अर्जुनधारामा आपसी छलफलबाट मुद्दा मिल्दै « Yalambar Times
२० बैशाख २०८१, बिहीबार

अर्जुनधारामा आपसी छलफलबाट मुद्दा मिल्दै


यलम्वर टाइम्स
२८ चैत्र २०७४, बुधबार १२:५१

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका उपप्रमुख तथा न्यायीक समितिका प्रमुख कमला खतिवडा आचार्यले ५ महिना ५ दिनभित्र न्यायीक समितिमा परेको मुद्दाहरुमध्ये जग्गाको केही मुद्दा बाहेक अरु आपसी छलफलबाटै सौहार्दपूर्ण मिलेको बताएकी छिन् ।

आफू न्यायीक समितिमा बसिरहँदा जग्गा सम्बन्धि ३७, सम्बन्ध विच्छेदमा १३, मेनपावर सम्बन्धि ५ र लेनदेनमा ८ गरी ६३ वटा मुद्दा परेको थियो । ती मुद्दाहरुमध्ये बुधबारसम्म श्रीमान–श्रीमतीको विवादमा ७ वटा मिलापत्र भएको, श्रीमान–श्रीमतीको सम्बन्ध विच्छेदका लागि अंशबण्डा, दाइजो जस्ता मुद्दामा ५ वटा मिलापत्र भएको, लेनदेनमा २ वटा, मेनपावर सम्बन्धि ४ वटा र सामान्य जग्गा विवादसम्बन्धि १४ वटा मिलापत्र भएको उपप्रमुख आचार्यले जानकारी दिइन् ।

उनले अगाडि भनिन् –अर्जुनधारा नगरपालिकाको धेरै भूभाग जग्गाको किचलो रही आएको हुँदा सर्पटनापी खडा गरी, मिहिन ढंगबाट हेरि राजनीतिक दलहरु बीचको आपसी समन्वयताबाट समाधान गर्न सकिने बताइन् ।

कतिपय मुद्दाहरु नजानिएर अदालत पुगी खर्चिलो ढंगबाट निकास हुँदै आएको काम हाल नगरबाटै सहज रुपमा समाधान भएको न्यायीक प्रमुख आचार्यले बताउँदै पक्ष–विपक्ष भएर बोक्नेहरुले पनि विवाद चुल्याइएको अनुभव बताइन् ।

समाज रुपान्तरण र शान्त नगर निर्माणका लागि यथार्थ र विवाद समाधान गर्ने योग्य नागरिक भए कतिपय मुद्दाहरु समाधान हुन जाने उनले बताइन् ।

न्यायीक समिति नहुँदा यस अघि शान्ति समितिले मिलाउँदै आएको थियो । अहिले भने उपप्रमुख स्वयम् न्यायीक समिति प्रमुख भएको हुँदा ती मुद्दाहरु सहज रुपमा हुन जाने गरेको मुद्दा फर्सौट भएपछि एक सहभागिले बताइन् ।