अर्जुनधारा जेसीजको नेतृत्व भास्करलाई « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

अर्जुनधारा जेसीजको नेतृत्व भास्करलाई


यलम्वर टाइम्स
५ माघ २०७६, आईतवार ०९:५१

अर्जुनधारा । अर्जुनधारा जेसीजको आठौं साधारणसभाले वर्ष २०२० का लागि भास्कर भट्टराईलाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ ।

आईतबार जेसीज भवनमा अबेरसम्म भएको साधारणसभाको बन्दसत्रले वर्ष २०२० लाई अगाडि बढाउनको लागि भट्टराईको नेतृत्वमा नयाँ समिति चयन भएको हो ।

समितिको कार्यकारी उपाध्यक्षद्वयमा राजन साम्पाङ र सुरेश थापा निर्वाचित भएका छन् भने उपाध्यक्षहरुमा प्रेम खड्का, दिपेश पनेरु, भवानी बराल र सुष्मा त्रिखत्री निर्वाचित भएको निर्वाचन आयुक्त तथा निर्वतमान अध्यक्ष अजयकुमार देवले जानकारी दिए ।

समितिलाई पूर्णता दिन कानूनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष, सचिव, सहकोषाध्यक्ष र प्रकरण निर्देशकलाई निर्वाचित अध्यक्षले मनोनय गर्ने प्रावधान बमोजिम कानूनी सल्लाहकारमा जीवन खनाललाई चयन गरिएको थियो भने बाँकी रहेको पदपूर्ति कार्यसमितिको पहिलो बैठकले गर्ने बताइएको छ ।

त्यसैगरी पहिलो बैठकबाटै सम्पूर्ण संयोजकहरुको टुंगो लगाउने नवनिर्वाचित अध्यक्ष भास्कर भट्टराईले बताए ।

साधारणसभाको उद्घाटन सत्रमा अर्जुनधारा वडा नम्वर ७ का अध्यक्ष नवराम ढुंगानाले जेसीजले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा लिएको उद्देश्य सकारात्मक भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष ढुंगानाले जेसीज युवाहरुको लागि विश्वविद्यालय भएको बताउँदै युवाहरुलाई कुलतमा फस्न नदिन लागूऔषध विरुद्धका सचेतामूलक कार्यक्रमहरु अगाडि ल्याउनुपर्ने बताए ।

कार्यक्रममा महिला नेतृ सरस्वती सिटौला गोलेले जेसीजका कार्यक्रममा सहभागि भइरहँदा केही न केही नयाँ कुराहरु सिक्न पाइने भएको बताउँदै जेसीज ज्ञानको भण्डार भएको बताइन् ।

संयोजक प्रेम खड्को संयोजकत्वमा तथा जेसीज अध्यक्ष टीकाराम गौतमको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष इन्दीवर खड्का, वर्ष ०१५ का अध्यक्ष दिपीन राई, ०१६ का अध्यक्ष सार्दूलहाङ ओली, ०१७ का अध्यक्ष प्रल्हाद ढुंगाना, सल्लाहाकार विष्णु थापा, मानार्थ सदस्य चन्द्र राना ‘लाफा’ लगायतको आतिथ्य रहेको थियो ।

अर्जुनधारा जेसीजका महासचिव भास्कर भट्टराईले सञ्चालन गरेको कार्यक्रममा आस्था वाचन उपाध्यक्ष विमला भट्टराईले गरेकी थिइन् भने स्वागत कार्यकारी उपाध्यक्ष जीवन खनालले गरेका थिए ।

निर्वाचनमा होमिनुअघि अर्जुनधारा जेसीजका विभिन्न पदका उम्मेदवारहरुलाई तालिम दिइएको थियो भने ककस कार्यक्रमको पनि आयोजना गरिएको निर्वाचन आयुक्त देवले बताए ।