पर्यटनको सम्भावना बोकेको वडा हो अर्जुनधारा–९ « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

पर्यटनको सम्भावना बोकेको वडा हो अर्जुनधारा–९


यलम्वर टाइम्स
६ माघ २०७६, सोमबार ११:३१

[त्रिविक्रम पोखरेल]

साविक शनिश्चरे गाविसका दुई वडा ३ र ९ मिलाएर शनिअर्जुन नगरपालिका वडा नं. ७ हुँदै राज्यको पुर्नसंरचनाका क्रममा अर्जुनधारा वडा नं. ९ कायम भएको हो । अर्जुनधारा वडा नंं. ९ को प्राप्त पछिल्लो तथ्याङ्क अनुसार घरधुरी संख्या १३२४ र जनसंख्या ६९६७ रहेको छ । यो वडा पूर्वमा अर्जुनधारा वडा नं. १० पश्चिममा अर्जुनधारा वडा नं. ८ दक्षिणमा अर्जुनधारा वडा नं. ८, ६ र ११ र उत्तरमा बुद्धशान्ति गाउँपालिकाको वडा नं. २ को सिमानासम्म फैलिएको छ ।

ब्राम्ह्ण, क्षेत्री, तामाङ्ग, राजवंशी, धिमाल, दमाई, कामी, राई, लिम्बू, मगर लगायत सिमान्तकृत एवम् लोपोन्मुख जातजातिहरु माझी, मेचे, लेप्चाको समेत बसोबास यस वडामा रहेको छ ।

कृषिको उर्वर थलो, शहरी सुविधा उपभोग गर्न सकिने क्षेत्र र उपयुक्त हावापानी भएकाले बसाँइसरेर आउने जनसंख्या दिनानुदिन बढ्दो छ यससँगै उर्वर कृषि भूमि घट्दो छ । यहाँ रवर, उखु, चिया, सुपारी, सब्जी खेती तथा अन्नवालिको उत्पादन हुने गर्दछ । अर्जुनधारा क्षेत्रकै व्यवसायिक अण्डा उत्पादन, कुखुराको मासु उत्पादन, बाख्रा पालन, गाईपालनको क्षेत्रको पहिचान बनाउन अग्रसर देखिन्छ अर्जुनधारा वडा नम्वर ९ ।

केही पैनी तथा ०७५÷०७६ मा निमार्ण सम्पन्न धनसिंह बाँधबाट वर्ष भरी नै लगभग ५० बिगाह जमिन सिंचित हुने गरेको छ । केही जग्गामा व्यक्तिगत र नगरपालिकाको पहलबाट सञ्चालित भुमिगत सिचाँइ प्रणलीबाट जमिन सिचिँत भएतापनि अधिंकाश खेती अझ पनि आकाशे पानीमै निभर छन् । कृषि क्षेत्र विकासका लागि सिंचाइ तथा व्यवसायिक कृषिमा किसानलाई प्रोत्साहित गर्नुपर्ने देखिन्छ ।

वडामा १५ किमि बाटो कालो पत्रे भए पनि अधिकांश बाटाहरु ग्राभल मात्र रहेका छन् । तीन वटा सामुदायिक विद्यालय, तीन वटा संस्थागत विद्यालय र तीव वटा नै गुरुकुल विद्यालयहरुले यस क्षेत्रको शैक्षिक विकासमा भूमिका खेलेका छन् । झापाकै प्रमुख पर्यटकीय गन्तव्य सुखानी सहिद स्मृति पार्कलाई काखमा सजाएर बसेको यस वडाका अन्य धार्मिक एवम् पर्यटकीय स्थलहरुमा कालिका पीठ, प्रणामी मन्दिर, हरि मन्दिर आदि रहेका छन् । जसको यथेष्ट प्रचारप्रसार र विकास गरि सिँगो वडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने सम्भाव्यता यस क्षेत्रले बोकेको छ ।

अण्डा उत्पादनको लागि एग बास्केटको गतिमा रहेको यो क्षेत्र सुन्दर चियाबारी, सुपारी बगानसँगै लगाइएका मरिच फलफुल लगायतका घुसुवावालिका कारण कृषि पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले राज्यका तीनै तहको सरकारको ध्यान आकर्षित गर्न जरुरी छ । विभिन्न धार्मिक स्थलहरु, बहुल जातजाति, भाषाभाषी तिनीहरुका विविध रहनसहनका कारण धार्मिक तथा सांस्कृतिक पर्यटनको सम्भावना उत्तिकै रहेको छ ।

पर्याप्त सिमसार क्षेत्र, कछुवा संरक्षण क्षेत्र, सालको जंगलले पर्यापर्यटनको सम्भावनालाई नकार्न सकिँदैन । सुखानी पार्क क्षेत्र होम्स्टे सञ्चालनको समेत उच्च सम्भावना बोकेको क्षेत्र हो । यसरी हेर्दा दीर्घकालिन सोच सहितमाथि चर्चा गरिएका पूर्वाधारको विकासकमा यस क्षेत्रका संस्था, बुद्धिजिवी, समाजसेवी, राजनीतिकर्मी, सरोकारवाला एवम् आम नागरिक लाग्नु पर्ने देखिन्छ ।

यससँगै दिनानुदिन बढ्दो जनसंख्या, अव्यवस्थित बसोबास त्यसबाट उल्पन्न हुने अल्पकालिन एवम् दीर्घकालिन असरहरु उर्वरभूमिको क्षयिकरण, फोहोरमैला, बढ्दो प्रदुषण, बढ्दो आवश्यकता, बढ्दो सामाजिक द्वन्द, यथेष्ट स्रोतको अभाव यस वडाका चुनौतीहरु भएकाले यस्ता चुनौतीहरुको समाधानका उपायहरुको खोजी गरि सकारात्मक सोचसहित सम्पूर्ण क्षेत्रको सहयात्रामा अर्जुनधारा–९ लाई नमूना वडाको रुपमा विकास गर्नु वर्तमानको आवश्यकता हो ।