कालिस्थान माविका पूर्व विद्यार्थीद्वारा २० लाखको अक्षयकोष स्थापना गरिने « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

कालिस्थान माविका पूर्व विद्यार्थीद्वारा २० लाखको अक्षयकोष स्थापना गरिने


यलम्वर टाइम्स
२२ पुष २०८०, आईतवार ०८:१९

अर्जुनधारा । झापाको अर्जुनधारा–९ स्थित कालिस्थान माबिबाट (२०५८–२०६०) एसएलसी दिने पूर्व विद्यार्थीहरुको एक भेलाले २० लाख बराबरको अक्षयकोष स्थापना गर्ने भएको छ ।

झापाको पर्यटकीय स्थल दोमुखामा भएको पूर्व विद्यार्थीहरुको भेलाले सामाजिक कार्यमा खर्च गर्ने उद्देश्यले सो रकम बराबरको अक्षयकोष स्थापना गर्न लागिएको हो ।

‘कालिस्थान मावि पूर्व विद्यार्थी (०५८–०६०) एसएलसी ब्याच अक्षयकोष’ नाम रहने गरी २० लाख लक्ष्य बोकेर अक्षयकोष स्थापना गरिने निर्णय भएको सहभागि इन्द्रसेन तामाङले बताए । उनका अनुसार अक्षयकोष चाडै पूरा गरी त्यसबाट प्राप्त ब्याजले सामाजिक गतिविधि गरिनेछ ।

लवकुश गौतमको अध्यक्षतामा स्थापित अक्षयकोष सञ्चालनको निम्ति केही साताभित्रमै पूर्वविद्यार्थीको बृहत बैठक बस्ने र समितिलाई पूर्णता दिने बताइएको छ ।

अक्षयकोष समितिका अध्यक्ष गौतमका अनुसार अक्षयकोषबाट प्राप्त हुने वार्षिक ब्याजले समकालीन साथीहरू बिरामी पर्दा, मृत्युवरण हुँदा सहयोग प्रदान गरिनुका साथै सामाजिक कार्यमा खर्चिने छ ।

३० जना पूर्व विद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रम आगामी वर्षहरुमा समेत निरन्तर रहने केशव पोखरेलले बताए । २०÷२२ वर्ष पछिको भेटले पुनः बालापनको त्यो स्कुले जीवनलाई सम्झाएकोले भेटले निक्कै खुशी दिलाएको कञ्चन रिजालले बताइन् । कार्यक्रम सञ्चालन रमेश भट्टराईले गरेका थिए ।