खुदुनाबारीमा सारेगमको साहित्यीक कार्यक्रम « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

खुदुनाबारीमा सारेगमको साहित्यीक कार्यक्रम


यलम्वर टाइम्स
९ कार्तिक २०७६, शनिबार ०६:३७

खुदुनाबारी । नजिकिदै गरेको नेपालीहरुको दोस्रो महान चाड दीपावलीको अवसर पारेर सारेगम कला केन्द्र खुदुनाबारीले खुला साहित्य गोष्ठी सम्पन्न गरेको छ ।

खुदुनाबारी स्थित जनता माविमा भएको कार्यक्रममा साहित्यकार तथा इलाम क्याम्पसका उपप्रमुख उपेन्द्र आचार्यको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा कवि कालीबहादुर थापा, संविधान सभाका सभासद् प्रेमबहादुर गिरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन समयमा वक्ताहरुले खुदुनाबारीमा लामो समय पश्चात साहित्यक कार्यक्रमको आयोजना भएकोमा आफूहरु हर्षित भएको बताए ।

यस्ता खालका साहित्यीक कार्यक्रमले मानिसमा उर्जा थप्ने बताउँदै आगामी दिनहरुमा पनि निरन्तरता पाउनु पर्नेमा उनीहरुको जोड थियो ।

अर्जुनधारा वडा नं. १, २ र ३ लाई लक्षित गरि आयोजना गरिएको गोष्ठीमा १५ जना श्रष्टाले आफ्नो रचनाहरु प्रस्तुत गरेका थिए ।

सोही अवसरमा केन्द्रले विभिन्न क्षेत्रबाट खुदुनाबारीको नामलाई बाहिर चिनाउन सफल भएको भन्दै व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

यसरी सम्मानित हुनेहरुमा नृत्यमा आकृति तामाङ, गायनमा अम्बर नेम्वाङ, तेक्वान्दो खेलाडी राजकुमार गिरी, महिला फुटबल खेलाडी रीता गजमेयर रहेका छन् ।

उनीहरुलाई प्रमुख अतिथि आचार्य, विशिष्ट अतिथिद्वय थापा र गिरीले संयुक्त रुपमा प्रमाणपत्र सहित दोसल्ला ओढाइ सम्मान गरेका थिए ।

कला केन्द्रका अध्यक्ष सन्तोष आलेको सभापतित्वमा भएको कार्यक्रमको स्वागत सल्लाहकार शिव सेडाईंले गरेका थिए भने सञ्चालन दिपक भण्डारीले गरेका थिए ।

सांगीतिक क्षेत्रमा क्रियाशिल रहेको केन्द्रले गीत, संगीत पनि साहित्यकै एउटा पाटो भएको महशुस गर्दै साहित्य कार्यक्रमको आयोजना गरिएको बताएको छ ।