अर्जुनधारामा विपद व्यवस्थापन तालिम सुरु « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

अर्जुनधारामा विपद व्यवस्थापन तालिम सुरु


यलम्वर टाइम्स
२२ जेष्ठ २०७५, मंगलवार १०:३०

अर्जुनधारा । संघीय मामिला तथा कानून मन्त्री हिकमत कार्कीले अर्जुनधारा नगरको विकासमा प्रदेश सरकार सदैव साथमा रहने बताएका छन् ।

अर्जुनधारा नगरपालिकाको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल बराह बाहिनी पकलीको प्राविधिक सहयोगमा भएको विपद प्रतिकार्यका लागि समुदायमा आधारित खोज तथा उद्दार तालिमको उद्घाटन गर्दै मन्त्री कार्कीले यस क्षेत्रको विकासका सम्भाव्यता र त्यसको डीपीआर गरि अगाडि बढे प्रदेश सरकार अर्जुनधारा नगरको साथमा रहने बताए ।

प्रमुख अतिथि समेत रहेका मन्त्री कार्कीले विपत कुनै पनि बेला आउन सक्ने कुरालाई मध्यनजर गर्दै अर्जुनधारा नगरपालिकाले त्यसको पूर्व तयारीको लागि गरेको यस कार्यक्रम सराहनीय भएको बताएका छन् ।

मन्त्री कार्कीले खोला नाला हाम्रो प्राकृतिक सम्पत्ति भए पनि यसलाई सही तरिकाले सदुपयोग र नियन्त्रण गर्न नसक्दा असर पुर्याउँदै आएको बताए । उनले उचित योजना बनाई खोलानाला प्राकृतिक सम्पदाको रुपमा प्रयोग गर्नमा अग्रसर हुनुपर्नेमा जोड दिए ।

४ दिनसम्म सञ्चालन हुने तालिममा प्राकृतिक विपद तथा मानवजन्य विपदबाट हुने सम्भावित जोखिमबाट क्षति हुन नदिन पूर्व तयारी, आगलागी नियन्त्रण, उद्दार र उपकरण, बाढी, पहिरोमा उद्दार, उपकरणको प्रयोग, विपद र विपद चक्र लगायतका विषयमा प्रयोगात्मक तरिकाबाट अभ्यास गराइने बताएका छन् ।

तालिममा सशस्त्र प्रहरी बल नेपाल बराह बाहिनी पकलीका इन्स्पेक्टर उत्तम बस्नेत, सई सूर्य धमाला र असई सन्तोष बस्नेतले सहजीकरण गरेका थिए ।

अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाको सभापतित्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी झापाका अध्यक्ष लोकराज ढकाल, पूर्व माननीय शेरबहादुर इङ्नाम लगायतले आ–आफ्नो विचार राखेका थिए ।

उपप्रमुख कमला आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले गरेका थिए । तालिममा ११ वटा वडाबाट ११० जनाको सहभागिता रहेको जनाइएको छ ।