कञ्चनबारीमा रुखमाथि चढेर जंगली हात्ती हेर्दै « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

कञ्चनबारीमा रुखमाथि चढेर जंगली हात्ती हेर्दै


यलम्वर टाइम्स
१४ जेष्ठ २०७६, मंगलवार ०८:४४

हात्ती हेर्न रुखमाथि चढ्दै ।

कञ्चनबारी । भारत आसामबाट हुलका हुल आउने हात्ती यो वर्ष पनि बाहुनडाँगीमा देखा परेको छ ।

आसाममा बाढी, पहिरो र जंगलमा डढेलो लाग्दा नेपाल पस्ने गरेको हात्ती गत वर्ष ५० भन्दा बढी बाहुनडाँगीमा प्रवेश गरेको थियो ।

केही हात्तीहरु भारततिर लखेटिएतापनि केही हात्तीहरु जलथलको चारकोशे झाडी र अर्जुनधारा नगरपालिका पश्चिमको दहिझोडा र जुकेखाडी जंगलमा आउने जाने गरेका छन् ।

आसामबाट बाहुनडाँगीमा हात्ती प्रवेश गर्न साथ बुद्धशान्ति, अर्जुनधारा पालिकाका जनता सचेत हुनुपर्ने स्थानीयहरुको भनाइ छ ।

मंगलबार बाहुनडाँगीबाट दहिझोडा हिंडेको हात्ती अर्जुनधारा–५ कञ्चनबारी स्थित प्रेम मैनालीको उखु बगानमा बसेको छ ।

बिहान मिर्मिरे घाम हुँदै उक्त बगानमा देखिएको हात्ती हेर्नका लागि स्थानीयहरु उल्लेखीय थिए ।

केही रुखमाथि उढेर हेर्थे भने कोही खेतका डिलमा र स्थानीय घरमा चढेर हात्ती हेर्नेको संख्या निकै थियो ।

बाहुनडाँगीमा देखा परेको हात्ती ।

सवडिभिजन वन कार्यालय सुरुङ्गाका जमदार झरेन्द्र कटुवालका अनुसार एक बच्चासहित ५ वटा हात्ती रहेको छ ।

उक्त हात्तीले उपद्रो नगरोस् भनी सशस्त्र प्रहरी, जनपथ प्रहरी र वन रक्षकहरुले सुरक्षा गरिरहेका छन् ।

जमदार कटुवालका अनुसार साँझपख हात्ती आफ्नो बाटो लाग्ने भएको हुँदा होहल्ला नमच्याउन स्थानीयहरुलाई आग्रह गरेका छन् ।

हात्ती हेर्न अर्जुनधाराबाट मात्र होइन, चारपाने, बिर्तामोड क्षेत्रबाट पनि निकै आएका स्थानीयले बताए ।