२ मिनेटमा १ किसानले आत्महत्या गरे जसको मूख्य कारणहरु खडेरी, बाढी, ऋण, सरकारी नीति आदि रहेका छन् यी सबैको जड भने गरिबी नै रहेको छ । संघको अनुसार विश्वमा गैर किसानहरुको तुलनामा किसानहरुको आत्महत्याको दर उच्च रहेको छ । अति आधारभूत आवश्यकता गास वास कपास पुरा गर्न नसकेपछि यस्तो कदमहरु चालेको पाइन्छ । विश्वको बढ्दो आत्महत्याको श्रङ्खलालाई नियन्त्रण एवम् न्यूनिकरण गर्ने कार्य निकै चुनौतिपूर्ण छ । पृथ्वीको सर्वोच्च मानिएको एवम् हिन्दू धर्मशास्त्र अनुसार ८४ लाख जुनी पश्चात प्राप्त गरेको मानवको बहुमूल्य जीवन एकै क्षणमा समाप्त पार्ने अवस्था आउन नदिन प्रभावकारी एवम् सकारात्मक कदमहरु चाल्नु अति आवश्यक छ । यसका लागि निम्न कदमहरु प्रभावकारि हुनसक्छन् ।

सकारात्मक सोचको विकास

सकारात्मक सोचको विकास वाल्यावस्थादेखि नै गर्नु अति जरुरी छ । अभिभावक एवम् शिक्षकले बालबालिकालाई जीवनलाई चित्रण गर्ने तरिकामा परिवर्तन गर्नु जरुरी छ । जीवनलाई एउटा दौड झै चित्रण गरेर दौडमा सधैं प्रथम हुनुपर्छ भनेर होस्टहैसे गर्दा उ दोस्रो भएको दिन उसमा नकारात्मक भावनाको विजारोेपण हुन्छ । जीवनलाई सरल एवम् सहज ढंगले अगाडी बढाउन एवम् बालबालिकालाई सधैं सकारात्मक तरिकाले उत्प्रेरणा एवम् हौसला दिदै अगाडी बढाउदा उ सधैं जीवनमा अगाडी बढ्छ । परीक्षामा राम्रो अंक ल्याउदा साइकल किन्दिने र फेल हुदा गाली गर्ने प्राचिन पद्दतीले उसमा नकारात्मक सोच एवम् डरको विकास हुन्छ ।

हरेक परीक्षामा विगत सम्झी उसले राम्रो गर्न सक्दैन । लठ्ठी देखाएर, पिटेर एवम् गाली गरेर सिकाउदा त जनावरहरुले पनि डरले सिक्छन् । तर यसबाट उ अभ्यस्त मात्र हुन्छ शिक्षित बन्न सक्दैन । तसर्थ मानव जातिलाई ज्ञान प्रदान गर्न सकारात्मक उत्प्रेरणा प्रणाली अपनाउनु आवश्वयक छ । यसका लागि परीक्षालाई कुनै प्रतियोगितासंग नजोडेर उसको क्षमताको प्रस्फुटन गर्ने माध्यमको रुपमा अभिभावकले बुझ्न सके र सोहि अनुरुप उसलाई हरेक असफलतामा हौसला, माया र उत्प्रेरणा दिई अगाडी बढाउनु आवश्यक छ । एक अध्ययन अनुसार स्वतन्त्र वातावरणमा हुर्केको बालबालिकाको सोच्ने क्षमता तिक्ष्ण हुन्छ । उसले ‘ीभबचलष्लन दथ म्यष्लनु बाट सिक्दछन् । ज्ञानको जाँच परीक्षाबाट कदापी हुदैन । उसको क्षमतालाई परीक्षाको नतीजासगँ तुलना गर्दा उसमा नकारात्मक भाव उत्पन्न हुन्छ । नकारात्मक भावनाहरु बढ्दै जादा यसले डिप्रेसनको रुप लिन्छ र कालान्तरमा आत्महत्याको बाटो बन्छ । यस्तो अवस्था नआउनदिन अभिभावक एवम शिक्षक सचेत रहनु आवश्यक छ । तसर्थ आत्महत्याको बढ्दो संख्यालाई न्यून गर्न शिक्षण पद्धतिमा आमूल परिवर्तन ल्याउनु जरुरी छ ।

सफलताको ज्ञान

हाम्रो समाजमा सफल व्यक्ति त्यसलाई मानिन्छ जो अथाह सम्पक्तिको मालिक छ । जसको जग्गा,जमिन, घर गाडी जस्ता सेवासुविधा पर्याप्त छन् । जसलाई समाजमा सबैले सम्मान एवम नमस्कार गर्दछन् । हरेक बालबालिका एवम युवा पुस्ताहरुलाई समाजका ती सफल व्यक्तिहरु सगँ जोडी ती जस्तै बन्ने प्रेरणा दिइन्छ । तर हामी यो भूल्दछौं की सफलता भौतिक मात्र हुदैन । भौतिक सुख सुविधा पर्याप्त भएका मानिसहरु पनि जीवनमा दुखि हुन्छन् । उनीहरु बहिरी आवरणमा सबैले सुखि देखेता पनि आन्तरिक रुपमा दुखि हुन्छन् । यसबाट प्रष्ट हुन्छ की समाजको नजरमा सफल भनिएका मानिसहरु पनि आफ्नो नजरमा असफल हुन्छन् जुन दुखी जीवनको प्रमुख कारण हो । तसर्थ यो बुझ्नु जरुरी छ की सफलता भौतिक वस्तुबाटमात्र प्राप्त हुदैन । सफलता वास्तवमा सन्तुष्टी हो । तपाई आफ्नो जीवनबाट सन्तुष्ट हुनुहुन्छ भने तपाई सफल हो । जो व्यक्तिले जीवनमा आधारभूत आवश्यकता पुरा गरेको छ र उ जीवनलाई सरल र सहज ढंगले गुजारा गर्दछ त्यो व्यक्ति आफ्नो नजरमा सफल हुन्छ । तसर्थ समाजको नजरलाई भन्दा पनि आफ्नो धारणालाई महत्व दिउ । जीवन तपाईको हो र तपाईको जीवनको निर्धारण गर्ने अधिकार स्वयम तपाईमा मात्र छ ।

सामाजिक एवम् आर्थिक समस्याहरुको निराकरण

बढ्दो गरिबी, अशिक्षा, सामाजिक भेदभाव, भ्रष्टाचार आदि समस्याहरु एकै चोटि समाधान हुदैनन् । यस्ता समस्याहरु निराकरण गर्न सामाजिक संघसंस्था, नागरिक समाज, गैरसरकारी संस्था, मिडिया, सरकार आदि बीच हातेमालो हुनु अति जरुरी छ । बढ्दो आत्महत्या न्यूनिकरण एवम रोकथाम गर्न यस्ता सामाजिक आर्थिक, राजनीतिक, सांस्कृतिक, शैक्षिक, भौगोलिक एवम मानवीय समस्याहरु समाधान गर्नु जरुरी छ । सकारात्मक सोचका साथ सबै वर्ग, समुदाय एवम सबै तह र तप्काका मानिसहरुले प्रभावकारी कदमहरु चाल्न सके गन्तव्य टाढा छैन ।