राजगढलाई गाउँ पालिकाको केन्द्र बनाउन जोड « Yalambar Times
७ जेष्ठ २०८१, सोमबार

राजगढलाई गाउँ पालिकाको केन्द्र बनाउन जोड


यलम्वर टाइम्स
११ आश्विन २०७३, मंगलवार १०:०६

sambadसुरुङ्गा / दक्षिणी झापाका राजगढबासीले स्थानीय तहको पुनर्संरचना अन्तर्गत झापाबाट प्रस्तावित बाह्रदशी गाउँपालिकाको केन्द्रप्रति असहमति जनाउँदै राजगढ केन्द्र हुनुपर्ने माग गरेका छन् ।

यसअघि आयोग समक्ष स्थानीय विकास अधिकार संयोजक रहेको समितिले चकचकीलाई सो गाउँपालिकाको केन्द्र प्रस्ताव गरेको थियो । झापाको बिर्तामोडस्थित संवाद समूहको सचिवालयमा मंगलबार भएको छलफलमा संघर्ष समितिका पदाधिकारीसहित सो क्षेत्रका विभिन्न राजनीतिक दलका नेताले भौतिक पूर्वाधार, इतिहास र अन्य दृष्टिले पनि गाउँपालिकाको केन्द्र राजगढ नै हुनुपर्नेमा जोड दिका छन् ।

उनीहरुले हाल प्रस्तावित केन्द्रलाई पुनरावलोकन गरेर सबैलाई पायक पर्ने राजगढलाई नै केन्द्र राख्न माग गरेका छन् । उक्त मागसहित राजगढबासी केही समयदेखि आन्दोलनमा रहेका छन् । उनीहरुले घेराबारी गाविसको अन्धुवा खोलापश्चिमको सम्पूर्ण भू–भागसमेत प्रस्तावित गाउँपालिकाको क्षेत्रभित्र समेट्न माग गरेका छन् ।

यसअघि घेराबारी–५ को पिन्डलबारी क्षेत्रलाई मात्र समेटेर प्रस्ताव गरिएको छ । आन्दोलनका क्रममा सम्पूर्ण कार्यक्रमलाई शान्तिपूर्ण र मर्यादित बनाउनेसमेत उनीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।

राजगढ, चकचकी, डाँगीबारी, गोलधाप र घेराबारी–५ को क्षेत्रलाई समेटेर समितिले बाह्रदशी गाउँपालिका नामाकरणसहित चकचकीलाई केन्द्र प्रस्ताव गरेको थियो । उनीहरुले नाममा समेत ऐतिहासिकताको दाबी गर्दै राजगढ नै हुनुपर्ने अडान राख्दै आएपनि त्यसमा पुनर्विचार गर्न सकिने तर केन्द्र चाहीं राजगढ नै हुनुपर्नेमा जोड दिएका छन् ।

‘भूगोल जे होस्, केन्द्र राजगढ होस्’ भन्ने नाराका साथ उनीहरु आन्दोलित छन् । हुलाकी राजमार्ग, अन्य सडक, शिक्षा, स्वास्थ्य, सुरक्षा लगायतका भौतिक पूर्वाधारको दृष्टिले र दुरीका हिसाबले पनि राजगढ मध्य भागमा पर्ने भएकाले केन्द्र राजगढलाई बनाउन प्रस्ताव गरिएको संघर्ष समितिका संयोजक देवीप्रसाद ओझाले बताए ।
छलफलमा राजगढबासीको तर्फबाट संघर्ष समिति र विभिन्न राजनीतिक दलको प्रतिनिधित्व गर्दै ओझा, रामप्रसाद दुलाल, ओमनारायण राजवंशी, रविना ढकाल, टोपेन्द्र राजवंशी, सन्देस सहनी, दिपक श्रेष्ठ, प्रेमबहादुर घिमिरे, नैनबहादुर कार्की पूजा जोगी लगायतले राजगढलाई केन्द्र नतोकिए आन्दोलन सशक्त बनाउने बताएका छन् । उनीहरुले स्थानीय तहको नामाङ्कन र केन्द्र तोक्ने अधिकार सोही ठाउँका बासिन्दालाई दिइनुपर्ने सुझावसमेत राखेका छन् ।

दुई दिन अघि प्रमुख तीन दलबीच इलाकालाई नै स्थानीय तह मान्ने सैद्धान्तिक सहमति भएको छ । सो अन्तर्गत राजगढ, घेराबारी र चकचकी गरी तीन गाविस ९ नम्बर इलाकामा पर्दछन् । उक्त सहमति कार्यान्वयन भएमा पनि राजगढ नै केन्द्र सबैलाई पायक पर्ने बताइएको छ ।

छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दिपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।