मजदुर संगठन विश्वविद्यालय हो : प्रतिनिधि सभा प्रमुख शिवाकोटी « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

मजदुर संगठन विश्वविद्यालय हो : प्रतिनिधि सभा प्रमुख शिवाकोटी


यलम्वर टाइम्स
१६ मंसिर २०७५, आईतवार १२:१५

अर्जुनधारा । क्यूपेक नेपाल प्रतिनिधि सभाका प्रमुख मनोहरि शिवाकोटीले मजदुर संगठन विश्व विद्यालय भएको बताएका छन् ।

नेपाल बिजुली, पेन्टर, प्लम्वर तथा निर्माण मजदुर युनियन (क्यूपेक) अर्जुनधारा कमिटीको तेस्रो नगर अधिवेशन उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका शिवाकोटीले उक्त कुरा बताएका हुन् ।

उनले विद्यालय, क्याम्पसबाट सैद्धान्तिक ज्ञान हाँसिल गरे पनि व्यवहारिक ज्ञान यहीबाट मिल्ने बताए ।

प्रतिनिधि सभाका प्रमुख शिवाकोटीले अगाडि भने, ‘मजदुरहरुको संगठन र त्यसका सभामा विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकहरुको भेटघाट हुन्छ । चिनजान हुन्छ । एक–अर्काको सीपको आदनप्रदान हुन्छ । तसर्थ यो एउटा विश्व विद्यालय हो ।’

कार्यक्रममा बोल्दै शिवाकोटीले खुला सीमानाका कारण आप्रवासी श्रमिकको आगमनले नेपाली श्रमिक मारमा परेको हुँदा स्थानीयलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

‘स्थानीय मजदुरहरुलाई स्थानीय सरकारले सूचिकृत गर्नुपर्छ’ शिवाकोटीले भने, ‘सूचिकृत मजदुरहरुलाई उपयुक्त तालिम प्रदान गर्दै आफ्नै क्षेत्रमा काम गर्ने वातावरण सृजना गर्नु सरकारको दायित्व हो ।’

अधिवेशनमा उपस्थित श्रमिकहरुलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिवाकोटीले मजदुरहरुको पहुँच नगरपालिकाका प्रमुख, उपप्रमुख समक्ष नपुग्ने बताउँदै मजदुरहरुको हितका लागि प्रत्येक स्थानीय तहमा श्रमिक डेक्स स्थापना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विशिष्ट अतिथि तथा क्यूपेक नेपालका केन्द्रीय उपमहासचिव अमिरकुमार लिङ्देनले मजदुरहरुका हितका लागि मुलुकमा सामाजिक सुरक्षा कोष लागू भएको बताउँदै मजदुर संगठनहरुमा आवद्ध भई त्यसको प्रत्यक्ष लाभ लिन अनुरोध गरे ।

लिङ्देनले मजदुरहरुको हितका लागि सामाजिक सुरक्षाको आवाज सर्वप्रथम क्यूपेकले उठाएको र हाल आएर त्यो कार्यान्वयनमा बताए । उनले सम्पूर्ण मजदुरहरुको समस्या एउटै भएको हुँदा सबै एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

क्यूपेक नेपाल झापा जिल्ला अध्यक्ष देवकुमार राईले सामाजिक सुरक्षा ऐन सम्पूर्ण श्रमिकहरुका लागि हितकर भएको बताउँदै उक्त ऐनभित्र प्रवेश गर्न मजदुर संगठनमा आवद्ध हुनुपर्ने बताए ।

अध्यक्ष राईले स्थानीय, प्रदेश र संघीय गरि तीनै तहमा मजदुरहरुका माग पुगेको बताउँदै त्यसलाई कार्यान्वयनमा ल्याउन बेला–बेला घचघचाउँदै गर्नुपर्ने बताए ।

कार्यक्रममा संघर्ष समितिका अध्यक्ष सन्तोष राजवंशीले आप्रवासी श्रमिक समस्या विद्यमान रहेको हुँदा त्यसलाई समाधान गर्न स्थानीय सरकार लाग्नुपर्ने बताए ।

उनले आप्रवासी श्रमिकलाई नरोके नेपाली श्रमिकहरु विस्थापित हुँदै जाने हुँदा त्यसलाई रोक्न सबै लाग्नुपर्नेमा जोड दिए ।

राजवंशीले सकेसम्म स्थानीय मजदुरलाई काम दिनुपर्ने बताउँदै यदी विदेशी श्रमिकलाई नै काम गराउनु परे श्रम इजाजत पत्र लिनुपर्ने बताए ।

क्यूपेक अर्जुनधाराका अध्यक्ष लक्ष्मण दनुवारको अध्यक्षतामा भएको कार्यक्रममा यस क्षेत्रका मजदुरहरुको बृहत उपस्थिति रहेको थियो ।

कार्यक्रममा क्यूपेकका केन्द्रीय सदस्य सुदीप राजवंशी, श्रम सम्बद्ध विभाग सदस्य रामपारस शाह, नेकपा अध्यक्ष प्रेमसागर सापकोटा, काउन नेपाल अर्जुनधाराका अध्यक्ष अशोक राई, क्यूपेक मेचीनगरका अध्यक्ष दिनेश गिरी लगायतले आ–आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा क्यूपेकका जिल्ला सल्लाहकार माया तिम्सिना, जिल्ला कमिटीका सचिव निरानन्द गिरी, जीतबहादुर कुमाल, लक्ष्मी घिमिरे लगायतको आतिथ्य रहेको थियो ।

अर्जुनधारा कमिटीका उपाध्यक्ष धनकुमार राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कृष्णबहादुर बस्नेतले गरेका थिए ।

सोही दिन नगर कमिटीको वृद्धि र विकासमा विभिन्न समयमा विभिन्न क्षेत्रबाट सहयोग पुर्याएको भन्दै विजय घोषलाई सम्मान गरिएको थियो ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि शिवाकोटी र विशिष्ट अतिथि लिङ्देनले संयुक्त रुपमा दोसल्ला ओढाई सम्मान पत्र र फूलमालाले सम्मान गरेका थिए ।

अध्यक्षमा धनकुमार

क्यूपेक नेपाल अर्जुनधारा नगर कमिटीको तेस्रो नगर अधिवेशनबाट आगमी २ वर्षका लागि धनकुमार राई अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् ।

उनको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्ष नेत्र गुरागाई, सचिवमा कृष्णबहादुर बस्नेत, सहसचिव तिलबहादुर तामाङ र कोषाध्यक्षमा धिरेन राजवंशी चयन भएका छन् ।

यसरी नै सदस्यहरुमा मित्रलाल पौडेल, पदमबहादुर खतिवडा, देवबहादुर कुमाल, मोहन लिम्बू, लोकनाथ नेपाल, लक्ष्मीमाया मगर, राधा गुरुङ रहेका छन् ।

नवनिर्वाचित समितिले सोही दिन तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ ।

सल्लाहकार समितिमा निवर्तमान अध्यक्ष लक्ष्मण दनुवारसहित सुशिला राई, भिमबहादुर राना मगर रहेको जिल्ला सदस्य जीतबहादुर कुमालले जानकारी दिए ।