कोरोनाको अचुक औषधि लकडाउनः प्रदेश सांसद प्रधान « Yalambar Times
४ जेष्ठ २०८१, शुक्रबार

कोरोनाको अचुक औषधि लकडाउनः प्रदेश सांसद प्रधान


यलम्वर टाइम्स
१३ असार २०७७, शनिबार ०४:५०

अर्जुनधारा, १३ असार । प्रदेश सांसद बृख प्रधानले कोरोनाको अचुक औषधि लकडाउन भएको बताएका छन् ।

शनिबार अर्जुनधारा प्रेस क्लबद्वारा आयोजित महामारी रोग सम्बन्धि सचेतनामूलक कार्यक्रमको उद्घाटन गर्दै सांसद प्रधानले उक्त कुरा बताएका हुन् ।

उनले प्राकृतिक पुजक भएर पनि हामी ठूलठूला संक्रमणबाट बचेका छौं । प्रकृतिसँगै जीउने र त्यसैसँग खेल्ने भएको हुँदा दैविक शक्ति नेपालीमा छ । त्यसैले नेपाललाई त्यति ठूलो भय हुन नसक्ने बताए ।

प्रमुख अतिथि समेत रहेका प्रधानले विगतका महामारी कोरोनाभन्दा भयानक भएर आएको थियो । यी सबै हामीले भोगेका हौं । त्यो बेला देखिने महामारीमा भकारीभित्र लुकाएर हाम्रा बाआमाले हामीलाई बचाएका हुन् । त्यसैले यो कोरोना महामारीको एउटै मात्र अचुक उपाय सुरक्षित भएर घरमा बस्नु हो ।

भयवित रुपमा देखापरेको कोरोना नेपालमा नभइ आयतित नेपालीहरुबाट भएको हुँदा सचेत रही यस विषयमा खुलेर समाचार सम्प्रेषण गर्न पछि नहट्न प्रेस क्लबलाई आग्रह गरे ।

उनले अर्जुनधाराका पत्रकारहरुको विषयमा प्रशंसा गर्दै मिहेनति र सकारात्मक समाचार सम्प्रेषण गर्ने बहाकहरु भएको बताए । आगामी दिनमा पनि सहयोग गर्दै जाने सांसद प्रधानले आश्वासन दिए ।

प्रेस क्लब अध्यक्ष कुमार भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित सहभागिलाई स्वागत उपाध्यक्ष रमेश समदर्शी राई र सञ्चालन सहसचिव रेडियोकर्मी पुष्पा जवेगुले गरेकी थिइन् ।

कार्यक्रमको दोस्रो सत्रमा पत्रकार महासंघ झापाका सभापति तारामणि सापकोटाले जनता फेसबुकका समाचारलाई भन्दा सञ्चार गृहबाट प्रकाशित समाचारलाई बढी विश्वास गरेको हुँदा पत्रकारहरुले गहिराइमा गएर समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।

त्यसो त फेसबुकमा आएका गतिविधिलाई सोसाल मिडियाको रुपमा सञ्चार गृहले पनि लिनुपर्ने, त्यो भन्दा बढी उत्तरदायि भएर तथ्यमा नपुगेसम्म सोसल मिडियालाई मात्र भर लिनु नहुनेमा जोड दिए ।

कोरोनाका कारण जनतामा भाकमरी जस्ता संकट देखापर्दै छ । ग्रामिण पत्रकारिता गर्नेहरु बढी उत्तरदायि हुनुपर्नेमा जोड दिँदै चुल्हो निभ्न दिँदैनौं भन्ने सरकारहरु तीन महिनायता चुप लागेर बस्नुको रहस्य के हो ? त्यस विषयमा खोजी गर्नुपर्ने बताए ।

कार्यक्रममा कोरोना रोग सम्बन्धि जानकारी दिन जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लगाईको समेत उपस्थिति रहने क्लबका अध्यक्ष कुमार भट्टराईले यलम्वर टाइम्सलाई बताए ।

कार्यक्रम शनिश्चरे बजार स्थित दलित, महिला, आदिवासी जनजाति सामुदायिक भवनमा भएको थियो ।