न्यानो कपडा पाएपछि चन्द्रोदयका विद्यार्थीले फूलको गुच्छा दिँदै मायाँ छ है ! भनी स्वागत गरे « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

न्यानो कपडा पाएपछि चन्द्रोदयका विद्यार्थीले फूलको गुच्छा दिँदै मायाँ छ है ! भनी स्वागत गरे


यलम्वर टाइम्स
१७ पुष २०८०, मंगलवार १०:४९

अर्जुनधारा । बिर्तामोडमा सञ्चालित एभेरेष्ट स्मार्ट बोर्डिङ स्कुलका विद्यार्थीहरुले चन्द्रोदय आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा र कपि, कलम प्रदान गरेर माया बढाएका छन् ।

मंगलबार अर्जुनधारा–८ स्थित कक्षा पाँचसम्म सञ्चालित विद्यालयका नाबालक विद्यार्थीहरुलाई स्वीटर, कपि, कलम वितरण गरेका थिए भने चन्द्रोदयका विद्यार्थीहरुले फूलको गुच्छा दिएर मायाँ छ है ! भनी स्वागत गरेका थिए ।

नेपाली समाजमा गरिबलाई दयालुहरुले असहायको नाममा सहयोग गर्ने प्रचलन त छ तर, चन्द्रोदयका विद्यार्थीले आफ्नै घरआँगनमा फूलेको फूल दिएर भावना साटासाट गरेकोमा वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले विद्यार्थीहरुबाट पनि धेरै कुरा सिक्न बाँकी रहेको बताए ।

प्रमुख अतिथि समेत रहेको वडाध्यक्ष उप्रेतीले यस वडा अन्तर्गत चन्द्रोदय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई एभरेष्टका विद्यार्थीहरुले देखाएको असल कर्मप्रति प्रशंसा गर्दै एभरेष्टका विद्यार्थीहरुको भावनाप्रति सम्मान व्यक्त गरेका थिए ।

एभरेष्ट स्मार्ट विद्यालयका बाल क्लबका अध्यक्ष कृपा दुलालको सभापतित्वमा भएको कार्यक्रममा एभरेष्टका प्रिन्सिपल अनुप शर्माले विद्यालयको बाल क्लबबाट संकलित बचतबाट न्यानो कपडा र कपि, कलमको जोहो गरेको बताए ।

विद्यार्थीले गरेको असल कार्यप्रति चन्द्रोदय आधारभूतका प्रअ टंकप्रसाद आचार्यले शुभकामना दिएका थिए । कार्यक्रममा लायन्स क्लब अफ बिर्तामोड लेडीका अध्यक्ष निरु उप्रेती ओली लगायतले आफ्ना भनाई राखेका थिए ।

कार्यक्रम उपहार साटासाट जस्तो देखिएको चन्द्रोदयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार कार्कीले बताए भने लायन्स क्लबका पूर्व अध्यक्ष नम्रता रिजाल ढकालले यस्तो खालको कार्यक्रमबाट बालबालिकाको मनोबल उच्च हुने प्रतिक्रिया दिए ।

करिब एक सयभन्दा बढी विद्यार्थीहरुलाई सहयोग प्राप्त भएको बालबालिका क्षेत्रमा काम गर्दै आएका सञ्चारकर्मी सरोज पौडेलले जानकारी दिए ।

न्यानो कपडा तथा शैक्षिक सामग्री वितरणको समन्वयता अर्जुनधारा–८ ले गरेको थियो भने लायन्स क्लब अफ बिर्तामोड लेडीले पनि सहयोग गरेको बताइएको छ ।