अर्जुनधारा नगरले नगरका सचेत युवाहरुलाई डोहोर्याउँदै « Yalambar Times
२९ बैशाख २०८१, शनिबार

अर्जुनधारा नगरले नगरका सचेत युवाहरुलाई डोहोर्याउँदै


यलम्वर टाइम्स
२ कार्तिक २०७६, शनिबार ०५:३८

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रका सचेत युवाहरुलाई समेटेर विभिन्न पदमा मनोनय गरेको छ ।

विहिबार नगरपालिकाको सभाहलमा नव गठित सूचना तथा सञ्चार समिति, नगर खेलकुद विकास समिति, नगर युवा परिषद समिति र नगर कला साहित्य तथा संस्कृति समितिमा नगरका युवाहरुलाई समेटेको हो ।

नगरपालिकाले विभिन्न राजनीतिक दलसँग परामर्श गर्दै नगरलाई समृद्ध नगर र सचेत नगर बनाउन उक्त समिति निर्माण गरेको जनाएको छ ।

चारै समितिको संयोजक सकुन्तला बराल, अर्जुन मेचे, सुशिला सुवेदी र होम दुलाललाई गोपनीयताको सपथ गराउँदै नगर प्रमुख हरिकुमार रानाले कला साहित्य, युवा, खेलकुद र सञ्चार बिनाको नगर समृद्ध बन्न नसक्ने भएको हुँदा आफ्नो दायित्वलाई वहन गर्दै अगाडि बढ्न सुझाव दिएका थिए ।

प्रमुख रानाले युवाको काँधमा देश आउँदै गर्दा नगरलाई शक्तिशाली र सम्पन्न बनाउन यस्ता खाले समितिले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा सूचना तथा सञ्चार समिति बाहेक आफ्ना मातहतका सदस्यहरुलाई संयोजकहरुले गोपनीयताको सपथ गराएका थिए ।

सोही दिन प्रमाणपत्र समेत नगर प्रमुखको हातबाट वितरण गरिएको थियो । प्रशासकीय प्रमुख पंकज भुर्तेल, उपप्रमुख कमला आचार्यले नवसमितिहरुलाई अविर लगाउँदै दायित्व बोध गरिदिन भनी शुभकामना दिएका थिए ।

नयाँ समितिलाई राष्ट्रिय जनमुक्ति पार्टीका दिलीप राई, नेकपाका नेता राजु शेर्माले ढिलै भए पनि नयाँ कामको थालनी भएकोमा नगरपालिकालाई धन्यवाद दिएका थिए ।

सपथ ग्रहण कार्यक्रममा नेपाली कांग्रेसका राजन खड्का, राप्रपा संयुक्तका विक्रम आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।