गर्मी छल्ने गन्तव्य बन्दै दोमुखा « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

गर्मी छल्ने गन्तव्य बन्दै दोमुखा


यलम्वर टाइम्स
२ असार २०७५, शनिबार ०३:४९

[होमनाथ भट्टराई]

अर्जुनधारा । गर्मीले सताइरहेको बेला युवा पुस्ताहरु गर्मी छल्नलाई दोमुखा धाउने गरेको देखिन्छ । गर्मी महिनाको सुरुभएसँगै झापाको तापक्रम पनि निरन्तर उकालो लाग्दा गर्मीसँगै जनजीवन पनि कष्टकर भइरहेको बेला युवा पुस्ताहरु दोमुखाको चिसो पानीमा नुहाउन पनि पाइने, शितलतामा रमाउन सकिने भनेर आउने गरेका स्थानीय व्यापारीहरु बताउँछन् ।

३६ डिग्रीभन्दा माथि रहेको तापक्रमले आक्रन्त बनाएपछि मानिसहरु स्वीमिङ पुल एवम् नदीमा पौडी खेल्न जानेको संख्या दैनिक बढ्दो छ । केही समय भए पनि गर्मीलाई बिर्साउन युवाहरुको गन्तव्य बन्दैछ शिवसताक्षी नगरपालिकामा रहेको दोमुखा पर्यटकीय क्षेत्र ।

यही क्रममा, आन्तरिक पर्यटनमा रमाउने झापा बिर्तामोड स्थीत देवी मावि एवम क्याम्पसका केही शिक्षकहरुले यसपटक गर्मी छल्न दोमुखालाई रोजे । उक्त विद्यालयका शिक्षक मात्र होइन दमकबाट पनि हुलका हुल युवाहरु दोमुखा धाउने गरेको भेटिन्छ ।

महंगो स्वीमिंग पुलभन्दा खुला स्थानमा पौडी खेल्दा शरीरलाई बढी आनन्द मिल्ने भएको हुँदा तन्देरी पुस्ताहरुको गन्तव्य स्थल दोमुखा हुन पुगेको हो । दोमुखामा शितलता पाएको अनुभव बताउँदै देवी माविका सहायक प्रअ लीलाप्रसाद भण्डारीले महंगो रकम तिरेर स्वीमिङ गर्नुभन्दा दोमुखा उपयुक्त भएको बताए ।

स्थानीयवासी एवम् देवी क्याम्पसका शिक्षक बालकृष्ण चेमजोङ्ग लिम्बुका अनसार पौडी खेल्न तथा गर्मी छल्न आउने युवाहरुको संख्या दैनिक बढ्दो छ । दैनिक करीब एक–डेढ सय युवा जमातहरु पौडी खेल्न आउने गरेको बताए । यसले शरीरसँगै आन्तरिक पर्यटनमा पनि फस्टाएको जानकारी दिए ।

देवी माविका अर्का शिक्षक कैलाश पोख्रेलका अनुसार शान्त स्थानमा रहेको दोमुखाको उचित व्यवस्थापन एवम् विकास गर्न सके पर्यटकहरुको संख्या अझै बढनेछ । जाडोमा बनभोज, गर्मीमा नुहाउन आउने भएको हुँदा दोमुखाको प्रवद्र्धनमा स्थानीय सरकारको ध्यान पुग्न सके शिवसतासी नगरपालिकालाई पर्यटकीय क्षेत्रबाट अवल्ल क्षेत्रमा पुर्याउने र आयआर्जनको गतिलो स्रोत बन्ने छ ।