झापा गोल्डकपको उपाधि मनाङलाई « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

झापा गोल्डकपको उपाधि मनाङलाई


यलम्वर टाइम्स
२४ माघ २०७३, सोमबार ११:५३

Jhapa-Logo-520x245बिर्तामोड / मोफसलकै सर्वाधिक पुरस्कार राशिको दोस्रो रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा सोमबार सम्पन्न फाइनल भिडन्तमा मनाङले आयोजक टोली झापा–११ लाई १–० गोलअन्तरले पाखा लगाउँदै उपाधि चुमेको हो । जीतसँगै मनाङले नगद सात लाख रुपैयाँ हात पा¥यो । उपविजेता बनेको झापा–११ ले नगद ३ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । झापा–११ अघिल्लो पटकको झापा गोल्डकपमा पनि उपविजेता बनेको थियो ।

यी दुई टोलीबीचको फाइनल खेल अत्यन्तै प्रतिस्पर्धात्मक बन्यो । यद्दपि, झापाले पाएका अवसरहरु सदुपयोग गर्न नसक्दा पराजय बेहोर्नु प¥यो । खेलको पहिलो हाफ भने गोलरहित बराबरी भएको थियो । यो सिजनकै सशक्त टोली मानिएको मनाङ खेलको सुरुवाती १५ मिनेट निकै आक्रमक बन्यो । खेलको १५ मिनेटपछि लयमा फर्किएको घरेलु टोली झापाले त्यसपछि पहिलो हाफभरि मनाङलाई दवावमा राख्यो ।
दोस्रो हाफमा दुबै टोली झन शसक्त बने । खेलको ६३औँ मिनेटमा मनाङका ओलावालेले गोलको खाता खोले । निराजन मल्लले प्रहार गरेको बल झापाका गोलरक्षकबाट फुत्किएपछि ओलावालेले जाली चुमाएका हुन् । त्यही एउटा गोल नै मनाङका लागि निर्णायक बन्यो ।

खेल अवधिभर दुबै टोलीले गोल गर्ने सुन्दर अवसरहरु खेर फालेका थिए । खेलको १५औँ मिनेटमा झापाका स्ट्राइकर कर्ण लिम्बूले गरेको हेड पोष्टबाट बाहिरियो । रञ्जित श्रेष्ठको फ्रि–किकमा कर्णले हेडमार्फत गोल गर्न खोजेका थिए । १७ औँ मिनेटमा मनाङका कप्तान सुजल श्रेष्ठको लामो प्रहार बाहिरियो ।

१९औँ मिनेटमा मनाङका विदेशी खेलाडी ओलावाले पेनाल्टी भित्रबाट प्रहार गरेको बल झापाका गोलरक्षक एलन न्यौपानेले बचाए । ३२ औँ मिनेटमा झापाका कप्तान कर्णको प्रहार बाहिरियो । उनलाई सञ्जोग राईले लामो पास मिलाइदिएका थिए । ३९ औँ मिनेटमा झापाका खेलाडी रजिन धिमालको कडा फ्रि–किक मनाङका गोलरक्षक दिनेश थापाले बाहिर ठेलिदिए । ४३ औँ मिनेटमा झापाका लागि विदेशी खेलाडी मार्टिनको प्रहार मनाङका गोलरक्षक थापाले विफल पारे ।

