आवासीय बाल गृह: अवस्था र मापदण्ड « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

आवासीय बाल गृह: अवस्था र मापदण्ड


यलम्वर टाइम्स
१९ पुष २०७६, शनिबार ०२:५१

[सुमित मगर]

पछिल्लो समय ‘अनाथ बालबालिका’ शब्दमाथि बहस शुरु भएको छ । अनाथ शब्दले बेवारिसे भन्ने अर्थ लाग्दछ । तर कुनै पनि राज्यमा बस्ने नागरिकको संरक्षक राज्य हुन्छ र राज्यले अभिभावकत्व लिएका मानिसलाई अनाथ भन्न नमिल्ने तर्क हुने गरेको छ । वास्तवमा जो मानिसको कोही हुँदैन उ सँग राज्य हुने गर्दछ र उसको जिम्मेवारी राज्यले लिने गर्दछ । तसर्थ अनाथ शब्दको सट्टामा ‘विशेष हेरचाह र संरक्षणको आवश्यकता भएका बालबालिका’ भन्नु उचित हुनेछ ।

विशेष हेरचाह र संरक्षणको आवश्यकता भएका बालबालिका भन्नाले बाबु आमा दुवै नभएका, कसैले हेरचाह नगरेका, आमाबाबुबाट त्यागिएका वा बिछोडिएका, उचित पालन पोषण नगरी हेला र दुव्र्यवहार गरिएका, शारिरीक वा मानसिक असक्तताका कारणले सक्षम नभएका, घर वा बसोबासको स्थायी ठेगान नभएकालाई बुझ्नु पर्दछ ।

नेपालमा विशेष हेरचाह र संरक्षणको आवश्यकता भएका बालबालिकाको अधिकारको सुनिश्चितता गर्न नेपालको संविधान धारा ३९ मा बालबालिकाको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको छ । जस अन्तर्गत प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने उल्लेख छ ।

जसको कार्यान्वयन नेपाल सरकार वा स्थानीय तहले प्रचालित कानून अनुसार ५ सय ३३ वटा आवासीय बालगृह सञ्चालनका लागि स्वीकृत दिएको छ । जसमध्ये प्रदेश नम्वर १ को हकमा २८ वटा बालगृह सञ्चालनमा छन् भने आवश्यक मापदण्ड अनुसार १४ वटामात्र व्यवस्थित रुपमा सञ्चालनमा रहेको तथ्याङ्कले देखाउने गर्दछ । झापाको सन्दर्भमा हेर्ने हो भने हाल ९ वटा आवसीय बालगृह सञ्चालनमा रहेका छन् । जसमा १ सय ४३ जना बालबालिकाको विशेष संरक्षण गरिएको पाइन्छ ।

यसरी प्रदेश नम्वर १ मा स्थापना गरिएका आवासीय बालगृहहरु मध्ये आधा मात्र व्यवस्थित रुपमा सञ्चालन हुनुले बालगृह सञ्चालनमा प्रश्न उठाएको छ । बालगृह सञ्चालनको न्यूनतम् मापदण्डले अन्तर्राष्ट्रिय मानव अधिकार कानून विशेष गरी बालअधिकारसँग सम्बन्धित महासन्धिहरुका व्यवस्थालाई आवासीय बालगृहमा हेरचाह वा संरक्षण पाइरहेका बालबालिकाको मानवअधिकार, उनीहरुको उच्चतम हित तथा उनीहरुको समृद्धिलाई प्रवद्र्धन गर्ने उद्देश्य राख्दछ । यसको साथसाथै यस मापदण्डले उल्लेखीत बालबालिकाको मानवअधिकारका प्रावधानहरुलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न आवश्यक संयन्त्रको विकास गर्न तथा तिनको सुदृढीकरण गर्न अनि संस्थागत स्याहारसँग सम्बन्धित ज्ञान र अनुभवको विकास गर्ने अभिप्राय राख्दछ ।

मसिना आँखाहरुले दिनरात तपाईलाई नियालिरहेका छन् । स–साना कानले तपाईका हरेक शब्द झर्न नपाउँदै टपक्क टिप्दछन् । कलिला हातहरु तपाईले गरेका हरेक काम गर्न सल्बलाई रहन्छन् र ती साना बालबालिकाले तपाई जस्तै हुने सपना बुनिरहेछन् । निर्णय आफैं गर्नुहोस् । अब तिनका लागि तपाई के गर्नुहुन्छ ?

यस मापदण्डलाई आवासीय बालगृह सञ्चालन गर्ने सम्बन्धित निकाय वा संघसंस्था समेतले व्यवहारिक ढंगबाट कार्यान्वायन गर्नु जरुरी छ । साथै बालगृहहरु सम्मान, भेदभाव रहित सर्वोत्तम हित, उच्चतम हित, संरक्षण, सर्वाङ्गीण तथा सन्तुलित विकास एवम् विचार तथा सहभागिता जस्ता आधारभूत सिद्धान्तद्वारा सञ्चालित हुने हुँदा यस्ता विषयमा ध्यान पु¥याउनु जरुरी छ ।

आवासीय बालगृह बालबालिकाको हेरचाहको अन्तिम विकल्पको रुपमा रहनु पर्दछ । जस पूर्व नै बालबालिका बालगृहमा पुग्न नपर्ने अवस्था सिर्जना गर्नु जरुरी छ । बाल अवस्था मानवीय जीवनको संवेदनशिल अवस्था हो । जुन काँचो माटो जस्तै हुन्छ । त्यसलाई जुन आकार प्रदान गरियो त्यस्तै मुर्ति बन्छ ।

‘समृद्ध नेपाल र सुखी नेपाली’ निर्माण गर्ने आधार आजका बालबालिका नै हुन् । तसर्थ आजका युवा पुस्ता, नागरिक समुदाय, सरकोकारवाल, सरकारी क्षेत्र तथा गैर सरकारी लगायतका क्षेत्रले यसप्रति चासो दिनु जरुरी छ ।

मसिना आँखाहरुले दिनरात तपाईलाई नियालिरहेका छन् । स–साना कानले तपाईका हरेक शब्द झर्न नपाउँदै टपक्क टिप्दछन् । कलिला हातहरु तपाईले गरेका हरेक काम गर्न सल्बलाई रहन्छन् र ती साना बालबालिकाले तपाई जस्तै हुने सपना बुनिरहेछन् । निर्णय आफैं गर्नुहोस् । अब तिनका लागि तपाई के गर्नुहुन्छ ? लेखक मगर अर्जुनधारा नगरपालिकामा अधिकृतको रुपमा कार्यरत रहनुहुन्छ ।

सुमित मगर