२८ औं वार्षिक सभामा जुकेखाडी सामुदायिक वनको प्रशंसा र सुझाव « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

२८ औं वार्षिक सभामा जुकेखाडी सामुदायिक वनको प्रशंसा र सुझाव


यलम्वर टाइम्स
२३ मंसिर २०८०, शनिबार ०१:०१

अर्जुनधारा । अर्जुनधारा–३ स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको २८ औं वार्षिकोत्सव एवम् आम उपभोक्ता भेला बुधबार सम्पन्न भएको छ ।

समूहको कार्यालय प्राङ्गणमा अध्यक्ष झरीन्द्रकुमार खड्काको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले उद्घाटन गरेका थिए । उद्घाटनका क्रममा भण्डारीले सामुदायिक वनले गरेको प्रगति र वनको संरक्षण भावि सन्ततिका लागि उपयोगी भएको बताएका छन् ।

प्रमुख अतिथि समेत रहेका भण्डारीले पञ्चायतले सामुदायिक वनलाई तहसनहस पारिरहेको बेला सामुदायिक वन स्थापना पछि वनको क्षेत्रफल बढेको हुँदा सामुदायिक वनप्रति सरकार उदासिन नहुन अनुरोध गरे ।

जिल्ला डिभिजन वन कार्यालयले विभिन्न झन्झट र दुःख दिने गरेको कारण सामुदायिक वनको प्रगतिमा अवरोध आएको बताउँदै समूहद्वारा सञ्चालित सामुदायिक वनलाई अझ प्रभावकारी बनाउन सरकारको ठूलो हात हुने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि संविधान सभाका सदस्य प्रेमबहादुर गिरीले जुकेखाडी सामुदायिक वनको प्रगतिप्रति शुभकामना दिँदै समूह र सामुदायिक वन हितका लागि नयाँ आउने समिति चुस्त दुरुस्त हुनुपर्ने बताए ।

कार्यक्रममा कनकाई डिभिजन वनका नथुनी गैवार यादवले ऐन र विधिलाई समातेर नयाँ कार्य समिति निर्माण गर्न सुझाव दिँदै जुकेखाडीले गरेको कामप्रति शुभकामना दिएका थिए ।

कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष सीताराम भट्टराईले समूहसँग साझेदारीमा काम गर्न वडा तयार रहेको बताउँदै कैदले पर्यापर्यटनलाई प्रभावकारी बनाउन आफूले सहयोग गर्ने बताए ।

नेकपा माओवादीका प्रतिनिधि नारायण पौडेलले वैज्ञानिक रुपमा सामुदायिक वनलाई हाक्न अझै धेरै काम रहेको प्रतिक्रिया दिए । पूर्व उपाध्यक्ष समेत रहेका पौडेलले सामुदायिक वनले अतिरिक्त आयस्रोतको खोजी गर्नुपर्ने, हात्तीको आक्रमणबाट आक्रान्त भएको यस क्षेत्र उपभोक्तालाई बचाउन सरकारसँग सम्वाद गर्नुपर्ने जस्ता विचार राखेका थिए ।

नेकपा एमालेका प्रतिनिधि लोकमान श्रेष्ठले सालैपिछे ऋण बढ्नुले संस्था धरासायीमा जाने सुझाव दिँदै सामुदायिक वनबाटै आय स्रोतका माध्यम विज्ञमार्फत खोजी गरिनुपर्ने बताए ।

पूर्व उपप्रमुख कमला आचार्यले महिला सशक्तिकरण र विकासका काममा समूहले गरेको काम प्रति प्रशंसा गरे ।

पूर्व वडाध्यक्ष जीवकुमार भण्डारीले सालका पाटबाट टपरा बुनेर आय स्रोतको बाटो सिर्जना गर्नुपर्ने सुझाव दिए । उद्योग वाणिज्य संघ अर्जुनधाराका अध्यक्ष इन्दिवर खड्काले सामुदायिक वनले फर्निचर उद्योग र पर्यटन प्रवद्र्धनका लागि गरेको कामप्रति शुभकामना दिएका थिए ।

कार्यक्रममा समूहका अध्यक्ष खड्काले संस्थाको गत आर्थिक वर्ष ०७९÷०८०को वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै समूहलाई आइपर्ने समस्या र समाधानको बाटोहरु प्रस्तुत गरेका थिए भने विकासका काममा समूहले गर्ने थुप्रै कामहरु प्रस्तुत गरिएको थियो ।

