शौचालय बनाउने दिलबहादुर पुरस्कृत « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

शौचालय बनाउने दिलबहादुर पुरस्कृत


यलम्वर टाइम्स
१० चैत्र २०७४, शनिबार ०२:५५

अर्जुनधारा । खुला दिसामुक्त अभियानमा जुटेको अर्जुनधारा नगरपालिकाको वडा नं. ६ विहीबार सफल भएको छ ।

अभियानलाई तिब्रता दिन यस क्षेत्रका वडाध्यक्ष, नसस, राजनीतिक दलका प्रतिनिधि र संघसंस्था कम्मर कसेर जुटेका थिए । विहीबार खुला दिसामुक्त अभियानलाई सफल बनाउन सहयोग गरेको भन्दै दिलबहादुर गुरुङलाई नगद एक हजार ५ सय प्रदान गरी सम्मान गरिएको थियो ।

दिलबहादुरले आफूले पाएको वृद्ध भत्ताबाट आफू शौच गर्ने ठाउँ बनाएको हुँदा उनलाई प्रोत्साहन गरिएको थियो । उनले अभियानमा हिंड्ने अभियान्तालाई अब बाँचुन्जेल अरुकोमा शौच गर्न नजाने प्रतिवद्धता प्रकट गरेका थिए ।

यसरी नै अभियानमा हिंड्दा सोही वडाका वृद्ध मधुमाया कोइराला र असक्त बिमल गौतम पनि शौचालय बनाउन सफल भएको भन्दै सम्मानित भएका थिए । उनीहरुले पनि सोतःस्फूर्त शौचालय निर्माण गरी अभियानलाई टेवा पुर्याएको आयोजकले जनाएका थिए ।

वडा नं. ६ का अध्यक्ष लोकनाथ गौतमको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख कमला आचार्य खतिवडा रहेकी थिइन् । प्रमुख अतिथि आचार्यले खुला दिसामुक्त अभियानमा सक्रिय रहेका वडास्तरीय खानेपानी सरसफाई तथा स्वाच्छता समन्वय समितिलाई सम्मानपत्र प्रदान गरेकी थिइन् ।

अभियान कार्यक्रममा खुला दिसामुक्त कार्यक्रमका संयोजक रुद्र न्यौपानेले झापामा १७ हजार घर परिवारले शौचालय निर्माण गर्नुपर्ने बाँकी रहेको तथ्याङ्क बताउँदै अर्जुनधारालाई खुला दिसामुक्त दोस्रो नगर बनाउन जुट्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा खानेपानीका अध्यक्ष शंकर सुवेदी, प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई, नगरका प्रशासकीय प्रमुख राधाकृष्ण खतिवडा, डेनजनी आचार्य लगायत राजनीतिक दल, विद्यालयका प्रअ, संघसंस्थाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नगरलाई पूर्ण रुपमा खुला दिसामुक्त निर्माण गर्न ठाउँ–ठाउँमा सार्वजनिक शौचालय र पानीको अति आवश्यक भएको सहभागिहरुले औल्याएका थिए । कार्यक्रमका सञ्चालन भने ओडीएफका विजय तिम्सिनाले गरेका थिए ।

अर्जुनधारामा यस अघि वडा नं. १, २, ३ र ७ खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको नगरपालिकाका कर्मचारी खगेन्द्र लिङ्देनले बताए ।