धनकुटाका विभिन्न ३ ठाउँमा विश्व आदिवासी दिवस मनाइने « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

धनकुटाका विभिन्न ३ ठाउँमा विश्व आदिवासी दिवस मनाइने


यलम्वर टाइम्स
२३ श्रावण २०७३, आईतवार १०:४३

jhaki

सन्तवीर लामा

धनकुटा / नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, धनकुटाले २२ औं विश्व आदिवासी विविध कार्यक्रमको आयोजना गरी जिल्लाको ३ स्थानमा भिन्नाभिन्नै तिथिमा मनाउने तयारी गरेको जनाएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका सचिव हेमकुमार आङ्गलाका अनुसार “पहिचान र अधिकार सहितको संघीयता आदिवासी जनजातिहरुको अडान, अपुरो र अधुरो संविधान संशोधनका लागी हाम्रो साझा अभियान” भन्ने मुल नाराको साथ यो वर्ष विश्व आदिवासी दिवस अधिकार प्राप्तिको लागि आन्दोलनको रुपमा सडकमा मनाउने बताएका छन् ।

सचिव आङ्गलाले २२ औं विश्व आदिवासी दिवस धनकुटामा ३ दिनसम्म यही श्रावण २४, २५ र २६ गते विविध कार्यक्रमको साथ मनाउने तयारीमा रहेको बताएका छन् । उनले अघिल्लो वर्षहरुमा विश्व आदिवासी दिवस जिल्ला सदरमुकाम धनकुटामा मात्र मनाउने गरेको तर यस वर्षदेखि भने सदरमुकाम बाहिर मनाउने तयारी पुरा भएको बताएका छन् । उनले श्रावण २४ गते हिले बजारमा, २५ गते मौनावुधुक बजारमा र २६ गते राजारानी बजारमा यो वर्ष विश्व आदिवासी दिवस मनाउने बताएका छन् ।

विश्व आदिवासी दिवस तिनै स्थानमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, धनकुटाको आयोजनामा भए पनि संयोजन भने सम्बन्धित गाउँ समन्वय परिषद र सम्बन्धित एकल जातीय संस्थाहरुलाई दिइएको बताइएको छ । ३ वटै स्थानमा विश्व आदिवासी दिवस मनाउने सम्पुर्ण तयारी पुरा नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजयसन्तोषी राईले बताए ।

यो वर्ष विश्व आदिवासी दिवसको अवसरमा आदिवासी जनजाति समुदायका साँस्कृतिक रुपमा वर्षौदेखि सेवा गरिरहेको लामा, ओजा, विजुवा र धामी झाँक्रीलाई दोसल्ला, खदा र सम्मान पत्रले सम्मान गर्ने कार्यक्रम रहेको महासंघ धनकुटाले जनाएको छ । जस अन्तर्गत शेर्पा, तामाङ, राई, देवान र लिम्वु समुदायका साँस्कृतिक रुपमा योगदान पु¥याउने व्याक्तित्वहरु रहेका छन् ।

३ वटै स्थानमा आदिवासी जनजातिहरुको पहिचानयुक्त भेषा, भुषा र साँस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरिने महासंघले जनाएको छ ।