दोस्रो हाफको ८औँ मिनेटमा झापाका सञ्जोग राईको पहारले सही दिशा लिन सकेन । १३औँ मिनेटमा मनाङका निराजन मल्लको प्रहार बाहिर गयो । १६ औँ मिनेटमा मनाङका कप्तान सुजलले प्रहार गरेको बल झापाका गोलरक्षक एलन न्यौपाने बिट भइसक्दा पनि पोलमा लागेर फर्कियो । दोस्रो हाफको २७ औँ मिनेटमा झापाका कर्णले पेनाल्टी बक्स भित्रबाट प्रहार गरेको बल मनाङका गोलरक्षक दिनेश थापाले समाए । दोस्रो हाफका ४२ औँ मिनेटमा झापाका रञ्जित श्रेष्ठको प्रहारले सही दिशा लिन नसक्दा झापाले १–१ गोलको बराबरी गर्ने मौका गुमायो ।
खेलमा रेफ्रि लव खत्रीले मनाङका कप्तान सुजल श्रेष्ठ, ओलावाले र सुशील लामालाई पहेँलो कार्ड देखाए । सेमिफाइनलमा मनाङले डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई घर फर्काउँदै फाइनलमा आयोजक टोली झापा ११ सँगको भेट पक्का गरेको थियो । हिमालयन शेर्पालाई पन्छाउँदै घरेलु टोली झापा–११ अन्तिम फाइनल पुगेको थियो ।

गत वर्षको झापा गोल्डकपको सेमिफाइनलमा भने मनाङ आर्मीसँगै पराजित भएको थियो । यसअघि झापा र मनाङको भेट ६ पटक भएको थियो । जसमा मनाङले ४ र झापाले २ खेल जितेको रेकर्ड छ ।

फाइनल खेलको खेलको म्यान अफ द म्याच मनाङका निराजन मल्ल घोषित भए । उनलाई म्याप्स हाउजिङ प्रालिका तर्फबाट अञ्जनी सङ्ग्रौलाले नगद ७ हजार रुपैयाँ प्रदान गरे । त्यसैगरी बिर्तामोडस्थित एक्सपर्ट एजुकेशन एण्ड भीसा सर्भिसले लक्की ड्रमार्फत दर्शकमध्येका दुईजना प्रशुल मगर र भूपाल राईलाई एक्सपर्ट फ्यान अफ द डे घोषणा गर्दै नगद ५ हजार प्रदान ग¥यो ।

प्लेयर अफ द टुर्नामेन्ट मनाङका रोहित चन्द घोषित भए । उनले सयपत्री ट्रेड लिङ्क बिर्तामोडका तर्फबाट यामाहाको मोटरसाइकल प्राप्त गरे । हाइ स्कोरर बनेका झापाका कर्ण लिम्बू र देवेन्द्र तामाङले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट डिफेन्स झापा ११ का देवेन्द्र तामाङ घोषित भए । उनलाई हिकोला हेरिटेजका देविभक्त श्रेष्ठले नगद १५ हजार प्रदान गरे । उत्कृष्ट मिडफिल्डर झापा ११ का रञ्जित श्रेष्ठ घोषित भए । उनलाई महेन्द्र गुजराज ट्रयाक्टरका तर्फबाट नगद १५ हजार प्रदान गरियो । उत्कृष्ट गोलरक्षक झापा ११ का एलन न्यौपाने घोषित भए । उनलाई पावर टेक मम्प्युटरका तर्फबाट १५ हजार ६ सय बराबरको एन्ड्रोइड मोवाइल प्रदान गरियो । उत्कृष्ट प्रशिक्षक मनाङका छिरिङ लेप्चा बने ।

समापन कार्यक्रममा रेफ्रिहरु लव खत्री, प्रकाशनाथ श्रेष्ठ, रोजिन श्रेष्ठ, श्याम दनुवार, प्रदीप बस्नेत, श्रीराम रञ्जितकार, म्याच कमिस्नर केशवराज दाहाल र म्याच कोअर्डीनेटर सञ्जिव मिश्रलाई प्रमाणपत्र प्रदान गरियो ।

प्रतियोगितामा एक विदेशीसहित १० टिमको सहभागिता थियो । आयोजक रमपम झापा ११, मनाङ मस्र्याङ्दी क्लब, विभागीय टोलीहरु नेपाल पुलिस क्लब, एपीएफ र त्रिभुवन आर्मी, न्युरोड टिम, हिमालयन शेर्पा क्लब, रुपन्देही ११ फुटबल क्लब, सुदुरपश्चिम फुटवल क्लब र भारतको शेर फुटबल क्लबले प्रतियोगितामा सहभागिता जनाएका थिए ।