वीरता जेसीजद्वारा वातावरण जोगाउन साइकल र्याली र उद्योगमा वृक्षरोपण « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

वीरता जेसीजद्वारा वातावरण जोगाउन साइकल र्याली र उद्योगमा वृक्षरोपण


यलम्वर टाइम्स
२२ जेष्ठ २०७५, मंगलवार १०:४५

बिर्तामोड । विश्व वातावरण दिवसको अवसर पारेर वीरता जेसीजले साइकल र्याली तथा उद्योगमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

‘प्लाष्टिक प्रदुषण निर्मूल पारौं, सके पुनः प्रयोग नसके बहिष्कार गरौं’ भन्ने नाराका साथ वीरता जेसीजको आयोजनामा साइकल र्यालीसहित बिर्तामोड–२ स्थित कञ्चनजंघा सिमेन्ट उद्योग प्रालि परिसरमा वृक्षरोपण गरिएको हो ।

बिर्तामोडस्थित वीरता जेसीजको सचिवालयबाट जेसीज तथा सामाजिक संघ–संस्था, विद्यालयका प्रतिनिधि तथा विद्यार्थीहरुको सहभागितामा शुरु भएको साइकल र्याली चारपाने हुँदै बिर्तामोड–२ बेलडाँगीस्थित कञ्चनजंघा सिमेन्ट उद्योग प्रालिको परिसरमा सभामा परिणत भएको थियो ।

र्यालीमा वीर अमरसिंह मावि र मोहनमाया माविका विद्यार्थीहरुको सहभागिता रहेको थियो । वीर अमरसिंह माविका विद्यार्थीहरुको नेतृत्व विद्यालयका प्राचार्य यदुनाथ अधिकारीले र मोहनमाया माविका विद्यार्थीहरुको नेतृत्व विद्यालयका शिक्षक पुण्यप्रसाद भण्डारीले गरेका थिए ।

वीरता जेसीजका कार्यवाहक अध्यक्ष मिकी कार्कीको अध्यक्षता तथा बिर्तामोड नगरपालिका–२ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा वीरता जेसीजका वातावरण संयोजक वीरबहादुर दर्नाल (बिरु)ले स्वागत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि संग्रौलाले वातावरण दिवसमा वीरता जेसीजले उद्योगमा वृक्षरोपण गरेर राम्रो कार्यको शुरुवात गरेको बताउँदै बिर्तामोड नगरपालिका–२ मा रहेका प्रत्येक उद्योग तथा कलकारखानाहरुमा अभियानको रुपमा वृक्षरोपण गरिने बताएका थिए ।

कार्यक्रममा कञ्चनजंघा सिमेन्ट उद्योग प्रालिका सञ्चालक मिनप्रकाश मैनालीले वीरता जेसीजले गरेको कार्यको प्रशंसा गर्दै उद्योगमा हुने वातावरण प्रदुषणलाई वृक्षरोपणले रोक्ने बताए ।

उनले वीरता जेसीजले गरेको वृक्षरोपणको संरक्षण गरेर हरियालीमय वातावरण बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । उनले बिर्तामोड नगरपालिकामा रहेका प्रत्येक उद्योग तथा कलकारखानाहरुमा वृक्षरोपण गर्न बिर्तामोड नगरपालिकासँग माग समेत गरेका थिए ।

कार्यक्रममा जेसीज पूर्व अध्यक्ष समाजका अध्यक्ष विनोद बस्नेत, महासचिव विष्णुप्रसाद रिमाल, चेम्बर अफ कमर्स झापाका अध्यक्ष सन्तोषकुमार अग्रवाल, वीर अमरसिंह माविका प्राचार्य यदुनाथ अधिकारी, मोहनमाया माविका शिक्षक पुण्यप्रसाद भण्डारी, वीरता जेसीजका पूर्व अध्यक्षहरु वेदप्रकाश अग्रवाल, राजकुमार पोखरेल, निर्मल भट्टराई, बिर्तामोड–२ का वडा सदस्य किशोरकुमार पौडेल लगायतको आतिथ्य रहेको थियो ।

यसैबीच वीरता जेसीजका अध्यक्ष एकराज गिरीले वातावरण दिवसको अवसरमा शुभकामना सन्देश जारी गरी वातावरण प्रदुषण गर्ने हरेक उद्योगले वातावरण प्रदुषण नियन्त्रणका लागि वृक्षरोपण गर्नुपर्नेमा जोड दिएका छन् ।

वातावरण प्रदुषणको कारक मध्ये उद्योग भए पनि कही पनि उद्योगमा प्रदुषण नियन्त्रणका लागि रुख, बिरुवा रोपेको पाइँदैन । वातावरण सन्तुलनका लागि वृक्षरोपण नै उत्तम विकल्प सावित भएको छ ।

तसर्थ वातावरण प्रदुषणमात्र होइन, त्यसलाई नियन्त्रण गरी सन्तुलन राख्न अब प्रत्येक उद्योगले आफ्नो परिसरमा कम्तीमा २५÷३० बिरुवा रोप्नुपर्छ र हरियाली बढाउनुपर्छ भन्ने अवधारणाका साथ बिर्तामोड–२ बेलडाँगीस्थित कञ्चनजंघा सिमेन्ट उद्योग प्रालिको परिसरमा वृक्षरोपण गरिएको हो ।

वीरता जेसीजले गरेको उद्योगमा वृक्षरोपण कार्यक्रमबाट अरुले पनि यो कार्यको अनुसरण गर्न सकुन् । खासगरी स्थानीय सरकारको रुपमा रहेको बिर्तामोड नगरपालिकाले त्यस क्षेत्रका उद्योगलाई अनिवार्य वृक्षरोपण गर्नुपर्ने सर्कुलर गरी कार्यान्वयन गराउन सके झापामा मात्र होइन, बिर्तामोडबाट देशभर नै सकारात्मक सन्देश प्रवाह हुने अध्यक्ष गिरीको विश्वास छ । त्यसका लागि अध्यक्ष गिरीले स्थानीय सरकारलाई समेत विशेष आग्रह गरेका छन् ।

वृक्षरोपण कार्यक्रम अन्तर्गत जिल्ला वन कार्यालय झापाले उपलब्ध गराएको सिरिस र मलेसियन साखका १०० वटा भन्दा बढी बिरुवा रोपिएको वीरता जेसीजका शाखा सम्पादक तुलसीप्रसाद निरौलाले जानकारी दिए । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव कमलप्रसाद पाण्डे (विनोद)ले गरेका थिए ।

यसैबीच वीरता जेसीजको सहयोगमा मेचीनगर नगरपालिका–१२ स्थित युनिक इङ्लिस बोर्डिङ स्कूलमा वृक्षरोपण गरिएको छ । उक्त विद्यालयको परिसरमा ७० वटा बिरुवा रोपण गरिएको विद्यालयका प्रिन्सीपल विष्णुप्रसाद रिमालले जानकारी दिए ।