यायोक्खा अर्जुनधाराको सुविधा सम्पन्न भवन बन्ने « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

यायोक्खा अर्जुनधाराको सुविधा सम्पन्न भवन बन्ने


यलम्वर टाइम्स
२ माघ २०८०, मंगलवार ११:३२

अर्जुनधारा । किराँत राई यायोक्खा अर्जुनधाराको सुविधा सम्पन्न दुइ तले भवन निर्माण हुने भएको छ ।

माघ १ गते अर्थात् यलम्वर सम्वत ५०८४ को अवसरमा नगर प्रमुख बलदेवसिंह गोम्देन र वडा नं. ९ का वडाध्यक्ष भीष्म मिश्रले संयुक्त रुपमा भवनको शिलान्यास गरेपछि भवन निर्माण हुने भएको हो ।

यायोक्खाको आफ्नै भवन भए पनि त्यो जीर्ण अवस्थामा रहेको हुँदा भवन निर्माण गर्न लागिएको यायोक्खा अध्यक्ष विजय साम्पाङ राईले बताए ।

उनका अनुसार सभाहलसहितको २ तले भवन बन्नेछ । भवन आगामी २ वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य रहेको बताए ।

भवन निर्माणका लागि अनुमानित ४० लाख रुपैयाँ लाग्ने सचिव सिंहबहादुर राईले बताए । राई भवन निर्माणका लागि सहयोग रकम जुट्दै गएको पनि सुनाए ।

सचिव राईका अनुसार भवन निर्माणको लागि नगरपालिकाबाट ५ लाख, वडा नं. ९ बाट १ लाख रुपैयाँ प्रदान हुने प्रतिवद्धता छ ।

त्यस्तै अमेरिका निवासी मनोज राईबाट ७ लाख, यूके निवासी चन्द्रबहादुर राईबाट १ लाख, अध्यक्ष विजय साम्पाङबाट २ लाख रुपैयाँ प्राप्त हुनेछ ।

भवन शिलान्यासपछि नगर प्रमुख बलदेवसिंह गोम्देनले बहुउद्देश्य राखेर भवन निर्माण गर्न सुझाव दिएका थिए ।