अर्जुनधारा वडा नम्वर १ मा निःशुल्क पशु स्वास्थ्य शिविर « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

अर्जुनधारा वडा नम्वर १ मा निःशुल्क पशु स्वास्थ्य शिविर


यलम्वर टाइम्स
५ जेष्ठ २०७६, आईतवार ०६:५५

अर्जुनधारा । अर्जुनधारा नगरपालिका–१ मा सञ्चालन भएको एक दिने पशु स्वास्थ्य शिविरबाट १ हजार ८ सय ९२ पशुचौपयाको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ ।

अर्जुनधारा नगरपालिकाले उक्त क्षेत्रलाई पशुपालनको पकेटको रुपमा लिर्दै आएको छ ।

वडा नम्वर १ को नमूना बजार र साधुटारमा गरी दुई स्थानबाट पशु स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।

स्थानीय किसानहरुले घरमा पालेका गाई, भैँसी, बाख्रा, गोरु, बङ्गुर, कुकुर, कुखुराको निःशुल्क स्वास्थ्य परीक्षण गराई सुविधा लिएका छन् ।

जसमा ८ सय ९३ बाख्रा, ३ सय २३ गाई र भैँसी, ७५ गोरु र राँगा, ३० बंङ्गुर, ५ कुकुर स्वास्थ्य परीक्षण तथा उपचार गरिएको थियो । १ गाईको (एआई) स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ ।

त्यस्तै, एक गाईको झन्काको अप्रेशन, ५ सय २३ पशुचौपयाको गोबर परीक्षण, ११ वटा बोकालाई बन्ध्याकरण सेवा, ७ वटा गोरुको बन्ध्याकरण सेवा सहित २३ गर्व परीक्षण र बाँझोपन उपचार सेवा प्रदान गरिएको अभियान नेपालका कर्मचारी केशव खनालले जानकारी दिए ।

हेफर इन्टरनेशनल, साहारा नेपाल, हचुमासा सामुदायिक वन, स्वाबलम्बी सहकारी संस्था र पशुपालन तथा कृषि कार्यक्रम उपभोक्ता समितिले संयुक्त रुपमा सञ्चालन गरेका शिविरमा अभियान नेपाल, हाम्रो भेटनरी सेवा सहकारीले प्राविधिक सहयोग गरेका थिए ।

भेटनरी औषधी उत्पादक कम्पनीहरु क्रमशः मेनकाईन्ड, मेडीमेट, फूलुरा हिमालयन, मेडभे्रट, क्युमेड, आर्या, डावर, लाईव कियर सहित नेपाल फर्मोसिटि औषधी समेतले सहयोग गरेका थिए ।

शिविरमा १ लाख २० हजार रुपैयाँ बराबरको औषधि किसानलाई निःशुल्क वितरण गरिएको अभियान नेपालका पूर्व अध्यक्ष प्रसाद गुरागाँईले जानकारी दिए ।

शिविरमा पशुपन्छी विकास केन्द्र भद्रपुरका डा. पशुपती ढुङ्गाना, हाम्रो भेटनरी सहकारी संस्था लि.को तर्फबाट डा.दिलिप सापकोटा, साहारा नेपालको तर्फबाट डा. विष्णु कोसुवा, कम्लेश्वर भाट, हेफर इन्टरनेशनलको तर्फबाट डा. छत्र क्षेत्रीसहितको १६ पशु स्वास्थ्य प्राविधिको टोलीले सेवा दिएका हुन् ।

शिविरमा भिएचडब्लुका ६ प्राविधिकले पनि सहयोग गरेका थिए ।

सो क्षेत्रका सयौँ घरधुरीका किसानलाई लक्षित गरी सञ्चालन गरिएको पशु स्वास्थ्य शिविरबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।

त्यस क्षेत्रका किसानलाई पशुको स्वास्थ्य उपचार तथा परीक्षणका लागि पशुपंक्षी शाखा शनिश्चरे केन्द्र पुग्न घन्टौ ब्यतित गर्नुपर्ने बाध्यता रहेको छ ।

गाउँघरमै निःशुल्क सेवा तथा पशुको उपचार गर्न पाउँदा अत्यन्तै खुसी लागेको अर्जुनधारा वडा–१ का अगुवा किसान राजेन्द्र घिमिरेले बताए ।

व्यवसायिक रुपमा वर्षोदेखि बाख्रा पाल्दै आएका घिमिरेले बाख्रा बिरामी परे औषधी उपचारका लागि एक दिनको समय बिताएर सेवा केन्द्र या अन्यत्र जानुपर्ने बाध्यता रहेको बताए ।

गाउँमा नै सञ्चालन भएको शिविरबाट थुप्रै सेवासुविधा पाएको वडाअध्यक्ष गजाधर खतिवडा बताउँछन् ।

उनी भन्छन्, ‘नजिक सेवा केन्द्र नहुँदा त्यस क्षेत्रमा पशु बिरामी हुँदा पनि तत्काल उपचार गर्न नपाउँदा अकल्पनिय क्षर्ति भइ मृत्यु हुने गरेको छ ।’

अभियान नेपाल र हेफर इन्टरनेशनलको एएएलभीसी–२ परियोजना अन्तर्गत प्रभावित र दुर्गमका किसानहरुलाई लक्षित गरेर सञ्चालन गरेको सो शिविरबाट किसानलाई ठूलो राहत मिलेको डा. छत्र क्षेत्रीले बताए ।

शिविर सम्पन्न गर्ने अर्जुनधारा वडा–१ कार्यालयको तर्फबाट ५० हजार रुपैयाँ, हेफर र अभियानले ४३ हजार रुपैयाँ साहारा नेपालको तर्फबाट १५ हजार रुपैयाँ सहित ३ जना पशु डाक्टर र २ जना प्राविधिक, हचुमासा सामुदायिक वनको तर्फबाट १० हजार रकम प्राप्त भएको बताइएको छ ।

पशुपालन तथा कृषि कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष महेन्द्रप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनधारा नगरपालिका पशुपंक्षी शाखाका अधिकृत पदमलाल राई, अभियान नेपालका हेम श्रेष्ठ, कृषि उपभोक्ता समितिका उपाध्यक्ष सुसीला गोले लगायतले बोलेका थिए ।