पीसीआर परीक्षण प्रयोगशालाका लागी शिखर साकोसको ५१ हजार « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

पीसीआर परीक्षण प्रयोगशालाका लागी शिखर साकोसको ५१ हजार


यलम्वर टाइम्स
१६ असार २०७७, मंगलवार ११:५९

बिर्तामोड, असार १६ । सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा झापामा स्थापना हुन लागेको पीसीआर परीक्षण प्रयोगशालाका लागी बिर्तामोड–५ मा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले ५१ हजार रुपैयाँ प्रदान गरेको छ ।

शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र राउतले ‘एकका लागि एक’ अभियानका सहसंयोजक विनोद बस्नेतलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

पछिल्लो समय झापामा कोरोना संक्रमितको संख्या बढीरहेकाले कोरोना भाइरसको संक्रमण परीक्षण गर्न ‘एकका लागि एक’ अभियानको अगुवाईमा कोरोना संक्रमण परिक्षण गर्न नागरिकस्तरबाट झापामा स्थापना हुन लागेको पीसीआर परीक्षण प्रयोगशालाका लागि उक्त रकम प्रदान गरिएको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले बताए ।

उनले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरिएको बताउँदै कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनमा कोहीपनि भोकै बस्नु नपरोस् भनेर बिर्तामोड नगरपालिकाको कोरोना कोषमा एक लाख ६१ हजार, अर्जुनधारा नगरपालिकालाई ५१ हजार, बाह्रदशी गाउँपालिकालाई ८८ हजार गरी तीन लाख रुपैयाँ प्रदान गरिएको जानकारी दिए ।

कार्यक्रममा ‘एकका लागि एक’ अभियानको साझेदार संस्था बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालले ‘एकका लागि एक’ अभियानको अगुवाईमा झापामा स्थापना हुन लागेको पीसीआर परीक्षण प्रयोगशालाका लागि शिखर बचत तथा ऋण सहकारी संस्थाले गरेको सहयोगको प्रशंसा गरेका थिए ।

कार्यक्रममा ‘एकका लागि एक’ अभियानमा साझेदार संस्थाका प्रतिनिधिहरु बिर्तामोड उद्योग वाणिज्य संघका सञ्जिव घिमिरे, झापा जिल्ला सहकारी संघकी व्यवस्थापक सञ्जु देवान राईको आतिथ्य रहेको थियो ।

त्यस्तै शिखर बचत तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष ऐश्वर्या पाण्डे, सचिव हिमालय प्रसाईं, सहसचिव तारा खतिवडा, कोषाध्यक्ष विजय चापागाईं, लेखा समितिका संयोजक अर्जुन चापागाईं, सदस्यहरु किरण थापा, विज्ञान खड्का, मदन विश्वकर्मा, व्यवस्थापक लिलानाथ रेग्मी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा ‘एकका लागि एक’ अभियानका सहसंयोजक विनोद बस्नेतले ‘एकका लागि एक’ अभियानको अगुवाईमा कोरोना संक्रमण परिक्षण गर्न नागरिकस्तरबाट झापामा स्थापना हुन लागेको पीसीआर परीक्षण प्रयोगशालाका लागि देश विदेशबाट सहयोग जुट्ने क्रम बढीरहेको बताए ।

पीसीआर परीक्षण प्रयोगशालाका लागि हालसम्म ९० लाख रुपैयाँभन्दा बढी रकम जुटेको बताउँदै उनले शिखर बचत तथा ऋण सहकारी संस्थाले रकम प्रदान गरेकोमा धन्यवाद दिएका थिए ।

एक करोड २० लाख रुपैयाँभन्दा बढीको लागतमा अत्याधुनिक पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन हुने सहसंयोजक बस्नेतले बताए ।

सरकार–समुदाय–सहकारीबीच साझेदारीको नमूनाको रुपमा साउन १ गतेबाट पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन हुने गरी सम्पूर्ण तयारी पूरा गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरिने ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसँगको बैठकको निर्णय अनुसार कनकाईको कोटीहोमस्थित समर्पण भवनमा ‘एकका लागि एक’ अभियानको अगुवाईमा सरकारी मापदण्ड अनुसारको पीसीआर परीक्षण प्रयोगशाला स्थापना हुने उनले बताए ।

मेची अञ्चल अस्पतालको मातहतमा रहने गरी पीसीआर परीक्षण प्रयोगशालाका लागि अनुमति, व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भने प्रदेश सरकारले लिने सहमति भइसकेको र उक्त कार्यका लागि सम्पूर्ण प्रक्रिया अगाडि बढाउँदै तत्काल आवश्यक काम पूरा गरी प्रदेश सरकारलाई पीसीआर परीक्षण प्रयोगशाला हस्तान्तरण गरिने उनले बताए ।

‘एकका लागि एक’ अभियान संवाद समूह झापाको संयोजन र सहजीकरणमा सञ्चालन भइरहेको बताइएको छ ।