अवलोकन भ्रमणले ठूलै शिक्षा दिदो रहेछ: महिला चेतना « Yalambar Times
२४ बैशाख २०८१, सोमबार

अवलोकन भ्रमणले ठूलै शिक्षा दिदो रहेछ: महिला चेतना


यलम्वर टाइम्स
१० चैत्र २०७५, आईतवार १०:२०

अर्जुनधारा । ‘ज्ञान आर्जनको लागि अध्ययनमात्र होइन अवलोकन पनि उत्तिकै महत्व हुँदो रहेछ’ अवलोकन भ्रमणपछि फर्केर आएकी महिला चेतना बहुउद्देश्य सहकारी संस्थाकी सचिव गीता अधिकारीले बताइन् ।

समूहमा आवद्ध ३२ जनाको टोली नेपालको सुदुरपश्चिम महाकालीसम्म पुगेको थियो । ‘विकट र उराठ लाग्दो ठाउँ पनि रहेछ हाम्रो नेपालमा ’सचिव अधिकारीले सुनाइन् । पश्चिममा भएका अनेकौं घटनाले हामीलाई झकझकाइ रहेको थियो । छाउपडी प्रथा, निर्मला हत्याकाण्ड जस्ताले पिरोलिरहेको थियो । त्यस्तो ठाउँमा यति गम्भीर मोडका घटनाहरु कसरी हुन पुगे होलान् ? भन्ने लाग्थ्यो । त्यसै ठाउँको अवलोकन भ्रमण गरौं । केही बुझेर आफ्नो ठाउँलाई पनि सचेत बनाऔं भन्ने लक्ष्यका साथ भ्रमण तय भएको थियो ।

अर्जुनधाराको माटोलाई साक्षी राखी फागुन २२ गते यात्रा सुरु भयो । यात्रामा सहकारीसँग आबद्ध सक्रिय सदस्यहरुको उपस्थिति थियो ।

यात्रा अगाडि बढ्दै जाँदा कर्णाली नदीको पुल त्यसबाट बहने हावाले हाम्रो सोच्ने शक्तिलाई फराकिलो पारिदियो । यात्राको दोस्रो दिन बेलुका १० बजे महेन्द्रनगरमा अवतरण भयौं । यात्रामा देखिएका मनमोहक दृष्यले आनन्दित त तुल्यायो नै विभिन्न भागमा देखिएका सुख्खा डाँडाले हाम्रो मनलाई नरमाइलो बनाएको पनि थियो । हामीले सुनेका थियौं, हाम्रो भू–भाग भारतले मिचेको छ रे ! कसरी मिच्यो होला ? भनी टनकपुर बाँधसम्म यात्रा तय भयो । त्यहाँ पुग्दा त महाकालीको पानी नेपाललाई प्रतिबन्ध लगाउँदै भारततिर लगेको दृष्य देख्दा नरमाइलो महसुस भयो । यात्रामा सहभागि संस्थाकी प्रबन्धक उमा थापाले बताइन् ।

त्यतिमात्र होइन, नेपालको सीमाभित्र गड्डा चौकी भारतले राखेर राज गरिरहेको दृष्य देख्न पाइयो । त्यो दृष्यले नेपालका राजनेताहरुलाई अलिकति पनि छुन नसकेको जस्तो देख्दा दुःख लागेको यात्रामा सहभागि अध्यक्ष निलुकुमारी दाहालले पोखिन् ।

कतिपय ठाउँमा त हाम्रा नेपाली दाजुभाईले बहुत कष्टकर जीवन व्यतित गर्दै गरेको पाइयो । समग्रमा पूर्वभन्दा पश्चिम अलिक कठिन ढंगले जीवन जिउने गरेको हो कि भन्ने महसुस हामीलाई लाग्यो –सहभागि बेनुका दाहालले संस्मरण सुनाइन् । महिलामात्रको सहभागि भएको हुँदा धर्मकर्ममा ध्यान जानु स्वाभाविकै ठानिन्छ ।

त्यसैले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण लुम्बिनी, घोराईको पाण्डेश्वर महादेव, नवलपरासीको साश्वत धामको दर्शन गर्ने मौका मिल्यो । महिला चेतना बहुउद्देश्य सहकारी संस्था कृषिसँग नजिक भएको नाताले रामपुरमा रहेको मकैबारी अनुसन्धान केन्द्रमा अवोलकन गर्ने मौका मिल्यो । विभिन्न सहकारीसँगको छलफल र त्यहाँबाट प्राप्त ज्ञान आफ्नो सहकारीमा कार्यान्वयन गर्ने जस्ता अवलोकनले ज्ञान दियो ।

५ दिनको अवलोकन यात्राले संस्थालाई माथि पुर्याउन योगदान दिनेछ भन्दै घर फर्किएका थियौं –अध्यक्ष निलुले बताइन् ।