अर्जुनधाराकी रञ्जीताको गोरखामा हत्या « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

अर्जुनधाराकी रञ्जीताको गोरखामा हत्या


यलम्वर टाइम्स
६ जेष्ठ २०७५, आईतवार ०७:२२

अर्जुनधारा । अर्जुनधारा नगरपालिका–५ कि एक लोहार परिवारकी युवतीलाई गोरखामा हत्या गरिएको छ ।

विगत ८ महिना अघि हर्वल कम्पनीको आयुर्वेदीक औषधी बेच्दै गुजारा चलाएकी लोहार सोही कम्पनीमा कार्यरत् गोरखा जिल्ला अरुबारे बारपाक निवासी २२ वर्षीय कृष्ण न्यौपानेले विवाह गर्ने भनी बैशाख २५ गते बारपाक पुर्याएका थिए । सोही राति नै रञ्जीताको हत्या भएको माइतीले बताएका छन् ।

सँगै बाच्ने सँगै मर्ने वाचा गर्दै बारपाक पुगेकी रञ्जीता यसरी मर्छु भन्ने सोचेकी पनि थिइनन् । तर, सामान्य विवाद भएपछि कृष्णले रञ्जीतालाई धारिलो हत्यारले कञ्चटमा हिर्काएर हत्या गरिएको प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

काठमाण्डौबाट २४ गते कृष्णले रञ्जीतालाई लिएर हाँसी खुशी बस चढी गोरखा पुर्याएका थिए । आफ्नो निजी घर भूकम्पले यस अघि आधा भत्काएको थियो । त्यही घरमा रात बिसाउन पुग्दा रञ्जीताले यस्तो ठाउँमा मलाई किन ल्याएको भनी चित्त दुःखाएका थिए ।

ति दुईमा वादविवाद चर्कदै जाँदा कृष्णले हत्यार चलाएर रञ्जीतालाई सधैका लागि टाढा पुर्याएको बयानमा उल्लेख छ । रञ्जीताको शव २५ गते राति हत्यार गरेर खाटमुनी फ्याँकीएको अवस्थामा प्रहरीले भेटेका थिए ।

हत्या भएको खबर थाहा भएपछि ३० गते अर्जुनधाराबाट माईती पक्ष पुगी पोष्टमार्टम गरी ३१ गते गण्डकी नदीमा भान्जी रञ्जीताको दाहसंस्कार गरिएको मामा देवीप्रसाद विश्वकर्माले बताए ।

गरिब अवस्थामा हुर्किएकी रञ्जीता वर्ष १८ कि हुन् । राजधानीमा गएर काम गरिखाने इच्छा जाहेर भएपछि राजधानीको एक हर्वल कम्पनीमा औषधी बोकेर घरघरमा बेच्दै हिन्थिन् । उक्त पेशाबाट आर्जन गरेको केही रकम घरमा पनि पटाउथिन् ।

पेशा राम्रैसँगले चलेको थियो । तर, रञ्जीताको हत्या यसरी हुन्छ भनेर परिवारले सोचेका पनि थिएनन् । कक्षा ८ सम्म पढेकी रञ्जीताको यसरी हत्या हुँदा हत्यारालाई कडाभन्दा कडा कारवाही गर्न माग गर्दै क्रिया खर्चका लागि अर्जुनधारा नगरपालिकामा अनुरोध गरेको वडाध्यक्ष ध्यानबहादुर भारतीले बताए ।