शनिश्चरेमा अस्ट्रिज चरा हुर्किदै « Yalambar Times
६ जेष्ठ २०८१, आईतवार

शनिश्चरेमा अस्ट्रिज चरा हुर्किदै


यलम्वर टाइम्स
५ श्रावण २०७३, बुधबार १०:१९

शनिअर्जुन / झापाको शनिअर्जुनमा ७ जना किसानले व्यावसायिक रुपमा आस्ट्रिज चरा पाल्न शुरु गरेका छन् । शनिअर्जुन–७ प्रणामी टोलमा उनीहरुले सञ्चालन गरेको ‘झापा आस्ट्रिज कृषि फार्म’ मा हाल ३० वटा आस्ट्रिज हुर्किरहेका छन् ।

111
धरतीकै ठूलो चरा मानिएको आस्ट्रिज एक बर्षमा एक सय किलोग्राम तौलको हुने फार्मका सञ्चालक विष्णु सङ्ग्रौला बताउनु हुन्छ । फार्ममा अहिले चार महिनाको चल्ला अवस्थामा आस्ट्रिज हुर्किरहेका छन् । तिनको एउटाको तौल २५ किलोग्रामको भइसकेको छ ।
मासु उत्पादनका लागि व्यवसायिक रुपमा आस्ट्रिज पालिएको भए तापनि यतिबेला चरा हेर्न आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
दिनहुँ ५० भन्दा बढी मानिस चरा हेर्न आउने गरेको सङ्ग्रौला बताउनु हुन्छ । चरा हेर्नका लागि एक व्यक्तिले २० रुपैयाँको टिकट खरिद गर्नु पर्ने फार्मले नियम लगाएको छ ।
३५ लाख रुपैयाँको लगानीमा थालिएको आस्ट्रिज फार्म २ विगाहा जग्गामा फैलिएको छ । जसमध्ये ६ कठ्ठा जग्गामा फलामे तारले घेराबेरा गरेर आस्ट्रिज राखिएका छन् ।
रुपन्देही जिल्लाबाट एउटा चल्लाको ६० हजार रुपैयाँका दरले किनेर आस्ट्रिज ल्याएको बताउँदै सञ्चालक सङ्ग्रौलाले भविष्यमा ६० वटा आस्ट्रिज थप्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
फार्ममा डेढ विगाहा जग्गामा आस्ट्रिजको आहाराका लागि जोइन भेज लगायतका घाँस रोपिएको छ । आस्ट्रिजले घाँस, मकैको दाना, चुन ढुङ्गा र माटो आहाराको रुपमा खाने गर्छ । दिउँसो रुखको छायाँमा बस्न र छिनछिनमा पखेटा फट्फटाएर दगुर्न रुचाउने यसको घिच्रो लामो र लचकदार छ । एउटा चराले दिनमा डेढ किलोसम्म आहार खाने गरेको फार्म सञ्चालकहरु बताउँछन् । पाइपबाट पु¥याइने पानीमा नुहाउन यो चराले मन पराउने गरेको छ ।
झापामा खुलेको यो पहिलो आस्ट्रिज फार्म हो । हालसम्म सरकारी अनुदान नपाइएको सञ्चालकहरु बताउँछन् । प्रति किलोग्राम २ हजार ५ सय रुपैयाँसम्ममा आस्ट्रिजको मासु विक्री हुने बताइएको छ ।