आदिवासी जनजाति महासंघको प्रथम अधिवेशन सुरु « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

आदिवासी जनजाति महासंघको प्रथम अधिवेशन सुरु


यलम्वर टाइम्स
२३ जेष्ठ २०७५, बुधबार १०:२७

अर्जुनधारा । आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद अर्जुनधाराले यलम्वर टाइम्सका सहसम्पादक राजन साम्पाङलाई सम्मान गरेको छ ।

महासंघले गर्दै आएका विभिन्न गतिविधिहरु नियमित रुपमा पत्रपत्रिकामा सम्प्रेषण गरि सहयोग गरेको भन्दै उनलाई सम्मान गरेको हो । साम्पाङसँगै महासंघलाई विभिन्न क्षेत्रबाट सहयोग पुर्याएका क्या. मानबहादुर राई, नरबहादुर लिम्बू, बुद्धराम मेचे लगायतलाई सम्मान गरिएको छ ।

शनिश्चरे बजार स्थित सामुदायिक भवनमा भएको प्रथम नगर अधिवेशनमा उनीहरुलाई सम्मान गरिएको हो । यसरी नै तत्कालिन आदिवासी जनजाति महासंघ अर्जुनधारा गाउँ समन्वय परिषदको सचिव तथा कार्यालय सहयोगीको भूमिका निर्वाह गरी महासंघको हितका लागि काम गरेको भन्दै सञ्चारकर्मी लीला राई र कार्यालय सहयोगी छलुमाया माझिलाई कदरपत्रले सम्मान गरिएको महासंघका सचिव चन्द्रकला राईले बताइन् ।

महासंघका अध्यक्ष बृख प्रधानको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि आदिवासी जनजाति महासंघका जिल्ला सदस्य मदन दनुवार र विशिष्ट अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना रहेका थिए ।

कार्यक्रममा वडा नं. १० का वडाध्यक्ष बलदेव गोम्देन, वडा नं. ८ का वडाध्यक्ष गोपीचन्द्र गौतम, किरात राई यायोक्खाका क्या. मानबहादुर राई, किरात याक्थुम चुम्लुङका तिलसिंह माङ्मु लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा महिला नेतृ तथा समाजसेवी कुसुम राई, मीना पन्धाक, मगर संघका मनोज रैका मगर, महिला महासंघकी भुपा राई, सन्थाल विकास समाज झापाकी कोषाध्यक्ष सोमी हेमरम, तमु झोंछेका डिल्ली गुरुङ लगायतको आतिथ्य रहेको थियो ।

महासंघकी सचिव चन्द्रकला राईले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष मुखमेल धिमालले गरेका थिए । अधिवेशनमा नगरभित्र सक्रिय रहेको १५ जातीय संस्थाका २/२ जना प्रतिनिधि र प्रत्येक वडाबाट २/२ जना प्रतिनिधि गरी ५२ जना प्रतिनिधिहरुको सहभागिता रहने सदस्य कृष्ण थेवेले बताए ।

अधिवेशनको बन्द सत्रले चाँडै नै चुस्त कार्यसमिति निर्माण गरेर जाने बताइएको छ ।