वडा नं. ५ मा बाटोको स्तरोन्नति बारे छलफल « Yalambar Times
५ जेष्ठ २०८१, शनिबार

वडा नं. ५ मा बाटोको स्तरोन्नति बारे छलफल


यलम्वर टाइम्स
२ असार २०७५, शनिबार ११:२३

अर्जुनधारा । वर्खायाम सुरु भएपछि हिंड्नडुल गर्नमा नै समस्या आउने अर्जुनधारा–५ को ओम चोक–भानु मावि हुँदै भानु भट्टराईको घरसम्म जोड्ने बाटोको स्तरोन्नति गरिएको छ ।

अर्जुनधारा नगरपालिकाको २८ लाख सहयोग रकम र स्थानीयबाट ५ लाख ६५ हजार ८७१ संकलन गरी ३३ लाख ६५ हजार ८७१ रुपैयाँको लागतमा २७ सय मिटर लामो बाटो निर्माण गरिएको बाटो तथा कल्र्भट निर्माण उपभोक्ता समितिका अध्यक्ष डेगनाथ खतिवडाले बताए ।

अध्यक्ष खतिवडाले बाटोको हिसाब सार्वजनिक गर्दै सो बाटोको स्तरोन्नतिका लागि रोलर, ग्रडेर, ट्याङकर लगाइएको बताए । उनले बाटो अन्तर्गत एक वटा कल्र्भट र स्ल्याव निर्माण गरिएको बताए ।

‘बाटोको स्तरोन्नति नहुँदा बर्खाको समयमा बाटो हिलो हुने र बिग्रिने समस्या थियो । त्यो समस्या समाप्त भएको छ ।’ बाटो निर्माण समितिका सदस्य मुखमेल धिमाल बताउँछन् । उनी भन्छन् –‘बाटो बिग्रदा यस ठाउँका मानिसहरु मात्र होइन, भानु माविमा इन्जीनियरिङ पढ्न आउने विद्यार्थी, उनीहरुका अभिभावक लगायत अन्य थुप्रै उपभोक्ताहरु समस्यामा थिए । अब त्यो समस्या छैन ।’

गत चैत ३ गतेबाट सुरु गरिएको उक्त बाटो स्तरोन्नति कार्य जेठ २० गते सम्पन्न भइसकेको छ । सडकको स्तरोन्नतिसँगै यहाँका स्थानीय, विभिन्न स्थानबाट पठनपाठनका लागि आउने विद्यार्थी लगायत अन्य लाभान्वित हुने छन् ।

हिसाब सार्वजनिक कार्यक्रममा स्थानीय बुद्धिजीवि तथा भानु मावि व्यवस्थापन समितिका अध्यक्ष युवराज खड्काले विकासको आधार नै बाटो भएको बताएका छन् । उनले यो कार्य निर्माण समितिको मात्र नभई सबैले चासो दिनुपर्ने बताए ।

वडा नं. ५ का अध्यक्ष ध्यानबहादुर भारतीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य खड्ग चौहान, ताराप्रसाद बराल, मुखमेल धिमाल, युवराज खड्का लगायतले आ–आफ्नो विचार राखेका थिए ।

कार्यक्रमको सञ्चालन उपभोक्ता समितिका सचिव सन्तोष कार्कीले गरेका थिए ।