अर्जुनधारामा यायोक्खाको २७ औं सभा, मगर संघको तेस्रो अधिवेशनबाट मनोज « Yalambar Times
२२ बैशाख २०८१, शनिबार

अर्जुनधारामा यायोक्खाको २७ औं सभा, मगर संघको तेस्रो अधिवेशनबाट मनोज


यलम्वर टाइम्स
२५ चैत्र २०७५, सोमबार ११:४४

अर्जुनधारा । किरात राई यायोक्खा अर्जुनधारा नगर समितिको २७ औं साधारणसभा सम्पन्न भएको छ ।

सभा उद्घाटन गर्दै यायोक्खा जिल्ला सचिव केवलराम राईले राई जाति किरात प्रदेशको आवाज बोकेर अगाडि बढेको बेला राज्यले किरात प्रदेशको आवाजलाई नसुनेको जस्तो गरि अगाडि बढे दुर्घटना निम्तने बताए ।

सचिव राईले पहिचानका मुद्दा अन्तर्राष्ट्रिय करण भइसकेको बेला अतिवाद बोकेका दलहरुले जनताका कुरालाई र आवाजलाई थुनछेक गर्न नहुने र राईहरुले उठाएका आवाजलाई सम्मान गर्न वर्तमान सरकारलाई आग्रह गरे ।

कार्यक्रममा अर्का वक्ता फोनिज प्रदेश नं. १ का अध्यक्ष दिपीन राईले संस्थाले उठाएका आवाजप्रति सम्मान दर्शाउँदै पहिचानका मुद्दामा सम्पूर्ण राईहरु एक हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा यायोक्खा बुट्टाबारीका सचिव धनसरी राई, सुम्निमा संघकी सचिव सृजना राई, तामाङ घेदुङका सन्त तामाङ, किरात याक्थुम चुम्लुङका तिलसिंह माङ्मु लगायतले साधारणसभालाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सभामा सांस्कृतिक विभागका प्रमुख क्या. शिवकुमार राईले साकेला थान व्यवस्थितका लागि सहयोगी दाताहरुलाई धन्यवाद दिँदै आर्थिक गतिविधिबारे जानकारी गराएका थिए ।

संस्थाको कोषका बारे सहसचिव सोमा राई, संस्थाको गतिविधिबारे अध्यक्ष क्या. मानबहादुर राई र किरात कल्याण बचतका बारे कोषाध्यक्ष भुपा राईले वाचन गरी जानकारी गराएका थिए ।

सभामा ज्येष्ठ नागरिक मनबहादुर थुलुङ, थामसरी चाम्लिङ र असल बचतकर्ता राजकुमारी चाम्लिङलाई प्रमुख अतिथि केवलराम राईले सम्मानपत्र प्रदान गरेका थिए भने यस क्षेत्रबाट एसईई परीक्षामा उत्कृष्ट हुने स्मारिका राईलाई फोनिजका अध्यक्ष दिपीन राई र सौरभ राईलाई धनसरी राईले सम्मानपत्र र पगरी गुथाएर सम्मान गरेका थिए ।

नगर अध्यक्ष क्या. मानबहादुर राईको सभापतित्वमा भएको कार्यक्रममा सञ्चालन सचिव सरीता राईले गरेकी थिइन् भने स्वागत क्या. शिवकुमार राईले गरेका थिए ।

यसरी नै नेपाल मगर संघको तेस्रो अधिवेशनले मनोज रैका मगरलाई पुनः तीन वर्षका लागि अध्यक्ष पदमा चयन गरेको छ ।

समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष क्रमशः बीरबहादुर राना मगर, सुशिल रैका मगर, माया तुम्लिङ मगर र कमला मगर चुनिएकी छिन्
सदस्यहरुमा क्रमशः कुमारी बुर्जा मगर, भरत लुङ्गेली मगर, चक्र ग्याङ्मी मगर, काजल मगर, अम्बरबहादुर पुलामी मगर र हेमबहादुर लामिछाने मगर चुनिएका छन् ।

अधिवेशनको उद्घाटन समयमा प्रमुख अतिथि मगर संघ जिल्ला अध्यक्ष जगत राना मगरले वर्गीयताभन्दा पनि जातीयता ठूलो भएको बताउँदै राज्यले जातीय मुक्तिको आधारहरुलाई बन्देज लगाउन नहुनेमा जोड दिए ।

कार्यक्रममा विशिष्ट अतिथि नगर प्रमुख हरिकुमार रानाले जातीय संघसंस्थाहरुलाई नगरले गर्ने सहयोग निरन्तर रहने जनाउँदै सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उद्घाटन सत्रमा नेपाल मगर महिला संघकी जिल्ला अध्यक्ष रिना थापा मगर, पूर्व अध्यक्षद्वय पर्शुराम मगर, सुन्दर मगर, जनजाति बुद्धिजीवि कृष्ण थेवे, चुम्लुङका तिलसिंह माङ्मु, तामाङ घेदुङका सन्त तामाङ, नेवाः दय दबुका कृष्णबहादुर श्रेष्ठ, ख्याम समाल, सुष्मा राना मगर आदिले संघीयतासँगै रमाउने आदिवासी जनजातिलाई पहिचानको मुद्दामा एक हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मगर संघको वर्तमान अवस्था र भावी कार्य नीति बारे सचिव भुपाल रानाले वाचन गरेका थिए ।

कार्यक्रममा फोनिजका प्रदेश अध्यक्ष दिपीन राई, वडा नं. १ का वडा सदस्य दिलबहादुर सारु लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा संस्थापक अध्यक्ष भिम लुङ्गेली मगर, ख्याम समाल मगर, इन्दिरा राना मगर र मनमाया मगरलाई सम्मान गरिएको थियो भने मोहन पौड्याललाई कदरपत्र प्रदान गरिएको थियो ।

मनोज रैका मगरको सभापतित्वमा र ख्याम रैका मगरको स्वागत रहेको कार्यक्रमको सञ्चालन भुपाल राना मगरले गरेका थिए ।