पर्यटन उपाध्यक्ष शुक्रराज दुलाल ‘दीपक’ले समूह अन्र्तगत रहेको कैदले पर्यापर्यटन केन्द्रको प्रगति प्रतिवेदन, लेखा समितिका संयोजक शंकर घिमिरेल आन्तरिक लेखा परीक्षण प्रतिवेदन, कोषाध्यक्ष मनिला जवेगु लिम्बूले चालु आर्थिक वर्ष ०८०÷०८१को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा तीन करोड ६० लाख ६८ हजार नौ सय ६८ रुपैयाँ २२ पैसा बराबरको आर्थिक कारोबार गरेको संस्थाले चालु आर्थिक वर्षमा अनुमानित तीन करोड ६५ लाख १६ हजार तीन सय ७८ रुपैयाँ १० पैसा बराबरको बजेट कार्यक्रममा पेश गरिएको थियो ।

जसअनुसार अन्य खर्चतर्फ ९७ लाख १८ हजार पाँच सय एक रुपैयाँ, गरिबी न्यूनिकरणतर्फ ८८ लाख ८० हजार रुपैयाँ, वन विकासतर्फ ६१ लाख ८० हजार पाँच सय रुपैयाँ, प्रशासनिकतर्फ ३८ लाख ५३ हजार पाँच सय रुपैयाँ, कैदले पर्यापर्यटन साझेदारी कार्यक्रमतर्फ ३१ लाख रुपैयाँ, वन पैदावार संकलन एवम् भुक्तानीतर्फ २४ लाख ६३ हजार एक सय ७७ रुपैयाँ १० पैसा, फर्निचर निर्माणतर्फ २० लाख ६० हजार सात सय रुपैयाँ, सामुदायिक विकासतर्फ दुई लाख रुपैयाँ, ट्रयाक्टर सञ्चालनतर्फ ६० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी कार्यक्रममा समूहका संस्थापक उपाध्यक्ष गोविन्द सुवेदी, पूर्व सहसचिव सुरेन्द्र कार्की, पूर्व कोषाध्यक्ष निर्मला घिमिरे, संस्थापक सदस्य बृखबहादुर कन्दङवा र पूर्व सदस्य दुर्गा पोखरेललाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।

सोही कार्यक्रममा समूह अन्र्तगत पाँच वटा क्षेत्रका अति विपन्न पाँच परिवारलाई निःशुल्क एक–एक थान खाट र विपन्न पाँच परिवारलाई एक–एक थान टी–टेबल वितरण गरिएको थियो । त्यस्तै कार्यक्रममा समूह अन्र्तगतका ३१ वटा टोलमध्ये उत्कृष्ट टोल संयोजकबाट पुष्पा तिम्सिनालाई एक थान टी–टेबलसहित पुरस्कृत गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा ३१ वटा टोलबाट छनौट गरिएका ३१ विपन्न परिवारलाई निःशुल्क कम्बल वितरण गरिएको थियो । कार्यक्रममा संस्थापक सचिव राम महतले संस्थालाई अगाडि बढाउन थुप्रै काम बाँकी रहेको सुझाव पेश गर्दै विधानका विषयमा धारणा राखेका थिए ।

पूर्व उपाध्यक्ष दुर्गा न्यौपानेले विधानको परिधिमा रहेर विविध कार्यक्रम गर्दै आए पनि आउने समितिले अझ प्रभावकारी रुपमा काम अगाडि बढाउनुपर्ने सुझाव राखेका थिए ।

सभामा पूर्व अध्यक्ष दिव्य कट्टेल, संस्थापक अध्यक्ष विष्णु दुलाल, पूर्व सचिव नरेन्द्र मिश्र, रेडक्रस पूर्व अध्यक्ष भोला बराल, विभिन्न विद्यालयका प्रअ, पूर्व जनप्रतिनिधिहरुको उपस्थिति रहेको सामुदायिक वनका लेखापाल हरि खतिवडाले जानकारी दिए । समूहका पर्यटन उपाध्यक्ष दुलालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव नर्वदा दियालीले गरेकी थिइन् ।