खुदुनाबारीमा टेलिफोन सुविधा « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

खुदुनाबारीमा टेलिफोन सुविधा


यलम्वर टाइम्स
१६ असार २०७५, शनिबार ०१:५४

अर्जुनधारा । सूचना तथा सञ्चारमन्त्री गोकुल बास्तोलाले मुलुक अब सूचना मैत्री हुने बताएका छन् ।

अर्जुनधारा नपा–३ स्थित आधारभूत टेलिफोन (पीएसटीएन) एक्सचेन्जको उद्घाटन गर्दै मन्त्री बास्तोलाले उक्त कुरा बताएका हुन् । मन्त्री बास्तोलाले यस अघि अस्थिर सरकार भएर नै मुलुक विकास नभएको बताउँदै अब पूर्ण बहुमतसँगै स्थिर सरकार भएको हुँदा मुलुकले विकासमा गति लिने बताएका छन् ।

‘परिवर्तन आफ्नै जीवनमा लिने हो त्यसैले परिवर्तनको ढोका खोलेर जीवन उपयोगी बनाउँदै आउने सन्ततीका लागि सुन्दर बाटो निर्माणमा वर्तमान ओली सरकार सकृय रहेको छ’, मन्त्री बास्तोलाले भने । उनले बिहीबार नै विभिन्न वडा सदस्यहरुको निवदेन लिएर तोक लगाउँदै जुकेखाडी, सुखानी र साधुटारमा टेलिफोन लाईन जडान गर्न निर्देशन दिएका थिए ।

वडा नं. ३ का अध्यक्ष जीवनकुमार भण्डारी, वडा नं. १ का गजाधर खतिवडाले उक्त निवेदन मञ्चमै प्रदान गरेपछि मन्त्री बास्तोलाले नेपाल टेलिकम जनताको स्वामित्वमा रहेको बताउँदै नेपाल सरकारसँग ५५ अर्ब रहेको छ, त्यसैले घरघरमा टेलिफोन सुविधा पुर्याउन सरकार नहिचकिच्याउने बताए । रोपे फल्छ भने जस्तै जहाँ टेलिफोन जडान हुन्छ, त्यहाँ राज्यलाई आयस्रोतको बाटो बन्ने बताए ।

कार्यक्रममा संघीय मामिला सांसद पवित्रा निरौलाले देश समृद्धिको बाटोमा लम्केको बताइन् । समृद्धिको पाटोलाई दीगो रुप दिनका लागि बामपन्थी एकता भएको बताउँदै सांसद निरौलाले सबै तह र तप्कामा जनप्रतिनिधिहरु सक्रिय रुपमा आ–आफ्नो गाउँ वा नगर बनाउन जुटेको बताइन् ।

अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले अर्जुनधारावासीलाई सूचनाबाट टाढा पार्ने काममा नेपाल टेलिकम लाग्न नहुने बताए । विकासको बाटोमा नगर लम्कदै गर्दा समृद्ध नगर बनाउन टेलिकमको महत्वपूर्ण भूमिका हुनुपर्ने बताए । अर्जुनधाराका कतिपय स्थानमा नेटर्वक नभएर हैरान भएको बेला टेलिकमको सुविधाप्रति धन्यवाद प्रदान गरेका थिए ।

टेलिकमका महाप्रबन्धक कामिनी राजभण्डारीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसद, जिल्ला समन्वय समितिका सभापति सोम पोर्तेल, पूर्व सांसद प्रेमबहादुर गिरी, उपप्रमुख कमला आचार्य, वडा नं. १० का अध्यक्ष बलदेव गोम्देन, वडा नं. २ का अध्यक्ष रघुनाथ खनाल, नेपाली कांग्रेसका महिला नेतृ सरस्वती सिटौला गोले, नेकपाका चिन्तन पाठक लगायतको आतिथ्य रहेको थियो ।

सूचना मन्त्री बास्तोलाले रेडियो भिजनमा फोन गर्दै टेलिफोन सूचारु भएको जानकारी गराउँदै उद्घाटन गरेका थिए ।