खुदुनाबारीमा अस्थाइ प्रहरी चौकी बस्ने « Yalambar Times
४ जेष्ठ २०८१, शुक्रबार

खुदुनाबारीमा अस्थाइ प्रहरी चौकी बस्ने


यलम्वर टाइम्स
२७ आश्विन २०७६, सोमबार ०६:५१

खुदुनाबारी । अर्जुनधारा–१, २ र ३ लाई शान्ती सुरक्षामा मध्यनजर गर्दै अस्थायी प्रहरी चौकी रहने भएको छ ।

सोमबार खुदुनाबारीको बेलटार खानेपानीको सभाकक्षमा भएको सर्वपक्षीय भेलाले तिहार अघि नै अस्थायी प्रहरी चौकी राखिनुपर्ने माग गरेका थिए ।

बढी चोरी चाकरी र बढ्दो दुव्र्यवसनीका कारण त्यसलाई न्यूनिकरण गर्न अस्थायी प्रहरी चौकी राख्न स्थानीयले माग गरेका हुन् ।

वडा नम्बर २ का अध्यक्ष रघुनाथ खनालको सभापतित्वमा भएको कार्यक्रममा प्रहरी चौकी राखिनुपर्ने कारणका विषय वडा नम्बर ३ का अध्यक्ष जीवन भण्डारीले प्रस्ट्याएका थिए ।

भण्डारीले सामान्य झगडा र चोरी डकैतीका विषयमा शनिश्चरे धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न अस्थायी प्रहरी चौकी खुदुनाबारी स्थापना गरे ठूलो राहत हुने बताए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी मोहनकुमार थापाले आजको निर्णय चाडै जिल्ला प्रहरी कार्यालयसम्म पुर्याएर जिल्ला प्रशासनमार्फत निर्णय गर्न सकियो भने तिहार अगाडि नै चौकी बस्न सक्ने बताए ।

डीएसपी थापाले प्रक्रियागत कुरा अगाडि बढाइरहँदा उपस्थित जनताले तिहार अगाडि नै चौकी स्थापना गर्न सके राहत मिल्ने एक स्वरमा भने ।

कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले खुदुनाबारीको शान्ती सुरक्षालाई ध्यानमा राख्दै १ वर्ष अघि नै इलाका प्रहरी राख्ने निर्णय भएको जानकारी दिँदै अस्थायी रुपमा चौकी राखेर जनताको सुरक्षा गर्न स्थानीय सरकार जुट्ने जानकारी दिए ।

कार्यक्रममा उपप्रमुख कमला आचार्य, प्रशासकीय प्रमुख पंकज भुर्तेल, अर्जुनधारा वन महासंघका अध्यक्ष दिव्य कट्टेल, शान्ती सामुदायिक वनका अध्यक्ष तुलसी खतिवडा लगायतले अस्थायी चौकीका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

भेलामा शनिश्चरे प्रहरी चौकीका प्रमुख पुनम चौधरी, वडा नम्बर ३ का सदस्य होम दुलाल, जानुका पराजुली, भिम चौहान, सञ्चमाया इङ्नाम लगायत स्थानीय अग्रजहरुको उपस्थिति रहेको सञ्चालक खगेन्द्र लिङ्देनले जानकारी दिए ।

सोही समयमा मदन भण्डारी राजमार्ग बन्दै जाँदा आइपर्ने समस्यालाई स्थानीय स्तरबाटै समाधान गर्न ५ बुँदे निर्णय गरिएको थियो ।