भानु माविको ६४ औं वार्षिकोत्सव सम्पन्न « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

भानु माविको ६४ औं वार्षिकोत्सव सम्पन्न


यलम्वर टाइम्स
१७ पुष २०८०, मंगलवार ११:५६

फुलबारी । अर्जुनधारा–५ स्थित भानु माध्यमिक विद्यालयको ६४ औं वार्षिकोत्सव विविध कार्यक्रम मनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीदेवी न्यौपाने ‘सरु’ को सभापतित्व तथा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाईएको हो ।

शिक्षक, विद्यार्थीसँगै अभिभावकहरुको बृहत उपस्थितिमा सम्पन्न वार्षिकोत्सवलाई सम्बोधन गर्दै उपप्रमुख पराजुलीले पहिलेको तुलनामा निजी विद्यालयमाभन्दा सामुदायिक विद्यालयमा विद्यार्थीहरुको चाप घट्दै गए पनि भानु माविको बेग्लै पहिचान रहेको बताइन् ।

उनले विद्यालयले ६४ औं वर्ष पूरा भएको अवसरमा शुभकामना दिँदै प्राविधिक विद्यालयको रुपमा आफूलाई स्थापित गर्न सफल भानु माविले अब गुणस्तरसँगै योग्य र सक्षम नागरिक उत्पादनमा जोड दिनुपर्ने बताइन् ।

प्रमुख अतिथि पराजुलीले विद्यालयमा अध्ययनका लागि टाढा–टाढाबाट विद्यार्थीहरु आउने गरेको र सहजताका लागि विद्यालय बसको आवश्यकता रहेको भन्ने आग्रहमा आफूले पहल गर्दै गरेको सुनाइन् ।
‘स्कुल बसका लागि विभिन्न निकाय, दातृ संस्थाहरुसँग पहल गर्दैछु’ उनले भनिन्, ‘मेरो कार्यकालभित्र पूरा गराउने प्रतिवद्धता व्यक्त गर्दछु ।’

कार्यक्रममा बोल्दै उपप्रमुख पराजुलीले आधुनिकताको नाममा संस्कार, संस्कृति हराउँदै गएको अवस्थामा विद्यार्थीहरुले संस्कृति झल्किने नृत्य प्रस्तुत गर्नु सराहनीय भएको बताइन् ।

कार्यक्रममा शैक्षिक सत्र २०७९ मा कक्षा ५, ८, ९ र एसईईमा उत्कृष्ट अंक हासिल गरी उत्तीर्ण हुने विद्यार्थीहरुलाई नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यस्तै कक्षा ११ र १२ मा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरिएको विद्यालयका प्रअ रुपक दाहालले बताए ।

उनका अनुसार कक्षा ५ का सौरभ मोक्तानलाई तुलसी–राममाया अधिकारी स्मृति अक्षयकोषबाट नगद ७ हजार ५०१, कक्षा ८ का सागर कार्की र ललिता धिमाललाई धनमाया खनाल शिक्षा अक्षयकोषबाट जनही नगद ३ हजार ५०१, कक्षा ९ का सुरज ढुंगानालाई जग्गनाथ–खिलकुमारी खतिवडा स्मृति अक्षयकोषबाट नगद ७ हजार ५०१ र एसईईमा उत्कृष्ट हुने अंकज श्रेष्ठ र निहारीका पोख्रेललाई देवी–तुलसा अक्षयकोषबाट जनही नगद १० हजार १ र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै कक्षा ११ का संरचना निरौलालाई पुरुषोत्तम अक्षयकोषबाट नगद रु. १० हजार १ र कक्षा १२ का डेबिड लिङ्देन र पूजा मैनालीलाई लालबहादुर–जसोदा स्मृति अक्षयकोषबाट जनही नगद रु. ४ हजार १ सहित प्रमाणपत्रले सम्मान गरेका थिए ।

उनीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्यौपाने र प्रमुख अतिथि पराजुलीले संयुक्त रुपमा प्रदान गरेका थिए ।

सोही अवसरमा विद्यालयले लामो समय अध्यापन गराई शिक्षामा योगदान पुर्याएको भन्दै शिक्षक भिमप्रसाद उप्रेती र सीतादेवी खनाललाई दीर्घ सेवा सम्मान प्रदान गरेको छ ।

उनीहरुलाई नगद, प्रमाणपत्र, दोसल्ला र मायाँको चिनो प्रदान गर्दै सम्मान गरिएको विद्यालयले जनाएको छ । त्यस्तै यस वर्षको सर्वोकृष्ठ शिक्षकबाट देवीप्रसाद गौतमलाई सम्मान गरिएको थियो ।

विद्यालयका प्रअ दाहालले विद्यालयका वार्षिक गतिविधि प्रस्तुत गरेको कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष गीताराज खड्का लगायतले आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा पूर्व वडाध्यक्ष ध्यानबहादुर भारती, विद्यालय व्यवस्थापन समिति पूर्व अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की, विनोदकुमार बस्नेत, लक्ष्मण खतिवडा, युवराज खतिवडा, महारानीगञ्ज माविका प्रअ मनबहादुर लिम्बू, जुनकिरी आधारभूतका प्रअ रञ्जीत परियार, गञ्जबहादुर बुढाथोकी, अर्जुनधारा जेसीजका अध्यक्ष बसन्त बुढाथोकी, ब्राइटर बोर्डिङ स्कुलका प्रिन्सिपल भास्कर भट्टराई, पूर्व विद्यार्थीहरु राजेन्द्र चम्लागाई, प्रशान्त भण्डारी, लगायतको आतिथ्य रहेको थियो ।

त्यस्तै अक्षयकोष संस्थापक गणेश खड्का, मातृका कोइराला, जीतबहादुर चौहान, कुलप्रसाद खनाल, लक्ष्मण खतिवडा लगायतको पनि आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अतिथिहरुले सिभिल इन्जीनियरीङका विद्यार्थीहरुले निर्माण गरेको परियोजनाको अवलोकन समेत गरिएको थियो ।

विद्यार्थी स्वीकृति ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक पुण्य सुवेदीले गरेका थिए ।