प्याव्सन अर्जुनधाराको गायन तथा नृत्य प्रतियोगिता सुरु « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

प्याव्सन अर्जुनधाराको गायन तथा नृत्य प्रतियोगिता सुरु


यलम्वर टाइम्स
२८ मंसिर २०८०, बिहीबार १२:२०

अर्जुनधारा । निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन (प्याब्सन) अर्जुनधाराको आयोजनामा २ दिवसीय नगरपालिका स्तरीय गायन तथा नृत्य प्रतियोगिता सुरु भएको छ ।

अर्जुनधारा–८ स्थित शनिश्चरे बजारमा सुरु भएको प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि नगर प्रमुख बलदेवसिंह गोम्देनले गरे । उनले विद्यार्थीहरुमा अन्तरनिहित रहेको प्रतिभालाई पहिचान गर्न प्याव्सनले थालेको यो कदम प्रशंसा योग्य भएको बताए ।

विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यका साथ प्रत्येक वर्ष यो प्रतियोगिता गरिदै आएको प्याव्सन अर्जुनधारा अध्यक्ष रुद्रप्रसाद सिटौलाले बताए । उनका अनुसार अरु वर्ष विद्यालयमा सम्पन्न गरे पनि यस वर्षदेखि भने विद्यालय बाहिर गरेको हो ।

बिहीबार (आज)बाट सुरु भएको कार्यक्रममा कक्षा १ देखि कक्षा ५ सम्मको आधुनिक नृत्य र कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । दोस्रो दिन कक्षा ६ देखि ८ सम्मका विद्यार्थीले राष्ट्रिय नृत्य, १२ वर्ष मुनि र सो माथिका विद्यार्थीहरु बीच गायन प्रतियोगिता हुनेछ ।

त्यस्तै सोही दिन कक्षा ११ र १२ का विद्यार्थीहरु बीच पनि गायन प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथम हुनेले पुस १ र २ गते हुने जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

प्रतियोगितामा अर्जुनधारा नगर क्षेत्रका ३१ वटा निजी तथा आवसीय विद्यालयले सहभागिता जनाएको प्याव्सन अर्जुनधारा सचिव राजेश आचार्यले जानकारी दिए ।

प्याव्सन अर्जुनधारा अध्यक्ष सिटौलाको सभापतित्वमा भएको कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष कुमार उप्रेती, वडा नं. ५ का वडाध्यक्ष गीताराज खड्का, वडा नं. ९ का वडाध्यक्ष भिष्म मिश्र, प्याव्सन झापाका वरिष्ट उपाध्यक्ष छत्र कार्की, उपाध्यक्ष टीकाराम गौतम, समुन जमरकट्टेल, शिक्षा महासंघका पुण्य सुवेदी लगायतको सहभागिता रहेको थियो ।

उपाध्यक्ष कुमार रायले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव आचार्यले गरेका थिए ।