कोरोना परीक्षण प्रयोगशालाका लागि सहयोग जुट्दै « Yalambar Times
४ जेष्ठ २०८१, शुक्रबार

कोरोना परीक्षण प्रयोगशालाका लागि सहयोग जुट्दै


यलम्वर टाइम्स
३० असार २०७७, मंगलवार ०९:३२

बिर्तामोड, ३० असार । सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघ–संस्थाको सहभागितामा शुरु गरिएको एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट झापाको सुरुङ्गा कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना हुन लागेको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशालाका लागि बिर्तामोडका पाँच जना सामाजिक तथा धार्मिक व्यक्तित्वले रकम प्रदान गरेका छन् ।

बिर्तामोडमा सोमबार आयोजित कार्यक्रममा बिर्तामोड–२ का श्याम प्रसाईं (एसपी), बिर्तामोड–३ का भक्ति गौतम, बिर्तामोड–१ का कमल बाँस्कोटा, बिर्तामोड–१ का कमल चुडाल र निरज चुडालले रकम प्रदान गरेका हुन् ।

कार्यक्रममा श्याम प्रसाईं (एसपी)ले २५ हजार नौ सय ९९ रुपैयाँ, भक्ति गौतमले २५ हजार एक सय रुपैयाँ, कमल बाँस्कोटाले ११ हजार, कमल चुडालले पाँच हजार र निरज चुडालले पाँच हजार रुपैयाँ एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरी, सहसंयोजक विनोद बस्नेत, अभियानका साझेदार संस्थाका सदस्यहरु कुमार भट्टराई, सजेश शिवाकोटी, अर्जुन चुडाल, मिजाश पोखरेल लगायतलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा रकम प्रदान गर्दै दाताहरुले मुलुकमै पहिलो पटक एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट झापाको सुरुङ्गा कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशाला स्थापना हुनु झापावासीका लागी गौरवको विषय भएको बताए ।

कार्यक्रममा एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेतले स्वागतसहित अभियानको उद्देश्यमाथि प्रकाश पार्दै दाताहरुले गरेको सहयोगको सराहना गरेका थिए ।

उनले ‘एकका लागि एक’ अभियानमा हालसम्म देश तथा विदेशका ७० संघसंस्था र एक हजार एक सय व्यक्तिबाट सहयोग प्राप्त भएको बताउँदै पीसीआर परीक्षण प्रयोगशालाका लागि हालसम्म एक करोड १५ लाख रुपैयाँ जुटिसकेको जानकारी दिए ।

त्यसैगरी ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीले सरकार–समुदाय–सहकारीबीच साझेदारीको नमूनाको रुपमा सुरुङ्गा कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनका लागि भौतिक संरचना तयार भइरहेको बताए ।

उनले कोरोना भाइरस परीक्षण गर्ने पीसीआर परीक्षण प्रयोगशाला साउन १५ गतेबाट सञ्चालनमा आउने तयारी गरिएको र त्यसका लागि पीसीआर परीक्षण मेसिन तथा प्रयोगशालाका लागि आवश्यक अन्य उपकरणका खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

कार्यक्रमको सञ्चालन पत्रकार तुलसीप्रसाद निरौलाले गरेका थिए ।