अर्जुनधाराका महिला सहकारी संस्थाको आग्रह ‘हिंसा न्यूनीकरणका लागि नीति निर्माणसँगै कार्यान्वयन होस्’ « Yalambar Times
३ जेष्ठ २०८१, बिहीबार

अर्जुनधाराका महिला सहकारी संस्थाको आग्रह ‘हिंसा न्यूनीकरणका लागि नीति निर्माणसँगै कार्यान्वयन होस्’


यलम्वर टाइम्स
२४ मंसिर २०७५, सोमबार १०:५०

अर्जुनधारा । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मुलुकभर सञ्चालन भइरहेको बेला अर्जुनधारा नगरपालिका अन्तर्गतका ६ महिला सहकारी संस्थाले हिंसा न्यूनिकरणका अल्पकालिन र दीर्घकालिन नीति निर्माण गर्दै कार्यान्वयनमा जोड दिन नगरपालिकासँग आग्रह गरेका छन् ।

ऋद्धिसिद्धी महिला सहकारीकी अध्यक्ष कुसुम राई, महिला चेतनाकी अध्यक्ष निलाकुमारी दाहाल, प्रज्वलाकी अध्यक्ष निर्मला पौडेल, सहनशीलकी अध्यक्ष ज्ञानकुमारी थापा, लालीगुराँसकी मेनुका पौडेल र हाम्रो स्वावलम्वीकी अध्यक्ष खड्गमाया पराजुलीले हिंसा न्यूनीकरणसम्बन्धि विभिन्न मागसहितको ज्ञापनपत्र नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक कमला आचार्यलाई संयुक्त हिंसा बुझाउँदै उक्त आग्रह गरेका हुन् ।

ज्ञापनपत्रमा नगरका विभिन्न स्थानहरुमा सीसी क्यामेरा जडान गर्नुपर्ने, हत्याहिंसा र बलात्कारका घटना हुन नदिन विशेष ठाउँहरुको निगरानी गर्न प्रहरी गस्ती परिचालन गर्नुपर्ने, गाउँ–टोल र विद्यालयहरुमा महिला हिंसा न्यूनीकरण सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, अश्लील पोसाक लगाउनेलाई कारवाही गर्नुपर्ने, मादकपदार्थ बिक्री गर्ने र खाने कार्यको उचित व्यवस्थापन गर्नुपर्ने, महिला हिंसा न्यूनीकरणका लागि सहकारी लगायत अन्य संघसंस्थाहरुसँग सहकार्य गर्नुपर्ने, कक्षा १२ सम्म अध्ययनरत् विद्यार्थीहरुलाई मोवाइलको प्रयोगमा रोक लगाउनुपर्ने, वार्षिक कार्य योजनामा महिला हिंसा न्यूनीकरणका लागि कार्यक्रम गर्न बजेटको व्यवस्था गर्नुपर्ने लगायतका बुदाँहरु समावेश गरिएको छ ।

महिला हिंसा विरुद्धको सो ज्ञापनपत्र शनिश्चरे प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक राजन खड्कालाई पनि हस्तान्तरण गरिएको ऋद्धिसिद्धी सहकारीकी प्रबन्धक चन्द्रकला राईले जानकारी दिइन् ।

लालीगुराँसकी अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी संघ झापाका लेखा समिति संयोजक भलाकाजी कठेतको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा सहनशीलकी व्यवस्थापक पम्फा विश्वकर्मा, उपप्रमुख कमला आचार्य, सहकारी संघ झापाका सदस्य टंक बराल, सहकारी महासंघ अर्जुनधाराका अध्यक्ष प्रेमसागर सापकोटा, नेपाल रेडक्रस सोसाईटी झापाकी सदस्य सरस्वती सिटौला गोले लगायतले हिंसा न्यूनीकरणका बारेमा बोलेका थिए ।

सोही दिन महिला हिंसा न्यूनीकरणका लागि एक दिवसीय सचेतना कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

सचेतना कार्यक्रमको सहजीकरण समुन्नत नेपाल केन्द्रकी अध्यक्ष अधिवक्ता कोपिला बस्नेत र इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्णप्रसाद कोइरालाले गरेका थिए ।

ऋद्धिसिद्धीकी अध्यक्ष राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रज्वालाकी व्यवस्थापक तुलसा कुँवरले गरेकी थिइन् ।

ऋद्धिसिद्धी महिला कृषि सहकारी, महिला चेतना बहुउद्देश्यीय सहकारी, प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी, सहनशील महिला बचत तथा ऋण सहकारी, लालीगुराँस महिला कृषि सहकारी र हाम्रो स्वावलम्बी उद्यमी महिला सहकारीको संयुक्त आयोजनामा भएको कार्यक्रममा २ सयभन्दा बढीको सहभागिता रहेको थियो ।