२०७६।०७७ को नीति तथा कार्यक्रमका लागि राजनीतिक दलहरुसँग नगरको अन्तरक्रिया « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

२०७६।०७७ को नीति तथा कार्यक्रमका लागि राजनीतिक दलहरुसँग नगरको अन्तरक्रिया


यलम्वर टाइम्स
९ जेष्ठ २०७६, बिहीबार ०९:२५

अर्जुनधारा । आगामी आर्थिक वर्ष २०७६।०७७ का लागि कस्तो नीति तथा कार्यक्रम बनाउने, आर्थिक समृद्धि हासिल गर्दै मानवीय आवश्यकता, इच्छा र आकांक्षा पूर्तिका लागि कस्ता कार्यक्रम समेट्दा नीति तथा कार्यक्रम प्रभावकारी हुन्छ ? यी र यस्तै सवालबारे सुझाव लिदैँ दिनहुँ राजनीतिक दलसहित सरोकारवाला पक्षसँग अन्तरक्रियामा यतिबेला झापाको अर्जुुनधारा नगरपालिका जुटेको छ ।

राजनीतिक दलहरुसँगको आजको भेलामा नेपाल कम्युनिष्ट पार्टीका नगर अध्यक्ष प्रेमसागर सापकोटाले निर्माणमुखी कृषिलाई व्यवसायिक कृषिमा रुपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यसका लागि माटो परीक्षण, आईपिएम पाठशालासहित प्रविधि व्यवस्थापन आवश्यक रहेको औंल्याए ।

स्वास्थ्य क्षेत्रमा प्रत्येक वडामा थेरापी केन्द्र निर्माणसहित मेसिनको व्यवस्थापन, लक्षित वर्गलाई केन्द्रमा राखी स्वास्थ्य बीमा प्रभावकारी रुपमा लागू गर्नुपर्नेमा सापकोटाले जोड दिए ।

नगर प्रमुखको सभाकक्षमा गरिएको राजनीतिक दलको सुझाव संकलनमा पूर्वाधार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, लक्षित वर्ग महिला, अपाङ्ग, बालबालिकालाई समेट्न विभिन्न पार्टीका नेतृत्वले सुझाव दिएका छन् ।

नेपाली कांग्रेसले कार्ययोजनाको दस्तावेज नै बनाएर नगर प्रमुख रानालाई हस्तान्तरण गरेको छ ।

त्यसमा नगरसहित ११ वटै वडाको नीति तथा कार्यक्रम समावेश गरिएको कांग्रेसका जिल्ला कार्यसमिति सदस्य सरस्वती सिटौलाले बताइन् ।

जसमा सभागृह, खेल मैदान, खानेपानी र सीमसार आदि क्षेत्र निर्माण गर्ने विषयहरूबमरे सुझाव दिइएको हो ।

सो अवसरमा योजना निर्माणमा कर्मण्यता, दूरद्रष्टा, रणकौशलता, सन्तुलनकारी भूमिका, नागरिकहरुको नयाँपनको अपेक्षालाई अधिकत्म सम्बोधन गर्नेगरी नगरको बजेट आउने नगरप्रमुख रानाले बताएका छन् ।

गतवर्षको भन्दा आगामी वर्ष नगरको आन्तरिक स्रोत बढेको र अझ बढाउने दिशातर्फ लागिरहेको उनको भनाई छ ।

अन्तरक्रियामा नगर उपप्रमुख कमला खतिवडा, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, नेकपा नगर सचिव राजु शेर्मा, नेपाली काग्रेसका नगर सचिव मुक्तिनाथ सुवेदी लगायतले आफ्ना भनाई राखेका थिए ।

यस्तै नगरपालिकाभित्र रहेका कृषि समूह, सहकारी संस्था तथा पशुपालक कृषकहरुले पनि आगामी आर्थिक वर्षमा कृषि र पशुको दिगो व्यवस्थापन गर्न नगरपालिकालाई सुझाव दिएका छन् ।

नगर कृषि विकास शाखाले आयोजना गरेको कृषि योजना सम्बन्धी गोष्ठीमा सहभागी कृषकहरुले त्यस्तो सुझाव दिएका हुन् ।

सो कार्यक्रममा नगर प्रमुख रानाले सहकारीलाई उत्पादनसँग जोड्ने, कृषक समूहलाई प्रधानमन्त्री सुपर जोनसँग जोड्ने कार्यक्रम विगतको प्रयास परम्परागत नीतिका कारण असफल भएको जिकिर गरेका थिए ।

तर पनि सरोकारवाला कृषक र पशुपालकको सुझाव बमोजिम नगरले नीति तथा कार्यक्रम तर्जुमा गर्ने उनले बताए ।