अर्जुनधाराबाट किसानलाई बोयार बिउ बोका वितरण « Yalambar Times
१९ बैशाख २०८१, बुधबार

अर्जुनधाराबाट किसानलाई बोयार बिउ बोका वितरण


यलम्वर टाइम्स
२८ असार २०७६, शनिबार ०३:४५

उन्नत जातको बाख्रा पाउँदा हर्षित

अर्जुनधारा । समृद्ध अर्जुनधारा निर्माणमा टेवा पुग्ने उद्देश्यले नगर क्षेत्रका ३ कृषक समूहलाई उन्नत जातका बाख्रा (बोयार बोका) वितरण गरेको छ ।

बोयार बाख्रा खदिलो र मासु पर्ने जात भएको हुँदा थोरै समयमा धेरै लाभ किसानले उठाउन सक्छन् भन्दै उक्त बाख्रा वितरण गरिएको हो ।

शुक्रबार पशुपंक्षी शाखा अर्जुनधाराले नगर परिषरभित्र चन्द्रमुखी महिला समूह अर्जुनधारा–१ खैरेनीका अध्यक्ष रत्ना बस्नेत, अर्जुनधारा–१० कालिका कृषक समूहका प्रदिप खतिवडा र अर्जुनधारा–७ को हिमचुली कृषि समूहका राजेन्द्र निरौलालाई उक्त बाख्रा हस्तान्तरण गरिएको थियो ।

खैरेनीका रत्नालाई नगर प्रमुख हरिकुमार राना, कालिकाका प्रदिपलाई उपप्रमुख कमला आचार्य र हिमचुलीका राजेन्द्रलाई प्रशासकीय प्रमुख पंकज भुर्तेलले बिउ बोका वितरण गरेका थिए ।

बिउ बोका वितरणपछि नगर प्रमुख तथा वितरण समारोहका सभापति हरिकुमार रानाले नासोको रुपमा उत्पादनका बढाउनका लागि यति महंगो बाख्रा प्रदान गरिएको छ, यसलाई फलाइफुलाई नगरको इज्जत राख्न प्राप्त गर्नेहरुलाई अनुरोध गरेका थिए ।

प्रमुख रानाले अगाडि भने, ‘नगर समृद्ध बनाउन किसानको पनि उत्तिकै साथ रहने भएको हुँदा यस्तो कार्यक्रम अगाडि सारिएको हो ।’

वितरण कार्यक्रममा लक्ष्य र उद्देश्यमाथि प्रकाश पार्दै उपप्रमुख कमला आचार्यले अगाडि भनिन्, ‘प्राप्त गरेका बोकालाई संरक्षण गर्दै किसानमाझ फैलाएर लैजानुहोस् ।’

उपप्रमुख आचार्यले किसान, मजदुर र स्थानीय सरकार एकअर्काका पुरक भएको हुँदा नगरले दिएको अनुदान सही सदुपयोग भई परिणाम आउन सके आउने साल अन्य किसान समूहलाई वितरण गर्न सकिने बताइन् ।

कार्यक्रमपछि प्राप्त गरेको बिउ बोका डोर्याउँदै चन्द्रमुखी महिला समूहकी रत्ना बस्नेतले नगरले प्रदान गरेको सहयोग आफ्नो समूहमा मात्र केन्द्रीत नभई अन्य क्षेत्रमा पनि सहयोग गर्ने बताइन् ।

वडा नं. १ बाख्रा पालनको उचित स्थान भएको हुँदा बोयार जातका बाख्रा उत्पादनमा ठूलो टेवा पुग्ने बताइन् ।

यसरी नै हिमचुली कृषि समूहका राजेन्द्र निरौला र कालिका कृषि समूहका प्रदिप खतिवडाले नगरलाई धन्यवाद दिँदै प्राप्त अनुदान ठीक ठाउँमा प्रयोग गरि उत्पादनमा ध्यान दिने बताए ।

वितरण समारोहा सबै वडाध्यक्षहरुको सहभागिता रहेको सञ्चालक पदमलाल राईले गरेका थिए ।