एनआरटीलाई हराउँदै मनाङ मस्याङदी अन्तिम चारमा « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

एनआरटीलाई हराउँदै मनाङ मस्याङदी अन्तिम चारमा


यलम्वर टाइम्स
२० माघ २०७३, बिहीबार १२:१७

Jhapa goldcupबिर्तामोड / काठमाडौँको न्यू रोड टिम (एनआरटी)लाई हराउँदै मनाङ मस्र्याङदी क्लब झापाको बिर्तामोडमा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।

डोमालाल राजवंशी रङ्गशाला बिर्ताबजारमा जारी मोफसलको सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा मनाङले एनआरटीलाई ४–० गोलअन्तरले हराउँदै अन्तिम चारमा पर्न सफल भएको हो । अब सेमिफाइनलमा मनाङको भेट शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग हुनेछ ।

६ जना राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको मनाङले सुरुवातदेखि नै खेल आफ्नो पकडमा राखेको थियो । एनआरटीले रक्षात्मक खेल प्रदर्शन गर्न खोजे पनि मनाङ आक्रमक रुपमा प्रस्तुत भयो । मनाङले खेलको २५ औँ मिनेटमा गोलको खाता खोलेको हो । विदेशी खेलाडी ओलावालेको पासमा निराजन मल्लले गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाए ।

त्यसको २ मिनेटलगत्तै अर्थात खेलको २७औँ मिनेटमा मनाङका लागि दोस्रो गोल सुशील लामाले गरे । उनले ओलावालेकै पासमा गोल गर्दै अग्रता दोब्बर पारेका हुन् । ३४औँ मिनेटमा निराजन मल्लले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा मनाङको अग्रता ३–० पारे । सुशील लामाले डी एरियाभित्र मिलाइदिएको पास ओलावालेले छोडे पनि निराजनले आकर्षक ढङ्गले जाली चुमाए ।
दोस्रो हाफमा पनि मनाङको गोल गर्ने क्रम रोकिएन । खेलको ५९औँ मिनेटमा ओलावालेले गोल गर्दै ४–० को जीत सुनिश्चित गरे । विशाल राईको पासमा ओलावालेले शानदार गोल गरेका हुन् । यसअघि खेलको २०औँ मिनेटमा मनाङका सुजल श्रेष्ठको फ्रि–किक बार माथिबाट बाहिरिएको थियो । ३० औँ मिनेटमा एनआरटीका प्रविन गुरुङको कडा प्रहार बाहिरियो । ३१औँ मिनेटमा मनाङका ओलावालेको प्रहार एनआरटीका गोलरक्षक सन्देश गुरुङले बचाउ गरे ।

यसअघि एनआरटी र मनाङ मस्र्याङदीको पछिल्लो भेट राष्ट्रिय लिग फुटबल प्रतियोगितामा भएको थियो । बिहीबारको खेलको म्यान अफ द म्याच मनाङका खेलाडी रोहित चन्द घोषित भए । उनलाई म्याप्स हाउजिङ प्रालिका तर्फबाट अञ्जनी सङ्ग्रौलाले नगद ७ हजार रुपैयाँ प्रदान गरे । त्यसैगरी बिर्तामोडस्थित एक्सपर्ट एजुकेशन एण्ड भीसा सर्भिसले लक्की ड्रमार्फत दर्शकमध्येका एक केशवकुमार आचार्यलाई एक्सपर्ट फ्यान अफ द डे घोषणा गर्दै नगद ५ हजार प्रदान ग¥यो ।

प्रतियोगिताअन्तर्गत शुक्रबारबाट सेमिफाइनल संस्करण सुरु हुँदैछ । शुक्रबारको पहिलो सेमिफाइनल खेलमा आयोजक टोली झापा–११ र हिमालयन शेर्पा क्लब काठमाडौँबीच भिडन्त हुने आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए । घरेलु टोली झापा–११ बलियो टोली हो । घरेलु दर्शकको भरपुर समर्थन पाउने झापा–११ हिमालयनलाई हराउँदै अन्तिम दुईमा पुग्ने लक्ष्यसहित मैदान उत्रनेछ । झापा ११ का लागि कप्तान प्रवेश कटुवालसँगै ‘गोल मेसिन’ कर्ण लिम्बू, देवेन्द्र तामाङ, दिलेन लोक्ताम, सञ्जोग राई, लगायतका खेलाडी मैदानमा देखिनेछन् ।

उता राष्ट्रिय खेलाडीले भरिएको हिमालयन शेर्पामा भने हेमन गुरुङ, निराजन खड्का, निशान लिम्बू, भूपाल गुरुङ, सुनिल बल लगायतका खेलाडी हेर्न लायकका हुनेछन् । यी दुई टोलीबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।
एक विदेशीसहित १० टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले नगद सात लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले नगद तीन लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।