गर्मीमा हुने महामारीको जोखिम उच्च, बच्न यसो गर्नुहोस् « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

गर्मीमा हुने महामारीको जोखिम उच्च, बच्न यसो गर्नुहोस्


यलम्वर टाइम्स
७ असार २०७६, शनिबार ०३:१०

[डा. पुरुषोत्तम अधिकारी, अन्तर्राष्ट्रियमैत्री बाल अस्पताल]

गर्मीयाम लागेसँगै विभिन्न सरुवा रोगहरुको संक्रमणबारे समाचार आइरहेका छन् । गर्मी महिनामा मुख्यतः पानीबाट सर्ने सरुवा रोग तथा लामखुट्टेको टोकाइबाट सर्ने रोग बढी देखिने गर्छ । यी रोगहरुबाट बच्नलाई सबैले सावधानी अपनाउन जरुरी छ ।

यी हुन् बढी देखिने रोग

गर्मी महिनामा खानेकुराहरु चाँडै गल्ने र सड्ने हुनाले फोहोर र संक्रमित खानाबाट रोगका कीटाणु मानिसमा फैलिन सक्छ । साथै प्रदुषित पानीबाट झाडापखाला, हैजा, आउँ आदि रोग सर्ने सम्भावना बढी हुन्छ । गर्मी महिनामा लामखुट्टेको प्रभाव बढ्ने हुनाले यसको टोकाइबाट मलेरिया, डेंगु, जापनिज इन्सेफ्लाइटिस आदि सर्ने सम्भावना हुन्छ ।

सर्ने माध्यम

पानीजन्य रोगहरु दूषित खानेपानी, सडेगलेको तथा झिँगा भन्केका खानेकुरा तथा प्रदुषित पानीबाट सर्ने गर्छ । लामखुट्टेको टोकाइबाट मलेरिया डेंगुलगायत रोग सर्ने गर्छन् । विशेषगरी बच्चा र वृद्धवद्धामा रोगसँग लड्ने क्षमता कम भएका कारण संक्रमित हुने सम्भावना बढी हुन्छ ।

रोगका लक्षणहरु

झाडापखाला, हैजालगायत पानीजन्य रोगबाट सर्ने रोगमा निम्न लक्षणहरु देखिन्छन्ः

– दिनको पाँच पटकभन्दा बढी पातलो दिसा हुने ।
– तारान्तर बान्ता हुने ।
– आलस्य तथा कमजोर हुने ।
– आँखा गड्ने ।
– तिर्खा लाग्ने ।
– दिसामा रगत देखिने ।
– पेट दुख्ने ।
– मुख सुक्ने ।

लामखुट्टेबाट सर्ने रोगहरुमा निम्न लक्षणहरु देखिन सक्छः

– निरन्तर ज्वरो आउने ।
– टाउको दुख्ने ।
– कमजोर हुने मांसपेशीहरु दुख्ने ।
– खान मन नलाग्ने ।

माथिका लक्षणहरु देखिएमा तुरुन्त अस्पताल गई परीक्षण गराइहाल्नुपर्छ । यस्तो रोगहरु एकजनालाई लागेपछि नजिकैको घरपरिवार वा सँगै बस्नेलाई पनि सर्ने सम्भावना भएका कारण जतिसक्दो चाँडो रोग पहिल्याएर उपचार गर्नुपर्छ ।

बच्ने तरिका

गर्मीयाममा हुने महामारबाट बच्न हामी सबैले विशेष सावधानी अपनाउन जरुरी छ । सानो हेलचेक्राइँले पनि ठूलो समस्या निम्ताउन सक्छ ।

– सकेसम्म झिँगा भन्केको, नछोपी राखेको, बासी र सडेगलेको खानेकुरा नखाने ।
– साबुनपानीले हात धोएर मात्र खानेकुरा खाने ।
– सधैँ उमालेको, फिल्टर वा सोडिस गरेको शुद्ध पानी मात्र पिउने ।
– घरबाहिरबाट आएपछि, शौचालय गएपछि साबुनपानीले राम्ररी हातखुट्टा धुने ।
– फलफूललाई सफा पानीले धोएर मात्रै खाने ।
– खानेकुरालाई राम्ररी छोपेर राख्ने । सकेसम्म ताजा खाना खाने ।
– घरवरिपरिका खाल्डाखुल्डी, लामखुट्टे बस्ने ठाउँ पुर्ने र वातावरण सफा राख्ने ।
– झुल, लामखुट्टे धपाउने धुप आदिको प्रयोग गर्ने र सकेसम्म लामखुट्टेको टोकाइबाट बच्ने ।