सूचनाबिहीन मानव मरेतुल्य : उपप्रमुख महतारा « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

सूचनाबिहीन मानव मरेतुल्य : उपप्रमुख महतारा


यलम्वर टाइम्स
४ असार २०७५, सोमबार १२:३५

बिर्तामोड । बिर्तामोड नगरपालिकाको उपप्रमुख पवित्रा महतरा प्रसाईले स्थानीय सरकार सञ्चालनमा सूचनाको हक अत्यावश्यक भएको बताएकी छन् ।

उनले नागरिकको मौलिक हक सूचनाको हकलाई सार्वजनिक निकाय र सार्वजनिक सरोकार राख्ने निकायमा प्रयोग गर्न सके जवाफदेही समाज निर्माणमा सहयोग पुग्ने जानकारी दिइन् ।

टाइम्स मिडिया नेटवर्कको आयोजना र विर्तामोड नगरपालिकाको सहयोगमा भएको एक दिवसीय सूचनाको हक सम्वन्धी सचेतना कार्यक्रममा बोल्दै उनले सूचना विहीन मानव मरेतुल्य हुने उनको भनाई थियो । उनले संविधानले व्यवस्था गरेको हकलाई सबैले प्रयोग गर्न आवश्यक रहेको बताइन् । प्रसाईले भनिन्,–अव पनि सूचनामा पछि परियो भने भुत्ते खुकुरी भइने छ ।

सचेतना कार्यक्रममा आर टि आई फाउण्डेशन विराटनगरका सूचना अभियान्ता राजु श्रेष्ठ र नेपाल पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्यले सहजीकरण गरेका थिए । सूचनाको हकलाई प्रयोग गरेर समाजमा भएको सबै खाले भ्रष्टाचारको अन्त्य गर्न सकिने श्रेष्ठको भनाई थियो । हक बारे जानकारी दिदैं उनले मुलुक निर्माणमा यसको प्रयोग प्रभावकारी हुने बताए ।

यस्तै, अर्का सहजकर्ता सन्तोष आचार्यले सूचनाको हक प्रयोग गरेर माग गरिएको सूचनामा तथ्य हुने बताए । उनले दस्तावेजको लागि प्रमाणित प्रमाण मात्र योग्य हुने जानकारी दिए । सूचना माग गर्न सबैले प्रोत्साहित भएर लाग्नु पर्ने भन्दै दुरुपयोग गरे कानुनी कारवाहीको व्यवस्था हुने बताएका थिए ।

विर्तामोड नगरभित्र रहेका विभिन्न संघ संस्था,जनप्रतिनिधि,युवा संस्थाका प्रतिनिधि,कार्यपालिका सदस्य,उधमी महिला।सहकारी अभियान्ता,सुरक्षा निकाय र सामाजिक व्यक्तित्वहरु सहभागी भएको कार्यक्रम टाइम्स मिडियाका अध्यक्ष नारायण पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो ।