अर्जुनधारा र बिर्तामोडका प्रमुखहरु भन्छन्, ‘टेकबहादुर गिरी बसपार्कलाई सुन्दर बनाउँछौं’ « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

अर्जुनधारा र बिर्तामोडका प्रमुखहरु भन्छन्, ‘टेकबहादुर गिरी बसपार्कलाई सुन्दर बनाउँछौं’


यलम्वर टाइम्स
१४ श्रावण २०७५, सोमबार ०७:३१

अर्जुनधारा । अर्जुनधारा र बिर्तामोड नगरपालिकाका नगर प्रमुखहरुले टेकबहादुर गिरी बसपार्कलाई व्यवस्थापन गर्दै सुन्दर बसपार्क बनाउने प्रतिबद्धता जनाएका छन् ।

बसपार्क तथा बजार व्यवस्थापन समितिको कार्यालयको समुद्घाटन सहित डस्टबीन व्यवस्थापन कार्यक्रममा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार राना र बिर्तामोड नगरपालिकाका नगर प्रमुख धुव्रकुमार शिवाकोटीले उक्त कुरा बताएका हुन् ।

बसपार्क तथा बजार व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा बसपार्कवासी सक्रिय भएर सहकार्य गर्दा सफा, सुन्दर र समृद्ध नगर हुनेमा उनीहरुले विश्वास व्यक्त गरे । बिर्तामोडका नगर प्रमुख शिवाकोटीले बसपार्कमा समितिले संकलन गरेको रकम यस क्षेत्रको विकासमा सदुपयोग गर्दै नपुगेमा नगरपालिकाले पनि सहयोग प्रदान गर्ने बताए ।

यता अर्जुनधारा नगरपालिका प्रमुख रानाले फोहोरलाई मोहोरमा रुपान्तरण गर्न ध्यान दिनुपर्ने बताए । स्थानीय समितिले लिएको योजनामा आफू सधैं रहने प्रमुख रानाले बताए ।

कार्यक्रममा २५ वटा फोहोरमैला व्यवस्थापनका लागि डस्टबीन अर्जुनधारा नगरले वितरण समेत गरेको थियो ।

कार्यक्रममा बिर्तामोड इलाका प्रहरी कार्यालयका डीएसपी कृष्णप्रसाद कोइरालाले मानवीय शोषण गरेर धन आर्जन गर्ने व्यक्तिको लागि प्रहरीले नछाड्ने बताए ।

‘पूर्वको नमूना बसपार्कको रुपमा विकास गर्न सकिन्छ’ बसपार्क समितिका शिव पौडेलले भने । बजारको ट्राफिक व्यवस्थापनका लागि आवश्यक कार्य अगाडि बढाउनु पर्ने बताए ।

बिर्तामोड नगरपालिका वडा–५ का अध्यक्ष राजेन्द्र लिङदेनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नारी कल्याण झापाका सचिव प्रेमा भट्टराई, समाजसेवी शंकर ढुंगेल लगायतले बोलेका थिए ।