अर्जुनधारा जेसीजद्वारा अपाङ्ग बालबालिका सहयोग « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

अर्जुनधारा जेसीजद्वारा अपाङ्ग बालबालिका सहयोग


यलम्वर टाइम्स
१० चैत्र २०७५, आईतवार १२:१०

अर्जुनधारा । अर्जुनधारा जेसीजले अर्जुनधारा–६ स्थित कप्तनबारीमा रहेको अपाङ बालशिक्षा सरोकार केन्द्रका विद्यार्थीहरुलाई सहयोग प्रदान गरेको छ ।

सामाजिक गतिविधिमा सक्रिय देखिदै आएको अर्जुनधारा जेसीजले सरोकार केन्द्रका विद्यार्थीहरुलाई खाद्यन्नसहित शैक्षिक सामग्री प्रदान गर्दै सहयोग गरेको छ ।

सहयोग प्रदान गर्दै अर्जुनधारा जेसीजका अध्यक्ष टीआर गौतमले अपाङ्ग बालबालिका पनि समाजको अभिन्न अंग भएको बताउँदै उनीहरुलाई अवहेलना गर्न नहुने बताए ।

अध्यक्ष गौतमले अपाङ्ग सरोकार केन्द्रलाई सबैको माया र सहयोग आवश्यक रहेको बताउँदै अवसर र उचित शिक्षा पाए सपाङभन्दा राम्रो काम गरेर देखाउन सक्ने बताए । उनले आगामी दिनहरुमा पनि अर्जुनधारा जेसीज सरोकार केन्द्रको सहयोगका लागि हाजिर हुने प्रतिक्रिया दिए ।

कार्यक्रममा प्रमुख अतिथि वडा नं. ६ का वडा सदस्य अर्जुन मेचेले अपाङ बालबालिको हितका निम्ति अर्जुनधारा जेसीजले गरेको कार्य स्वागत योग्य भएको बताए । उनले केन्द्रमा रहेका बालबालिकाको सहयोगमा अन्य संघसंस्थाहरुले पनि चासो देखाउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेचेले संस्थाको वृद्धि विकास र बालबालिकाको हेरचाहका निम्ति नगरपालिकामा आवश्यक पलह गर्ने र अन्य संघसंस्थाहरुसँग पनि समन्वय गर्ने बताए ।

अध्यक्ष गौतमको सभापतित्व तथा सदस्य प्रेम खड्काको संयोजकत्वमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष अजयकुमार देव, अर्जुनधारा प्याव्सनका सचिव राजेशकुमार आचार्य लगायतले आ–आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा सरोकार केन्द्रका अध्यक्ष कृष्ण दुलालले अपाङ्ग बालबालिकाको खानपान र शैक्षिक विकासका लागि सहयोग पुर्याएको भन्दै धन्यवाद दिएका थिए ।

जेसीजका कार्यकारी उपाध्यक्ष जीवन खनालले स्वागत गरेको कार्यक्रममा आस्था वाचन उपाध्यक्ष विमला भट्टराईले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन महासचिव भास्कर भट्टराईले गरेका थिए ।