अर्जुनधारा जेसीजको साधारणसभा सुरु « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

अर्जुनधारा जेसीजको साधारणसभा सुरु


यलम्वर टाइम्स
२७ पुष २०७५, शुक्रबार १०:४६

अर्जुनधारा । अर्जुनधारा जेसीजको सातौं साधारणसभा सुरु भएको छ ।

शुक्रबार आफ्नो भवनमा आयोजित साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि अर्जुनधारा वडा नम्वर ७ का अध्यक्ष नवराम ढुंगाना (नविन)ले युवाहरुलाई नेतृत्व सिकाउँदै सकारात्मक बाटोमा डोहोर्याउन जेसीजले खेलेको भूमिकाप्रति आफू नतमस्तक रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुंगानाले जेसीज सकारात्मक सोच राख्ने युवाहरुको संगठन भएको बताउँदै समाजिक कार्यमा जेसीज अझ उदार भएर लाग्नुपर्नेमा जोड दिए ।

सभामा विशेष अतिथि तथा महिला नेतृ सरस्वति सिटौला गोलेले अर्जुनधारा जेसीज शनिश्चरे बजारमा मात्र केन्द्रीत नभई नगरका अन्य स्थानका युवाहरुलाई पनि सरिक गराउँदै कार्यक्रम अगाडि बढाउन सुझाव दिइन् ।

कार्यक्रम अर्जुनधारा जेसीजका कार्यकारी उपाध्यक्ष टीआर गौतमको संयोजकत्व र अध्यक्ष अजयकुमार देवको सभापतित्वमा भएको थियो । जेसीजमा आवद्ध युवाहरुको उपस्थितिमा भएको कार्यक्रममा मानार्थ सदस्य चतुर्भुज काफ्ले, वीरता लेडी जेसीज वर्ष ०१८ का अध्यक्ष नम्रता रिजाल ढकाल लगायतले आ–आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा सल्लाहकार केशव खड्का, पूर्व कार्यकारी उपाध्यक्ष चन्द्र राना ‘लाफा’, शनिश्चरे–अर्जुनधारा खानेपानी तथा सरसफाई समितिका अध्यक्ष शंकर सुवेदी, महिला नेतृ चन्द्रकला भण्डारी, लीलादेवी कटुवाल, प्याव्सन अर्जुनधाराका रुद्रप्रसाद सितौला लगायतको उपस्थिति थियो ।

महासचिव देवेन्द्र मैनालीले सञ्चालन गरेको कार्यक्रममा आस्था वाचन कार्यकारी उपाध्यक्ष भास्कर भट्टराईले र स्वागत अर्का कार्यकारी उपाध्यक्ष टीआर गौतमले गरेका थिए । निर्वाचित समितिको नामावली भने शनिबारसम्ममा प्रकाशित हुने स्रोतले जनाएको छ ।

कार्यक्रममा कोषाध्यक्ष जीवन खनालले आर्थिक प्रतिवेदन र महासचिव मैनालीले सांगठानिक प्रतिवेदन पेश गरेका थिए ।