११औं गणतन्त्र दिवसमा वीरता जेसीजद्धारा तीन विरामीलाई आर्थिक सहयोग  « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

११औं गणतन्त्र दिवसमा वीरता जेसीजद्धारा तीन विरामीलाई आर्थिक सहयोग 


यलम्वर टाइम्स
१५ जेष्ठ २०७५, मंगलवार ०७:५२

बिर्तामोड । झापाको बिर्तामोडस्थित वीरता जेसीजले ११औं गणतन्त्र दिवसको अवसर पारी आज मंगलबार आर्थिक अभाव झेलिरहेका फोक्सो रोग, मृगौला रोग र दुर्घटनाबाट घाइते तीन बिरामीलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
वीरता जेसीजको सचिवालयमा आयोजित समारोहकाबीच अध्यक्ष एकराज गिरी, कार्यक्रम संयोजक वीरता जेसीजका सदस्य एजाज अहमद अन्सारीले तीन जना विरामीलाई आर्थिक सहयोग प्रदान गरेका हुन् ।
वीरता जेसीजको तर्फबाट बाह्रदशी गाउँपालिका–२ का ६१ वर्षीय फोक्सो रोगबाट पीडित महम्मद हाकिम मियालाई २० हजार रुपैयाँ उपचार खर्च सहयोग प्रदान गरिएको हो । आर्थिक अवस्था अत्यन्त न्यून भएका उनी तत्कालीन राजगढ गाविसका निर्वाचित जनप्रतिनिधि समेत हुन् । उनी ०४५ सालमा जनप्रतिनिधि थिए ।
त्यस्तै दुबै मृगौला खरब भई हाल कोसी अञ्चल अस्पतालमा उपचाररत् बिर्तामोड–३ का २३ वर्षीय कमल भट्टराईलाई पाँच हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । द्वन्द्वकालमा बुबा बेपत्ता भएका भट्टराईको मृगौला प्रत्यारोपणका लागि समिति नै गठन गरी आर्थिक संकलन भइरहेको छ । भट्टराईको उपचारका लागि गठित समितिको सदस्यमा वीरता जेसीज समेत रहेको छ । भट्टराईकी माता कमला भट्टराईलाई उक्त रकम हस्तान्तरण गरिएको थियो ।
त्यस्तै दुर्घटनबाट घाइते बिर्तामोड–१ निवासी ३२ वर्षीय जफिर आलमलाई पाँच हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । गत माघ ४ गते दुर्घटनामा घाइते उनको उपचारमा नौ लाख बढी खर्च भइसकेको छ । कवाडीका सामान संकलन गर्ने मजदुरीबाट परिवारको गुजारा चलाउँदै आएका उनको उपचार बीएण्डसी हस्पिटल बिर्तामोड भइरहेको छ ।
कार्यक्रम संयोजक एजाज अहमद अन्सारीको अगुवाईमा रकम जुटाएर तीन जना विरामीलाई वीरता जेसीजको तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको हो ।
कार्यक्रममा बोल्दै वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष तथा वीरता जेसीज सन् २०१८ कि  अध्यक्ष सल्लाहकार राधा सुब्बाले जेसीजले मानवताको सेवामा अनुकरणीय काम गरेको भन्दै अरु संस्था र दाताले पनि जेसीजले जस्तै उपचारका लागि आर्थिक अभाव भोगिरहेका विरामीलाई सहयोग गर्नुपर्ने बताइन् ।
अध्यक्ष गिरीको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा कार्यक्रम संयोजक अन्सारीले गणतन्त्र दिवस र रमदानको अवसर पारी पवित्र कर्म स्वरुप कार्यक्रम गरिएको बताए ।
‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने जेसीज आस्थालाई आत्मसाथ गरी वीरता जेसीजले आयोजना गरेको उक्त कार्यक्रमको सञ्चालन महासचिव कमलप्रसाद पाण्डे विनोदले गरेका थिए ।